संसदीय समितिले मन्त्री बीना मगरलाई ५ महिनाको समय दिँदै भन्यो-‘दोषीमाथि कारबाही गर’, नत्र…



हाम्रो इकोनोमि

 

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणमा अझै इटालियन ठेकेदार सिएमसीलाई फर्काउने योजनामा लागेपछि  अर्थ समितिले चालू आर्थिक वर्षभित्रै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

 

काम अन्तिम चरणमा पुग्दा सीएमसीसँगको ठेक्का रद्द भएपछि पनि फेरि फर्काउन पहल भइरहेको बेला अर्थ समितिले खानेपानीमन्त्री विना मगरलार्इ अर्थ समितिले निर्माणाधिन मेलम्ची आयोजनाको बाँकी काम आउँदो असार महिना भित्रै सम्पन्न गर्न निर्देशन दिएको हो ।

 

बिहीबार संसदको अर्थ समितिमा मन्त्री मगरले सीएमसी फर्किए अर्को विकल्पमा नजाने बताइन् । ‘हामीसँग दुई विकल्प छन्, एउटा सीएमसीलाई फर्काउने र दोस्रो नयाँ टेण्डर गर्ने । तर हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौं’ उनले भनिन् ‘यसकारण कि मेलम्चीको काम छिटो सम्पन्न होस् ।’

 

मन्त्री मगरले नयाँ ठेकेदारलाई जिम्मा दिनुभन्दा सीएमसी फर्किदा नै नेपाललाई फाइदा हुने बताइन् । ‘अझै पनि सीएमसी आउँदा नै नेपाल सरकारलाई फाइदा हुन्छ । हामीले सीएमसी नै फर्काउने र नयाँ टेण्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेका छौं’ उनले समितिमा भनिन् ‘सीएमसीको निर्णय हेरेर एउटा विकल्प रोज्छौं ।’

 

सार्वजनिक खरिद ऐन संशोधन गरेर वा त्यो भन्दा उत्तम विकल्प खोजी गरेर मेलम्ची आयोजनाको काम चालु आर्थिक वर्षभित्रै सक्न सभापति कृष्णप्रसाद दाहालले सरकारलाई निर्देशन दिएका हुन्।

 

समितिले सम्झौता विपरीत मुख्य ठेकेदार कम्पनी सिएमसीले आयोजना छाडेर जानुको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न पनि निर्देशन दिएको छ ।

 

राष्ट्रिय गौरवको आयोजना मेलम्चीको ९६ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम सक्न करिब ३ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टले मेलम्चीमा अब भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेड वर्क्स र फिनिसिङसहितका ७ वटा काम बाँकी रहेको बताए । यी कामका लागि लागत र निर्माण अवधि कम गर्ने उपाय खोजी भइरहेको उनले जानकारी दिए ।

 

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले सीएमसी नै काममा फर्किँदा लागत र समय कम लाग्ने बताए । ‘सीएमसीले नियमित काम गरेको भए आयोजना दुई महिनामा सकिन्थ्यो । तर अब बाँकी काम सक्न विदेशी ठेकेदार खोजिरहनु पर्दैन, हामी आफैं फास्ट ट्र्याकबाट काम गर्न सक्छौं’ उनले भने ।

 

मेलम्ची प्रकरण : मन्त्री सीएमसी फकाउँदै, सचिव अर्को ठेकेदार खोज्दै

 

इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द भए पनि खानेपानी मन्त्री बिना मगर उसलाई फकाउने काममा सक्रिय छिन् ।

 

उनले संसदको अर्थ समितिमा पनि सीएमसीलाई फर्काउने पहल जारी रहेको बताएकी छन् । अर्थ समितिले ठेक्का रद्द गर्नुको कारण सोध्न उनलाई बोलाएको थियो । ‘सीएमसीको विकल्प हामीले हेरेका छैनौं, उ नआउने अवस्थामा मात्र विकल्पमा जाने हो’, उनले भनिन् ।

 

मेलम्ची खानेपानी विकास समितिले भने औपचारिक रूपमा सीएमसीसँग ठेक्का रद्द गरेको थियो । सोही विषयमा मन्त्रालयमा पटक–पटक बैठक पनि भएको थियो । मन्त्री मगरले सीएमसीलाई फर्काउनका लागि आवश्यक पहल गर्न भनेकी पनि छन् ।

 

तर सचिव गजेन्द्र ठाकुरले भने ठेक्का तोडिसकेको कम्पनी फर्काउन नहुने बताउँदै आएका छन् । उनले नयाँ ठेकेदार खोजेर टेन्डर आह्वानको प्रक्रिया अघि बढाउनुपर्ने बैठकमा बताउने गरेका छन् । ‘सीएमसीले फेरि काम छाडेर हिँड्यो भने कसले जिम्मा लिन्छ ? कर्मचारीले लिन सक्तैनन्’, ठाकुरले बैठकमा भन्ने गरेका छन्,‘त्यसैले सीएमसी फर्काउने मन्त्रीको कुराले अझ अलमल पार्छ ।’

 

मन्त्री मगरले सीएमसीका अधिकारीसँग वार्ताका लागि निजी सहयोगी विजय भट्टराईसहितको टोलीलाई सिंगापुुर पठाएका बेला यता सचिव ठाकुर अध्यक्ष रहेको मेलम्ची खानेपानी विकास समितिको बैठकले ठेक्का रद्द गरेको थियो ।

आर्थिक चलखेलका कारण मेलम्ची खानेपानी आयोजना सँधै समस्यामा परेको हो । करिब डेढ अर्बमा काम सकिने समयमा आएर ठेक्का रद्द गरी सचिव ठाकुर भने नयाँ टेन्डर खुलाउने प्रक्रियामा अघि बढेका हुन् ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...