काठमाडौँमा फेला परे रक्सी खाने देउता,यसकारण मदिरा खान्छन् महांकालका भैरव



हाम्रो इकोनोमि

 

वीर अस्पतालको सम्मुखमा एउटा मन्दिर छ, महांकाल भैरव। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शास्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा सामग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्न सक्छ।

 

तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामग्रीका रुपमा मदिरा अनिवार्य छ। उपत्यकाको प्राचीनमध्ये एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्ने? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ। महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किंवदन्ती सुनाउँछन्।

 

कुरा प्राचीन तान्त्रिक युगको हो। शाश्वत नामका बज्राचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रसिद्धि बिहारको मुख्य (पुजारी) थिए। ती तान्त्रिक गुरु एक दिन नुहाइधुवाइ गरी शरीरमा तेल लगाएर मध्याह्नको समयमा टुँडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकाशमा कालो बादल मडारियो।

 

जसका कारण केहीबेरमै धर्ती–आकाश पूरै अन्धकार हुन पुग्यो। यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बज्राचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकाशमा महांकाल भैरव भगवान् आएको थाहा पाए। उनले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका महांकाल भैरव काठमाडौंको आकाश हुँदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किंवदन्तीमा उल्लेख छ। प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु शाश्वत बज्राचार्यले महांकाल भैरव भगवान्लाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।

 

त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र त्यसपछि आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे। महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किंवदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान् महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।

 

नेपाल मण्डलमा रहँदा महांकाल भैरवले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर उनले नेपाल मण्डलका सबै मानवजातिलाई आफ्नो काखमा राखे। राक्षसको क्रूर व्यवहारबाट प्रताडित समुदायको साथमा भगवान् बुद्धका अवतारसमेत थिए। सो समयमा भगवान् बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै महांकाल भैरवसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ। बुद्ध अवतारको आग्रहलाई महांकाल भैरवले स्वतः स्विकार गरे।

 

तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएका कारण महांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण महांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ। प्राचीन समयमा महांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टिको भागमा भए तापनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाइको ढुंगाको मूर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवान्‌को मूर्तिमुनि उनको वाणसमेत राखिएको छ। जुन गुरु बज्राचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्। तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पूजा गर्ने विधि) बाट पूजा गर्न थालिएको मानिन्छ ।

 

तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु शाश्वत बज्राचार्यले नै गरेका हुन्। बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान् बुद्धले सुरु गरेको बताइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्यको भनाइ छ। उनका अनुसार यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास छ।

 

शास्त्रीय तथा तान्त्रिक मान्यता र सामाजिक परम्परा मुताबिक धेरैपहिले नै मठमन्दिरहरुमा पशु तथा मानव बलि दिने परम्परा छ। यसरी पूजा गर्दा भगवान् प्रसन्न हुने र मनोकामना पूरा हुने जनविश्वास पनि छ। तर, महांकाल मन्दिरका पुजारी उज्ज्वल बज्राचार्य बलि दिएर पूजा गर्ने विधिभन्दा बज्रयान पूजा विधि मावन जीवनका लागि अधिक प्रभावकारी हुने दाबी गर्छन्। महांकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पात्र पूजा पनि गरिन्छ।

 

बज्रयान पूजा विधिका लागि ख्या (दही, तेल, ज्वानो, बेसार, मसला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ। तर, महांकाल भैरवका पूजारी बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरे। तर सो बज्रयान पूजा विधिको अंग भने होइन। यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ।

 

उनी भन्छन्, ‘खासमा यस विधिअन्तर्गत चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ।’ महांकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ।

 

सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ। महांकाल भैरव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने मानिसले पूजापाठ गर्ने गर्दछन्। पुजारी बज्राचार्यका अनुसार मुख्य गरी साढे सात, शनि, राहु, केतु लगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन्। तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे।

 

पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदै जाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन्। पुजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ। खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’ तर, मन्दिर र महांकाल भैरवप्रतिको आस्था भने बढेर गएको उनको बुझाइ छ। ‘आफूलाई वा आफ्ना परिवार र आफन्तजनलाई अप्ठेरो पर्दा मन्दिर आउनुहुन्छ। पूजा गर्नुहुन्छ। केही समयपछि अप्ठेरोमा परेकै व्यक्तिलाई राम्रो भयो भनेर पनि आउने गर्नुभएको छ’, बज्राचार्यले भने।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...