कलाकारद्वय कृष्ण र शर्मिला मल्लको रोचक प्रेमकहानी : बिहे गरेर फर्के आ–आफ्नो घर



 

केहीवर्ष भित्रै ‘प्रेम विवाह’ टुटेका प्रशस्त उदाहरण छन्–हाम्रो समाजमा । ‘प्रेम विवाह लामो समय टिक्दैन’ सायद, त्यसैले भन्ने गरिएको हुनसक्छ । तर, एक प्रेमजोडी यस्तो उदाहरण बनेका छन्, जसले समाजका गलत मान्यतालाई प्रगाढ प्रेममार्फत गतिलो जवाफ दिएका छन् ।

 

उनीहरुले आफ्नो प्रेमलाई विवाहमा बदलेको नै ३४ वर्ष भइसकेको छ । समयसँगै दुई जनाबीच प्रेम पनि बढ्दो छ । प्रणय दिवसको अवसरमा रातोपाटीसँग कुराकानीका क्रममा उनीहरुले एकै स्वरमा भने, ‘हामी दिन प्रतिदिन झन् गहिरो प्रेममा डुब्दैछौं ।’ उनीहरु अर्थात अभिनेता कृष्ण मल्ल र अभिनेत्री शर्मिला मल्ल ।

 

शर्मिला र कृष्णले २०४१ सालमा प्रेम विवाह गरेका हुन् । नाटक र अभिनय सिलसिलमा एक–अर्कासँग नजिएका उनीहरुबीचको प्रेम स्टेजमै मौलायो । स्टेजमा दुबैको भूमिका रहेको नाटक जतिजति प्रदर्शन हुँदै गए, प्रेम पनि झाँगिदै गयो ।

 

ती दिनमा दर्शकहरुका लागि उनीहरु नाटकका पात्रमात्र थिए । तर उनीहरुका लागि भने नाटक एक अर्कासँग नजिकिने र माया साट्ने माध्यम भएको थियो । सँगै नाटक अभिनय गर्दागर्दै दुईजनाले एकै साथ फिल्मको अफर पाए ।

 

‘कान्छी’ फिल्म अभिनय गर्दा गर्दै दुईजना धेरै नजिकिए । उनीहरुले आफ्नो आत्मीयतालाई समाजिक स्वीकृति प्रदान गर्ने निधो गरे । अर्थात उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे।

 

संयोग पनि कस्तो रह्यो भने ‘भ्यालेन्टाइन सप्ताह’ भित्र अर्थात १३ फेबु्रअरीमा उनीहरुको विवाह भएको थियो । ‘अरुका लागि भ्यालेन्टाइन दिवस फेबु्रअरी १४ मा होला । हामीले भने सधैं १३ फेबु्रअरीमै प्रणय दिवस मनाउने गरेका छौँ,’ दुबैले एकै स्वरमा भने । १३ फेबु्रअरीकै दिन आफूहरुले आफ्नो विवाह उत्सव र प्रणय दिवस मनाउने गरेको कृष्णले सुनाए ।

 

उमेर बढेसँगै झन् रोमान्टिक
उमेर बढ्दै गएसँगै उनीहरुको प्रेम झन् रोमान्टिक बन्दै गएको छ । अरु जोडीहरु जस्तै कहिलेकाहिँ उनीहरुबीच पनि ठाक्कठुक्क नपर्ने होइन । तर झगडाले प्रेम झन् बढ्ने अनुभव उनीहरुसँग छ ।

‘झगडाले प्रेम झन् बढ्दोरहेछ,’ कृष्णले भने ,‘अहिले त झगडा नभएको पनि लामो समय भइसक्यो ।’ शर्मिलालाई भने अहिले बल्ल प्रेम परिपक्व भएजस्तो लाग्छ । ‘त्यसैले पनि हामीबीच अहिले झगडा नभएको होकि !’ शर्मिलाले अनुमान लगाइन् ।

 

केही कुरो चित्त नबुझेर शर्मिला झगडाको मुडमा देखिइन् भने कृष्ण चुप बस्छन् । कृष्णको त्यस्तो व्यवहारले शर्मिलाको रिस त्यसै मर्छ । शर्मिलाले भनिन्, ‘उहाँलाई नपाएको भए मेरो जीवन अधुरो हुन्थ्यो होला । म कलाकारितामा त्यसै हराउन पनि सक्थेँ ।’

 

एक अर्काेलाई नोटिस 

कृष्णले पहिलो पटक एभरेष्ट टुथपेस्टको विज्ञापनमार्फत शर्मिलालाई  देखेका थिए । त्यो बेलादेखि नै उनी कृष्णको नजरमा परेकी थिइन् ।  नाटक अभिनयको सिलसिलमा कृष्णले फेरि उनलाई दर्शकदीर्घामा देखे । नाटकबाट नै उनलाई जिस्क्याए । शर्मिला भने कृष्णको आवाजको फ्यान थिइन् । कृष्ण त्यतिबेला रेडियो नेपालमा प्रत्येक शनिबार दिउँसो प्रशारण हुने नाटकमा अभिनय गर्थे । नाटकबाट कृष्णको स्वरकी फ्यान भएकी शनिबार सबै काम सकेर उनको स्वर सुन्न रेडियो अगाडि बस्थिन् ।

 

एक पटक शर्मिला नाटक हेर्न गएकी थिइन् । केही ढिलो भएकोले उनी पुग्दा कलाकारको परिचय सकिएर नाटक सुरु भैसकेको थियो । सो नाटकमा एक पात्रले बोलेको आवाज उनलाई रेडियोमा सुनेको स्वरसँग मिलेझंै लाग्यो ।

 

सो आवाज निकाल्ने पात्र कृष्ण मल्ल हो कि होइन भन्ने साथीहरुसँग सोधिन् । हो भन्ने थाहा भएपछि दङ्ग परेर नाटक हेरेर कृष्णसँगै हराँउदै थिइन् । त्यतिबेला कृष्ण भगवान हुन् भन्ने शर्मिलाको मनमा कल्पना थियो ।

 

‘नाटकमा प्रसंग बाहिर गएर उहाँले मैले अभिनय गरेको एभरेस्ट टुथपेस्टले दाँत माझ्यो भने खै के बिग्रन्छ भनेर स्टेजबाट मतर्फ व्यङ्ग्य गर्नुभयो,’ शर्मिलाले भनिन् ,‘उहाँको त्यो व्यवहारले मैले भगवान र हिरो कल्पना गरेको मानिस एकाएक भिलेन जस्तो लाग्यो ।’ शर्मिलाले थपिन् ‘त्यतिबेला मैले सोचेँ यो मानिस ठीक रहेनछ जस्तो लाग्यो, हिरो सोचेको मान्छे खलनायक जस्तो लाग्यो ।’

 

शर्मिलाले आफूलाई ख्याल गरोस् भन्ने मनसायले त्यतिबेला जिस्क्याएको शर्मिलातर्फ हेर्दै कृष्ण मुस्कुराए । कृष्णले ती दिन सम्झिँदै भने ,‘भेट कहिल्यै नभएपनि विज्ञापनमा देखेको भरमा उनी मेरो मनमा बसिसकेकी थिइन् ।’

 

कहिले चिनजान ?
‘अध्यारो उज्यालो’ भन्ने प्रेमसम्बन्धी नाटकको तयारी हुँदै थियो । कृष्णले नाटककै एक सदस्यलाई टुथपेस्टको विज्ञापन बताएर शर्मिलालाई बोलाउन लगाए ।

 

शर्मिलाले भने कृष्णले जिस्क्याएदेखि उनको नाटक पनि सुन्न छोडेकी थिइन् । अभिनयतिर रुचि भएकी शर्मिलालाई तेजेन्द्र भन्ने एक व्यक्तिले नाटक अभिनयका लागि ‘अध्यारो उज्यालो’ टिमसँग भेट गराएका थिए ।  त्यही अवसरमा कृष्ण र शर्मिलाको प्रत्यक्ष भेट हुन पुगेको हो । सो भेटमा आफूले नाटकबाट जिस्क्याएको कुरामा शर्मिलसँग माफी मागेको कृष्णले स्मरण गरे ।

‘उहाँले सरी भनेपछि म मख्ख परिहालेँ । फेरि भिलेनबाट उहाँ मेरा लागि हिरो भइहाल्नु भो,’  शर्मिलाले ती दिनमा फर्किइन् । ‘अध्यारो उज्यालो’ नाटकमा दुबैले पहिलो पटक एकसाथ काम गरे । नाटक अभिनय सिलसिलामा उनीहरुबीच प्रेमको विजारोपण हुन पुग्यो ।

 

व्यक्त हुन नसकेको प्रेम
विज्ञापनमा देखेदेखिनै कृष्ण र शर्मिला एकअर्का प्रति आकर्षित थिए ।  तर प्रेम अभिव्यक्त गर्न सकिरहेका थिएनन् ।  ‘पहिलो पटक देखेदेखिनै म उनीसँग नजिकिन चाहन्थेँ । उनी प्रति एक किसिमको आकर्षण बढेको थियो,’ कृष्ण भन्दै थिए, ‘पहिलो पटक देख्दैमा मनले चाहेको थियो । सायद, त्यही प्रेम रहेछ कि !’ शर्मिलाले भने नाटक अभिनय गर्दा, सँगै हिँड्ने, सँगै खाने क्रम बढ्दै गएपछि एक अर्कालाई मन पराउन थालेको बताइन् ।

 

‘एक अर्काेलाई मन पराउन थालेका थियौं तर भन्दैनथ्यौँ,’ कृष्णप्रति हेर्दै मुस्कुराउँदै शर्मिर्लाले प्रेमको कुरा खोलिन् ,‘सो समय हामी डेटिङ भनेर दुई जना मात्रै कहिल्यै हिँडेनौं । हामी नाटक कलाकार एकसाथ समूह बनाएर हिँड्थ्यौ । हामी एकअर्काको साथ चाहन्थ्यौं । तर उहाँले कहिल्यै आइलभ यू भन्नु भएको थिएन । मैले पनि भनिनँ ।’

‘अहिलेजस्तो त्यतिबेला फेसबुकको चलन थिए । मोवाइल त परै जाओस् टेलिफोनको पनि राम्रो सुविधा थिए’ शर्मिला फेरि बोलिन् ,‘आकर्षण त थियो । त्यतिबेला टेलिफोन र मोबाइलको चलन थिए । कहाँ र कसरी भेट्ने भन्ने चिन्ता हुन्थ्यो । अहिले बुझ्दा थाहा भयो त्यो नै प्रेम रहेछ ।’

 

विवाह
सँगै नाटक गर्ने क्रममा शर्मिलाले आफूलाई मन पराउछिन् भन्ने कृष्णले बुझेको थिए । उनकै समूहका केही साथीहरुले शर्मिलाले मन पराउछिन् भनेर कृष्णलाई भनिसकेका थिए । त्यतिबेला ‘आइ लभ यू’ भन्ने चलन पनि थिएन । त्यसैले कृष्णले सिधैं प्रस्ताव गर्दा उपयुक्त हुने सोचेर समूहमा हिँडेको समय विवाहको प्रस्ताव गरे ।

‘हामी एक अर्काेलाई माया गर्छाैँ भन्ने हाम्रो समूहको सबैलाई थाहा थियो । त्यसैले समूहमा हिँड्दा पनि साथीहरु हामीलाई एक अर्काेसँगै राख्ने, एक्लै छोड्ने, कुरा गर्ने माहोल बनाउने गर्थे ,’ कृष्ण रोमान्टिक बने ,‘हाम्रो डेटिङ पनि त्यसरी नै भयो ।’

 

‘विवाह भएको डेढ महिना पछि हेटौंडामा नाटक देखाउन जाँदा साथीहरुले हामीहरुलाई एउटा कोठा छुट्टै दिएका थिए । त्यहीँ आफूहरुले हनिमुन मनाएको कृष्णले सुनाए ।

 

कृष्णले आफूलाई विवाह प्रस्ताव राख्दाको क्षण सम्झना गर्दै शर्मिलाले भनिन् , ‘२०४१ फागुन १ गते हामी पशुपति घुम्न गएका थियौं । सोही समय उहाँले मलाई विवाहको प्रस्ताव राख्नुभएको थियो । विवाह प्रस्ताव सुनेर म त ‘सरप्राइज’ भएँ ।’

 

‘मैले पत्याउन सकिरहेको थिइनँ, उहाँले साँच्चै विवाह गर्न चाहेको भन्नु भयो । मैले पनि म त ठकुरीको छोरी हो । बन्दुकको गोली र मुखबाट निस्किएको बोली फिर्ता हँुदैन नि भन्दै ओके भनिदिएँ’,  शर्मिलाले बिहेको प्रसंग सम्झना गरिन् ,‘सोही समय साथीहरुसँग बजारबाट फूलमाला ल्याएर उनीहरुलाई साक्षी राख्दै विवाह गर्यौँ ।’

उनीहरुबीच विवाह त भयो तर सँगै बस्ने तयारी भने  थिएन । त्यसैले विवाह सकिएपछि कृष्ण एक्लै आफ्नो डेरातिर लागे । शर्मिला पनि आफ्नै माइतीघरतिर हिँडिन् ।

 

…त्यो बेलाको डेटिङ  
प्रेम त थियो उनीहरुमा । तर सो समय ‘डेटिङ’ को चलन थिएन । सधैँ भेटौं, सधै सँगै बसौं भन्ने दुबैलाई हुन्थ्यो । कसरी भेट्ने भन्नेमा दुबैबीच खुलदुलीको हुन्थ्यो । त्यसैले कहिले भिडियो पार्लर, कहिले रेष्टुरेन्ट, कहिले पशुपति घुम्न जान्थे ।  ‘मेरो घरमा फोन थिएन । घर नजिकको एक घरमा उहाँको फोन आउँथ्यो । भेट्न बोलाउनु हुन्थ्यो । म जान्थेँ’ शर्मिला रोमाञ्चक ती दिनका कुरा खोलिन् ।

 

अहिलेको प्रेम कस्तो कस्तो !
पहिलेभन्दा अहिले प्रेम गर्ने र व्यक्त गर्ने शैली फेरिएको उनीहरुलाई महसुस भएको छ । ‘हामीले माया गर्दा माया गरेर पनि भन्न सकेनौं’ कृष्णले भने, ‘प्रेम लुकाउथ्यौँ । अहिले देखाएर गर्छन् । धक नमानी बाहिर ल्याउछन् ।’

यसले समाजमा प्रेम स्थापित हुन खोजेको कृष्णको बुझाई छ ।

शर्मिलालाई भने एकसाता अघिदेखि प्रेम दिवस मनाएको मन परेको रहेनछ । एक सातासम्म बिभिन्न डे भनेर प्रेम दिवस मनाउनु भन्दा सबै काम एकै दिन गर्दा राम्रो उनी बताउँछिन् ।

 

प्रेम गर्नेलाई सुझाव 
कृष्ण – सौदर्यको आकर्षणले मात्र प्रेम गर्ने होइन । प्रेम स्थायी बनाउनतिर लाग्नु पर्छ । आपसमा समझदारी, एक अर्काेमा विस्वास र सम्झौता भए मात्र प्रेम अगाडि बढ्छ । यी कुरा ध्यानमा राखेर प्रेम गर्नुपर्छ ।

 

सर्मिला– ‘प्रेम दिवस’ लाई  प्रेममय बनाआंै । प्रेम दिवसलाई देखावटी रुपमा पनि मनाएरको पनि देख्न सकिन्छ । त्यसो नगरौं। एक अर्कालाई मन पराउनु नराम्रो होइन, राम्रो हो । तर, प्रेमको आडमा अराजक क्रियाकलाप नगर्नुस् । हिजोको प्रेम आज टुटेका देखेको छु । त्यस्तो प्रेम नगर्र्नुस्, जुन जीवनभर रहोस् । रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण