ओली र प्रचण्डलाई जुधाएर के चाहन्छन ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

लामो समयसम्म सत्तामा रहेको नेपाली कांग्रेस अहिले सत्ताबाहिर हुँदा उसका नेताहरूमा छटपटाहट देखिनु सामान्य हो । तर आफ्नो पार्टी मात्र सरकारमा होइन, आफै सरकारमा त्यो पनि प्रधानमन्त्री पछिको दोस्रो मर्यादाक्रममा हुँदा पनि सबैभन्दा धेरै छटपटाहट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलमा देखिनुलाई अस्वाभाविक रूपमा लिन थालिएको छ ।

 

पार्टी एकतापछि उपप्रधानमन्त्री पोखरेलका सामाजिक सञ्जालमा पोखिएका टिप्पणीले उनी भावी राजनीतिक जीवनसँग कति आत्तिएका छन् भन्ने प्रस्ट हुन्छ । लाग्छ, यतिबेला संसार कसैका लागि सधैं अन्धकार छ भने पोखरेलका लागि नै छ ।

 

भेनेजुएला प्रकरणलाई लिएर नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेको आशयका समाचार पत्रपत्रिकामा आउनासाथ मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेखे । त्यो खासमा उनको टिप्पणीभन्दा पनि वक्तव्यजस्तो छ । जसमा उनले लेखेका छन्, ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचीत, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुदैन, ल्याएनै हुदैन ।

 

अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पु¥याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’ पोखरेल उपप्रधानमन्त्री मात्र होइनन्, नेकपाका नेतासमेत हुन् । तत्कालीन एमालेको आठ वर्षसम्म महासचिव चलाएका उनी अहिले नेकपाको हाई कमान्ड सचिवालयको एक सदस्य पनि हुन् ।

 

पदीय जिम्मेवारीले पनि उनी समस्या बल्झाउनेभन्दा पनि समस्या छन् भने त्यसलाई साँघुरो पार्न पहल गर्नुपर्ने स्थानमा छन् । तर सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर उनले सामाजिक सञ्जालमा जुन खालको टिप्पणी गरे त्यो शोभनीय देखिदैन ।

 

त्यसो त स्वभावले पनि पोखरेलअरू नेतालाई लडाएर आफू माथि पर्न रुचाउने नेताका रूपमा नेकपाभित्र चिनिन्छन् । उनको सुरुदेखिकै सिद्धान्त भनेको अरू जुधे भने आफूलाई फाइदा पुग्छ भन्ने रहेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । त्यसको एउटा उदाहरण एमालेको आठौ महाधिवेशनका रूपमा तत्कालीन एमालेका कार्यकर्ताहरू सम्झछन् ।

 

आठौं महाधिवेशनमा बुटबलमा नेताहरू मिलेर जाने भन्ने थियो । तीन शीर्ष नेतामध्ये एक अध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव भएर जाने गृहकार्य भइरहेको थियो । पाका नेताहरू भरतमोहन, मुकुन्द, केशव बडालहरूको सक्रियतामा यसको तयारी भइरहेको थियो । तर, यस प्रयासको सबैभन्दा अगाडि भएर विरोध गर्ने नेता पोखरेल नै थिए । शीर्ष नेता मिलेको भए उनी महासचिव हुने थिएनन् ।

 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया अगाडि बढिरहेका बेला उनले एकतालाई असर गर्ने गरी सार्वजनिक अभिव्यक्ति दिए । उनको अभिव्यक्तिका कारण एकता केही समय पर धकेलियो पनि । वामदेव गौतम र विष्णु पौडेल पार्टी डुबाउने भए भन्दै हिँडे । उनले नचाहँदानचाहँदै पनि पार्टी एकता भयो ।

 

पार्टी एकताको सुरुदेखि नै विपक्षमा उभिएका उनले केही दिनअघि अध्यक्ष प्रचण्डलाई जंगलीसम्म भन्न बाँकी राखेनन् । वामदेव गौतमलाई कतै चुनाव उठाएर संसद्मा ल्याउने कुरा चलिरहँदा एकैचोटि बाहिर यो प्रकरणलाई छताछुल्ल पार्ने पनि पोखरेल नै थिए ।

 

सरकारमै भए पनि भित्रभित्र आफ्ना गुटकालाई भेट्ने र प्रधानमन्त्री ओलीको आलोचना गर्ने काम पनि उनले छाडेका छैनन् । आफू निकटस्थहरूसँग ओलीलाई पनि अयोग्य भनिरहेका छन् भने बाहिर केपी ओलीको कानमा बन्दुक राखेर पड्काएर चाकडी गर्न पनि छाडेका छैनन् ।

 

अहिले पनि उनले जुन टिप्पणी सार्वजानिक गरेका छन्, त्यो नेताहरूबीचका सामान्य विवादमा फेसो हालेर विवादलाई तन्काउने, नेताहरूमा फाटो ल्याउने र तर मार्ने प्रयासका रूपमा लिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...