काठमाडौंको उचाई नाप्ने ऊनको यो डोरी
चिसो भुईँमा मस्त निदाइरहेछ काठमाडौं उपत्यका- वरिपरि अग्ला पहाड र बीचमा एउटा सानो सुनौलो जमिन बनेर। रातो, सेतो, नीलो, हरियो रंगको काठमाडौं।
यो सहर कहिले समुद्री सतहबाट आफ्नो उचाई नाप्न खोज्छ। कहिले आफ्नै धरातलमा रहेका जीवनहरू खोज्न थाल्छ।
काठमाडौंको तारागाउँ संग्राहलयमा भिजुअल आर्टिस्ट मनिषलाल श्रेष्ठ यस्तै रंगीबिरंगी काठमाडौं बुनिरहेका थिए।
‘यो ऊनले बुनेको लामो डारी हो, काडमाडौंको हाइट नाप्ने डोरी’, उनी आफ्नो कलाबारे प्रष्ट्याउन खोज्दै थिए। रोशन मिश्रको सृजनालाई मनिषले ऊनीको धागोमार्फत फिचरिङ गरेका हुन्।
समुद्री सतहबाट काठमाडौं खाल्डो १३ सय ३६ मिटर उचाईमा छ। मनिषले बनाएको यो ऊनीको डोरी पनि त्यत्ति नै लामो छ। ‘यो खाल्डोमा पुरै देशवासीको ओहिरो लाग्छ’, कुरुषमा उनीएको धागोबाट कला बुन्दै उनी बोले, ‘साथमा अनगिन्ति सपना, रहर र आकांक्षाहरूको पनि।’

उपत्यकाबासीहरुका सदिऔं पुराना दैनिकी पनि उनको कलामा बुनिएका छन्। जहाँ केही तिता, केही मिठा यादहरूको डेरा बनेको छ। र, सहरको वैभवले सबैलाई आफूतिर आकर्षित गर्छ। केन्द्रबाट फुत्किनै नसक्नेगरी बाँधिन पुग्छौं – मनिषको कला भन्छ। तर बिल्कुल मौन अनुभूतिका साथमा। मनिष आजभोलि यही मौन अनुभूतिलाई आर्टको माध्यबाट संगाल्ने प्रयत्न गरिरहेका छन्।
कपडाका टुक्राटाक्री र ऊनको धागोसँग मनिषको साइनो सानैदेखिको हो। आफ्नो आर्टलाई देखाउने यो भन्दा उपयुक्त उपाय हुन नसक्ने उनी बताउँछन्। मनिषले फूलबुट्टे ऊनीको बुनाई गर्न आमाबाट सिकेका हुन्।
यो ऊनीको डोरी बुन्न ५० भन्दा बढीले हातेमालो गरेकोमा मनिष दंग छन्। यी मध्ये अधिकांश महिला छन्।
उनी भन्छन्- यो डोरीको आर्ट काठमाडौं उपत्यकाको विविधतालाई दर्साउने परियोजना हो। यो परियोजना सन् २०१७ देखि सुरु भएको थियो।
पाटनमै जन्मेहुर्केर त्यहाँको गल्लीगल्लीमा जीवनका अनेक आयामहरू देखेका मनिष आफ्नो कलामा पनि त्यसैको प्रतिविम्ब देख्छन्।
‘ऊनको धागोसँग यो सहरको जीवन बाँचेको देख्छु’, पाटनका गल्लीमा स्थानीय महिलाहरू ऊनको टोपी बुन्दै सुखदुःखका बात मार्दा मनिष त्यहाँ अनेक जीवनहरुले सास फेरेको पाउने बताउँछन्।

यो आर्टले स्थानीय जनजीवनको चित्रण गर्ने पनि उनी बताउँछन्। भन्छन्, ‘उपत्यकाबासीको पहिचान, संस्कृति र भूगोललाई मैले यो ऊनमा बुनेको छु।’ आर्टको माध्यमबाट उपत्यकाको परम्परा, वेशभुषाको प्रतिनिधित्व गर्ने पनि उनले बताए।
यो ऊनीमा प्रयोग भएको फरक रंगले अलगअलग संस्कृति र जीवनशैलीसहित उपत्यकाभित्र बसोबास गर्नेहरूको एक अर्कासँगको भावनात्मक सम्बन्धलाई देखाउँछ’, मनिष भन्छन्।
केही समय अगाडि मनिषले काठमाडौंको उचाई बराबरको यो ऊनीको डोरीलाई माइतीघर मण्डलमा परिक्रमा गराएका थिए। युवाहरूले आफ्नो शरीरमा यो डोरीलाई बाँधेर सहरको मौन यात्रा गरेका थिए। मनिष भन्छन्, ‘यो रंगीन डोरीबाट एक सुत्रमा बाँधिएका नेपालीबीचको सहिष्णुतालाई अनुभव गराउन खोजेको हुँ।’
आइतबार बौद्धनाथ स्थुपमा पनि उनले यस्तै कार्यक्रम गरे। यस्तै कार्यक्रम देशका अन्य ठाउँमा पनि गर्ने योजनामा उनी छन्। हरेक पल्ट केही नयाँ र वैचारिक विषय कलामा समावेश गर्ने आफ्नो प्रयास रहेको उनी बताउँछन्।(अन्नपूर्ण पोस्ट बाट)






