सक्किने पालो प्रचण्डको !



 

गत माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पुनः माओवादी द्वन्द्व जन्माउने धम्की दिए । पूर्वएमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाइदिए तमाम पापकर्मले मुक्ति पाउने निचोडसहित माओवादी केन्द्र समाप्त गर्दै नेकपा अध्यक्ष बन्न सफल प्रचण्ड फेरि एकपटक मिडियामा छाएका छन् ।

 

एक पुस्तक विमोचन कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले सरकारको खुलेर आलोचना गर्ने बहानामा पहाड र तराईमा नयाँ द्वन्द्व जन्मने धम्की दिए । शान्तिसम्झौता र संविधानको मर्मविपरीत सरकार अघि बढे देश नयाँ द्वन्द्वमा फस्ने चेतावनीपछि मुलुकले प्रचण्डलाई किन र कहिलेसम्म बोक्ने भन्ने प्रश्न गम्भीर ढङ्गले उठेको छ ।

 

मुलुकमा स्थायी सरकार छ, घोषणापत्र छ, कार्यक्रम छ, सपना छ, भीमकाय पार्टी छ । जनता समृद्धिको पर्खाइमा छन् । मुलुकमा राजतन्त्र छैन । माओवादी ध्वंस छैन । संसदीय अस्थीरता छैन । यस्तो ‘अनुकुल’ परिस्थितिमा पनि नेकपा अध्यक्ष किन नयाँ द्वन्द्व जन्माउन तम्सिँदै छन् ? जनताको इच्छा र चाहनाविरुद्ध प्रचण्ड स्वार्थको निम्ति मुलुकले अझै कति कुर्वानी दिनुपर्ने हो ? प्रचण्डको अनुपयुक्त शैलीपछि जनता एकसाथ निराश र क्रूद्ध छन् ।

 

विश्लेषकहरू भन्ने गर्छन्– प्रचण्ड अस्थिर छन् । वास्तवमा उनी अस्थिर होइन, रणनीतिक छन् । आफ्नो स्वार्थको निम्ति हदैसम्म गिर्न सक्छन् । उनी एकसाथ प्रेम र घृणाको अभिनय गर्न सक्छन् । सँगसँगै रुन र हाँस्न सक्छन् । सोझासीधा जनताको आँखामा मात्र होइन पूर्वराजा ज्ञानेन्द्र, दिवंगत प्रधानमन्त्री गिरिजा, वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव, वर्तमान प्रधानमन्त्री ओलीलाई समेत झुक्याउन सक्छन् । उनको हरेक चालबाजी नेपाली राजनीतिमा जमेकै छ । उनले जस–जसलाई बोके तिनीहरू क्रमशः सकिए । उनको हरेक राजनीतिक सिकारमा अदृश्य शक्तिले फाइदा लुटेकोलुटै छ ।

 

प्रचण्ड–मार्गबाट हिँडेको ओली–राजनीतिले छटपटिएका प्रचण्ड मुलुकमा विचित्र प्रयोग गर्न तम्सिएका छन् । प्रधानमन्त्री ओलीले दक्षिण, उत्तर र पश्चिमसँग खेलेको केटौले कूटनीतिपछि तर्सिएका प्रचण्ड आफ्नै पार्टीको सरकारविरुद्ध भेनेजुएला विज्ञप्तिमार्फत खेल्न पुगे । पश्चिमको स्वार्थमा धक्का दिने भेनेजुएला तीरपछि रन्थनिएको ओली सरकार प्रचण्डलाई साइजमा राख्ने खेल खेल्न थालेसँगै जन्माइएको माओवादी विद्रोहको लफ्फाजी छताछुल्ल हुँदै छ ।

 

 

तत्कालीन दरबारले ०४६ को जनआन्दोलनमार्फत गुमाउनुपरेको राजनीतिक शक्ति प्राप्त गर्न प्रयोग गरेको प्रचण्ड ध्वंस मुलुकमा कसरी फैलियो ? भनिइरहनुपरेन । पञ्चायतले तीस वर्ष शासन गर्दा छोडेको असङ्ख्य कमी–कमजोरीलाई ‘शिशु प्रजातन्त्र’को थाप्लोमा हाल्दै मच्चाइएको माओवादी ध्वंस दरबार हत्याकाण्डपश्चात् कसरी मौलायो ? दरबारले जन्माएको, दक्षिणले हुर्काएको, पश्चिमले हाइज्याक गरेको प्रचण्ड–राजनीति नेपाल र नेपालीको निम्ति छँदै थिएन भन्ने पुष्टि मुलुकलाई दशकौँ पछि पार्ने आर्थिक र अथाह मानवीय क्षतिपश्चात् स्थापित आयातीत उपलब्धि हेरे थप व्याख्याको जरुरत पर्दैन ।

 

फगत पैसा र कुर्सीको निम्ति प्रयोग हुने र गर्ने प्रचण्ड राजनीति मुलुक र मुलुकवासीले बुझ्ना साथ केपी ओलीको शरणमा पर्दै राजनीतिक वैतरणी तर्न राजी भए । सियो बनेर पस्ने र फाली बनेर निस्कने पूर्वनियोजित रोडम्यापमा प्रधानमन्त्री ओलीको आवश्यक सहयोग प्राप्त नहुँदा विचित्र किसिमको विष वमनपछि प्रधानमन्त्री ओलीलाई ठूलो ट्र्यापमा पार्ने कसरत जोडतोडसँग चलेको सङ्केत मिल्दै छ ।

 

०५८ मा दरबार र शेरबहादुर देउवाको विशेष आशीर्वाद प्राप्त गर्दै होलेरीबाट बाँच्न सफल प्रचण्ड–राजनीति मुलुकको निम्ति भष्मासुर बन्न पुगेको छ । तत्कालीन होलेरी काण्डमा आवश्यक र उचित कारबाही गर्ने गिरिजा सरकारको निर्णय थाहा पाउनासाथ शेरबहादुरको सहयोग लिन मरिहत्ते गर्ने प्रचण्ड–कला जीवनदानमा बदलियो ।

 

राजदरबारमा सैन्यसचिवको योगदान निभाइसकेका शान्तकुमार मल्लको अदृश्य सहयोग देउवामार्फत प्रचण्डले प्राप्त गरेसँगै मुलुक असफलताको बाटोमा दौडियो । होलेरीमा सैनिक कारबाही सम्पन्न हुनासाथ मुलुकले प्रचण्ड समस्याबाट मुक्ति पाउने गिरिजा कदम असफल भएसँगै ओरालो लागेको मुलुकको राजनीति आजसम्म त्यसैको सिकार भइरहेको प्रमाण पछिल्लो धम्कीलाई लिन सकिन्छ ।

 

राजनीतिक उपलब्धिको नाममा माओवादी ध्वंसपश्चात् समानुपातिक सहभागिता, समावेशिताको नाममा नयाँखाले शोषणलाई स्थापित गरियो । विवाह गर्दा अन्तरजातीय भन्दै गर्ने, राज्यबाट सेवा–सुविधा लिँदा पुरानै जात खोज्ने विचित्र पद्धति मुलुकमा भित्र्याइयो । तीन तहको सरकार भन्दै जनताको थाप्लामा अतिरिक्त बोझ बोकाइयो । भ्रष्टाचार वडा र गाउँसम्म पुऱ्याइयो ।

 

आमनागरिकलाई जग्गा बेचेर ‘सम्पति कर’ तिर्न बाध्य पारियो । प्रचण्ड ध्वंसको सफल प्रयोग मुलुकमा स्थापित हुँदै गर्दा १२ हजारभन्दा बढी चर्च निर्माण गरियो । बलियो संस्था कुनै बाँकी छैन । एमालेजस्तो चुस्त–दुरुस्त पार्टी रणनीतिक ढङ्गले लोप बनाइयो । विगत ध्वंसमा हजारौँ युवा–युवती अङ्गभङ्ग भए । असङ्ख्य मानिस हराइरहेका छन् । सरकार र माओवादीतर्फबाट मर्कामा परेका मानिस आजपर्यन्त न्याय नपाएर तड्पिरहेका छन् ।

 

अपराधीहरू खुलेआम डुलिरहेका छन् । सत्तामा पुग्न प्रयोग गरिएका माओवादी लडाकुहरू खुनको आँसु रोइरहेका छन् । नक्कली लडाकुको नाममा राज्य लुट्नेहरू जनताको संवेदनामाथि खित्का छोडेर हाँस्दै छन् । मुलुक अस्तित्वरक्षाको लडाइँमा होमिएको छ । यी तमाम समस्याको प्रमुख कारण प्रचण्डको पैसा र कुर्सीमोह थियो र हो भन्ने पुष्टि भइसक्दा पनि उनको हुँकार नरोकिनु खेदजनक मानिएको छ ।

 

प्रचण्डको चरम महत्वाकाङ्क्षाको कारण जन्मिएको माओवादी ध्वंसको नाममा पहाड खाली गराइयो । धर्तीपुत्र तराईवासीलाई अल्पमतमा पार्न राजनीतिक अस्थिरताको आडमा लाखौँ नागरिकता बाँडियो । ९५ प्रतिशत ॐकार परिवारलाई अछुत व्यवहार गरियो । अनेक घाटको पानी सँगै खाएको नुन र गुन तिर्न एकाध प्रतिशत इसाईको अधिकार स्थापित गर्दै संविधानलाई कुरूप बनाइयो ।

 

कम्तीमा नाम मात्रको भए पनि दरबारले प्रयोग गर्दै आएको सार्वभौमसत्ता मुलुकबाट गायब पारियो । विदेशीले बनाइदिएको सीमित भौतिक संरचना नियोजित रूपले ध्वस्त बनाइयो । भएका उद्योगधन्दा बन्द गरियो । नयाँ जन्मन नसक्ने अवस्था सिर्जना गरियो । कृषिप्रधान मुलुक जमिन बाँझो राख्दै युवा निर्यातमा लम्कियो । दैनिक सयको हाराहारी युवा विदेश जानेमा हजारौँ पु¥याइयो । जिउँदो युवालाई निर्यात गर्दै रेमिट्यान्ससँगै काठको बाक्सामा लास आयात गर्न बाध्य पारियो ।

 

मुलुकलाई असफल राष्ट्र बनाउन ठूलो ध्वंस मच्चाइयो । भ्रष्टाचार, घुसखोरी, प्राकृतिक साधनको दोहन, दुरुपयोग, अन्याय, अत्याचार, राज्यको अभिन्न अङ्ग बनाइयो । भाषा, साहित्य, परम्परा, जातीय क्षेत्रीय एकता मुसाको सिङ बनाइयो । हजारौँ युवादिमाग पलायन गराइयो । मुलुक विदेशीको क्रीडास्थल बनाइयो । राज्य संयन्त्र, ढुकुटी र संस्थाको चरम दुरुपयोग गर्दै पङ्गु बनाइयो । संवैधानिक निकायमा अनुपयुक्त मानिस भर्ती गर्दै लुटपाट मच्चाइयो ।

 

भर्खरै बौरिन शुरु गरेको मुलुकमा फेरि पनि निजी स्वार्थको निम्ति माओवाद जन्मने वा जन्माउने प्रचण्ड–उद्घोष कुन लक्ष्यको निम्ति गरिँदै छ ? के उनी मुलुक विघटनकै निम्ति जन्मिएका हुन् ? अथाह सम्भावना बोकेको मुलुकमा जनताले दिएको दुईतिहाइको सदुपयोग गर्दै समृद्ध नेपाल निर्माणमा लाग्दै विगतको पापमोचन गर्नुको सट्टा धम्कीपूर्ण भाषाले उनको नियत, हैसियत मुलुकको निम्ति अपाच्य, अनुपयुक्त, दुर्भाग्यपुर्ण र आपत्तिजनक रहेको ठोकुवा गर्न सकिन्छ ।

 

पटक–पटक सभासद्, दुईपटक प्रधानमन्त्री, जीवनभर पार्टीअध्यक्ष, अथाह सम्मान र अधिक भरोसा जनताले सुम्पिँदा पनि सहकार्य, मेलमिलाप र क्षमायाचना गर्न चुकेका प्रचण्डको मुखबाट फुत्किएको नयाँ चेतावनीपछि प्रचण्ड–प्रयोग मुलुकमा नियोजित तवरले भएको र हुँदै गरेको फेरि एकपटक पुष्टि भएको छ ।

 

अनुपयुक्त समयमा प्रचण्डले ‘बाउन्सर’ फ्याँकेका छन् । सौभाग्यवश उनको बाउन्सर ‘नो बल’मा बदलिएको छ । जनताले अतिरिक्त रन प्राप्त गर्दै फ्री हिट हान्दा प्रचण्ड छक्का खान विवश छन् । जीवनभर अन्तरविरोधमा खेल्दै व्यक्तिगत फाइदा लुटेका प्रचण्ड र ०४४ पछि पूर्वमालेको केन्द्रीय सदस्य बनेसँगै फुटाऊ र राज गरको नीतिमा जमेको ओली–राजनीति नेकपाको नाममा जम्न मुस्किल देखिन्छ ।

 

नीति, नियम, विधि, विधान, सिद्धान्तसँग साक्षात्कार गर्न कहिल्यै राजी नभएको प्रचण्ड–राजनीति ओली चेपुवामा परेसँगै निस्किएको बर्बराहट मुलुकले कुबेलामा सुन्दै छ । दरबारले प्रचण्ड बोक्यो, दरबार सकियो । काङ्ग्रेसले बोक्यो, काङ्ग्रेस सकियो । एमालेले बोक्यो, एमाले सकियो । मुलुकले फैसला गर्नैपर्छ । फेरि पनि माओवाद जन्माउन चेतावनी दिने प्रचण्ड बोक्नु भनेको मुलुक सक्न मात्र हुनेछ । शान्ति, स्थिरता, विकास र समृद्धिको सपना देखाउँदै प्राप्त संसदीय अङ्कगणितपछि खोजिएको नयाँ द्वन्द्व मुलुकले अस्वीकार गर्दा सकिने पालो प्रचण्डकै हुनेछ ।

(घटना र विचारबाट दीपेन्द्र पाण्डे)

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्