मध्यराति प्रधानमन्त्री ओलीले भनेः शेर बिरालो हुन समय लाग्दैन



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा रहँदा शेर हुनेहरूलाई महाअभियोग लगाएर बिरालो बनाउने बताएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक घुस काण्डको स्टिङ अपरेसन गर्ने समूहका व्यक्तिहरूलाई भेटेपछि प्रधानमन्त्री ओलीले महाअभियोगको प्रशंग ल्याएका हुन्।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ करिब दुई घण्टा भएको भेटमा अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले ‘शेर बिरालो हुन समय नलाग्ने’ बताए।

 

‘लोकमानसिंह कस्तो शेरजस्ता थिए, महाअभियोग प्रक्रिया सुरु गर्ने बित्तिकै बिरालो भइहाले’, ओलीको भनाई उद्धृत गर्दे बैठकमा सहभागी एक सदस्यले भने, ‘सत्तामा रहँदा शेर भएकाहरू सत्ताबाट बाहिर जानेबित्तिकै बिराला हुन्छन्, उनीहरूले कसैलाई केही गर्न सक्दैनन्।’

 

तत्कालीन व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरेपछि निलम्बनमा अवस्थामा रहेका अख्तियार प्रमुख कार्कीलाई सर्वोच्च अदालतले सो पदका लागि अयोग्य ठहर गरेको थियो।

 

बुधबार राती नेपालखबरले अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको खुलासा गरेपछि उनलाई संसदमा महाअभियोग लगाएर हटाउने तयारी भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारका आयुक्त नै घुस काण्डमा संलग्न भएको खुलासा भएको हो।

 

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले पटक पटक गरि ७८ लाख रुपैयाँ घुस बुझेको उनले स्वीकार गरेको भिडियो रेकर्डसमेत रहेको छ। जुन भिडियो हेरेको अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दल नेकपाका शीर्ष नेता र सांसदहरुले  बताएका छन्।

 

बुधबार राती आयुक्त पाठकको घुसकाण्डको खुलासा भएपछि प्रधानमन्त्री ओलीले स्टिङ गरि सो भिडियो तयार गर्ने व्यक्तिहरूलाई नेकपाका केही नेताहरूको रोहबरमा बिहिबार बिहानै बालुवाटारमा भेटेका थिए। बिहानको भेटमा उनले साँझ दुई घण्टा समय दिएर यो प्रकरणबारे विस्तृतमा बुझ्ने बताएका थिए।

 

त्यही तयारी अनुसार राती ९ बजे अख्तियारका आयुक्त पाठकविरुद्ध स्टिङ गर्ने व्यक्तिहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङसहित प्रधानमन्त्री ओलीसँग भेटेर उनीहरूले सुरक्षा माग गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले नेम्वाङलाई पाठकविरुद्ध संसदमा महाअभियोगका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बताएका थिए।

 

‘सुरक्षा राज्यको दायित्व हो, कुनै चिन्ता लिनुपर्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘महाअभियोगले शेरहरूलाई बिरालो बनाउँछ, कुर्सी गुमाएका आयुक्तले केही गर्न सक्दैनन्।’

 

नेम्वाङले पाठकलाई महाअभियोग लगाउनका लागि संसादहरुले हस्ताक्षर संकलन गरिरहेको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए। ‘शुक्रबारबाट महाअभियोगको प्रक्रिया सुरु हुन्छ,’ बालुवाटारबाट बाहिरिएपछि नेम्वाङले बिहिबार राती नेपालखबरसँग भने।

 

प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य रविन कोइराला सहित स्टिङ अपरेसन गर्ने समूहका तीन जना उपस्थित थिए। भेटमा ओलीले धेरै बोलेनन्, अरुको कुरा बढी सुने।

 

‘आयुक्त पाठकले ७८ लाख घुस लिएको स्वीकार गरेको भिडियो नै ल्यापटपमा बोकेर हामी प्रधानमन्त्री ओलीलाई भेट्न गएका थियौं’, स्टिङ गरि भिडियो तयार गर्ने एक जनाले बालुवाटारबाट बाहिरिएपछि भने, ‘निकै राती पनि भैसकेकाले प्रधानमन्त्रीले त्यो भिडियो त हेर्नु भएन, भेटघाट सकिएपछि हामीले त्यो भिडियो संसदीय दलका उपनेता सुवास नेम्वाङलाई बुझाएका छौं।’

 

बिहिबार बिहान भएको करिब १५ मिनेटको भेटमा पनि प्रधानमन्त्री ओलीले पाठकविरुद्ध महाअभियोगको प्रस्ताव अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार दिउँसो नेकपाका सांसदहरुले हस्ताक्षर सुरु गरिसकेका छन्।

 

संसदमा ६९ जना सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भए संवैधानिक निकायका सदस्य निलम्बन हुने कानूनी व्यवस्था छ। महाअभियोग पारित हुन चाहिँ हाल कायम रहेको सदस्य संख्याको दुई तिहाइ चाहिन्छ। सरकारमा रहेका नेकपा र संघीय समाजवादी फोमरको सांसद संख्या दुर्इ तिहाइभन्दा बढी रहेको छ।

 

अख्तियार सदस्य पाठक विरुद्ध आजै महाअभियोग प्रस्ताव दर्ता हुन्छ: योगेश भट्टराई

एउटा निजी कलेजसँग घुष लिएको प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विरुद्ध आजै महाअभियोग दर्ता हुने भएको छ।

 

पाठकविरुद्ध हस्ताक्षर अभियान सुरु भइसकेको र सकभर आजै उनीविरुद्ध महाअभियोग दर्ता गर्ने तयारी गरिएको सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङले बताए।

 

‘भरसक आजै महाअभियोग दर्ता गर्ने तयारी गरेका छौँ, यो प्रकरणमा ढिलाई गर्न हुन्न भन्ने छ’ नेम्वाङले नेपालखबरसँग भने, ‘सम्भवत बेलुकीसम्म महाअभियोग दर्ता हुनसक्छ।’

 

नेकपाका स्थायी समिति सदस्य समेत रहेका सांसद योगेश भट्टराईका अनुसार महाअभियोग दर्ताका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि कुराकानी गर्ने योजना बनाइएको छ।

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत सत्तारुढ संघीय समाजवादी फोरम, राजपापनि कुराकानी गर्ने विषयमा छलफल चलिरहेको छ’ भट्टराईले भने, ‘सबै दलको संलग्नतामा महाअभियोग प्रस्ताव दर्ताको प्रयास गर्नैछौँ।’

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...