नेकपा कम्युनिस्ट विश्वविद्यालय हो योगेश भट्टराई



 

नेकपाको एकता कहाँ पुगेको छ ?

गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता हामीले गर्यौं । पार्टीको नाम, झन्डा, चुनाव चिह्न, विधान, राजनीतिक प्रतिवेदनका साथै केन्द्रीय कमिटी पनि एउटै बनायौं । बाँकी अरू कामहरू पनि टुंगो लगाउने गृहकार्यमै छौं । बाँकी रहेका काम टुंगो लगाउन १३ पुसमा सम्पन्न स्थायी कमिटी बैठकले कमरेड रामबहादुर थापाको नेतृत्वमा नौं सदस्यीय कार्यदल बनायो ।

 

यो कार्यदलको यस अवधिमा ६÷७ वटा बैठक बसी पार्टी एकताको प्रारम्भिक प्रस्ताव तयार गरेको छ, यद्यपि अझै धेरै काम बाँकी नै रहेको छ । यसैबीचमा पार्टी सचिवालयले हाम्रो प्रतिवेदन माग गरेकोमा शुक्रबार हामी बैठक बसी प्रतिवेदन तयार गर्ने र बुझाउने क्रममा भएका प्रगतिसहित बाँकी काम टुंग्याउन थप समय माग गरेका छौं ।

 

यदि पार्टी सचिवालयका नेताले त्यसलाई सकारात्मक रूपमा लिनुभयो भने अर्को एक सातासम्ममा हामीले पार्टी एकताको सम्पूर्ण खाका तयार गरेर बुझाउन सक्छौं । त्यसपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गर्ने काम गर्छ । अहिलेसम्ममा पार्टी एकताको काम टुंगो लाग्न नसक्दा पार्टीले ठूलो आन्तरिक क्षति बेहोरेका छौं । लाखौंलाख पार्टी सदस्यहरू जिम्मेवारीविहीन हुनुभएको छ भने सरकारको बारेमा सकारात्मक सन्देश दिन नसक्दा त्यसको पनि क्षति हामीले बेहोर्यौं । त्यो क्षतिको समेत परिपूर्ति हुने गरी पार्टी एकताको काम छिटै नै हुन्छ ।

 

तपाईंहरूले थप समय माग गर्नुभयो, काम नगरेकाले पार्टी सचिवालयले जेजस्तो अवस्थामा छ, उही प्रतिवेदन बुझाउन निर्देशन दिएको अवस्थामा समय दिन्छ ?

पार्टी एकताको प्रस्ताव तयार गर्न गठन भएको कार्यदल असफल हुनु भनेको सिंगो पार्टी नै असफल हुनु हो । त्यसैले, यो कार्यदलसँग असफल हुने, पछाडि हट्ने कुनै पनि छुट छैन । यस कार्यदलप्रति पार्टी नेता कार्यकर्ताको ठूलो आशा, विश्वास तथा भरोसा छ । बीचमा अनेक कतिपय कठिनाइ, नेता कमरेडको काठमाडौंबाहिरको कार्यक्रम, सरकारको पनि जिम्मेवारीलगायतका कारण समय व्यवस्थापन हुन सकेन ।

 

यता कार्यकर्ता एवं मिडियाबाट पार्टी एकता गर्न ढिलाइ भएको जुन दबाब आयो, त्यसलाई ख्याल गर्दै अब एक साता भयो भने हामी ती सबै काम सम्पन्न गर्न सक्छौं भन्ने हामीलाई लाग्छ । यसमा नेतृत्वले उदारतापूर्वक कार्यदलले काम गर्ने वातावरण बनाउँछ भन्ने मलाई विश्वास छ ।

 

पार्टी एकीकरणको घोषणा गर्दै तपाईंहरूले तीन महिनाभित्रमा एकता टुंगो लगाउने उद्घोष गर्नुभयो तर नौ महिना बितिसक्दा पनि टुंगो लाग्न सकेन, कुरो कहाँ अड्केको छ ?

काहीँ पनि त्यस्तो अड्केको छैन । दुई पार्टीबीच एकता भएपछि पार्टीका नेता तथा कार्यकर्तालाई एक बनाउन मात्रै बाँकी छ । पार्टी एकता भएसँगै हामीबीचको भावनात्मक एकता भई नै रहेको छ । जसरी केन्द्रमा दुई पार्टीको केन्द्रीय कमिटीलाई आधार बनाएर एक ठाउँमा जोड्ने काम हामीले गर्यौं अब तलतल पनि दुई पार्टीका कमिटीलाई आधार बनाएर एकीकृत बनाउँछौं ।

 

जनसंगठनलाई समेत त्यसरी नै एकीकृत गर्दै जान्छौं । एकताको काम अघि बढाउँदै जाँदा यो जटिल पनि छ, संवेदनशील पनि छ । प्रत्येक नेता कार्यकर्ताको योग्यता, क्षमता, हिजोका कमिटीगत जिम्मेवारीलाई समेत ख्याल गर्नुपर्ने हुन्छ । त्यसैले, यो आफैंमा जटिल प्रक्रिया पनि हो । विगतमा पनि पार्टी एकताको त्यही अनुभव छ । केन्द्रमा मिले पनि तलतल नमिलेर बेग्लाबेग्लै कमिटीहरू सञ्चालन भएको अनुभव पनि हामीसँग छ ।

 

अब त्यस्तो नहोस्, जति नोक्सानी हामीले बेहोर्यौं त्यो छँदै छ, अब समय व्यर्थमा बेहोर्नुहुँदैन भनेर स्थायी कमिटीले गम्भीरताका साथ छलफल गरेको छ र हामीले बाँकी काम गर्न पाएको अवस्थामा एक साताभित्रमा सम्पन्न गर्छौं । केन्द्रीय कमिटी र स्थायी कमिटी बोलाएर त्यसलाई अनुमोदन गर्छौं । चैत र वैशाखमा पार्टीको राष्ट्रव्यापी अभियान, केन्द्रीय कमिटीका सबै नेता जिल्ला एवं गाउँगाउँ जाने अभियान, भेला, बैठक, प्रशिक्षण, जनपरिचालन अभियान, विकास निर्माण कार्यको अगुवाइ गर्ने कामको योजना हामीले बनाउँदै छौं ।

 

एउटा गाउँ स्तरका संगठित सदस्यले सांगठनिक जिम्मेवारी कहिलेसम्ममा पाउँछन् ?

गाउँ स्तरसम्ममा बढीमा फागुनको १५÷२० सम्ममा गाउँ तहका कमिटीहरू बनिसक्छन् । कतिपय ठाउँमा बनि नै सकेका छन् । गाउँगाउँमा कमिटीहरू बनिसकेका छन् । बाँकी रहेका ठाउँमा १५ वा २० फागुनभित्रमा हामी बनाउँछौं ।

 

गाउँ, जिल्ला, विभाग, जनवर्गीय संगठनलगायतको एकता फागुनभित्रमा टुंगो लाग्छ ?

हो, फागुनको १५ या २० भित्रमा हामीले सबै तहको एकता टुंगो लगाउँछौं ।

 

त्यो कार्य सचिवालयले की यही कार्यदलले गर्ने ?

अहिलेसम्मका कामको उल्लेख गर्दै सचिवालयमा हाम्रो प्रतिवेदन गएको छ । थप काम गर्न हामीले एक साताको समय माग गरेका छौं । सचिवालयले यही कार्यदललाई जिम्मेवारी दियो भने यही कार्यदलले गर्छ । सचिवालयले यो कार्यदललाई समय नदिएको अवस्थामा स्थायी कमिटीको बैठक बोलाएर अर्को विकल्प के हुन सक्छ त्यो विकल्पअनुसार जान सकिन्छ ।

 

कार्यदलका सदस्यहरूका बीचमा के विषयमा कुरा नमिलेर यति समय लाग्यो ?

कुरा नमिलेको भन्ने नै छैन । छलफलकै क्रममा रहेकाले मिलेन भनेर भन्न मिल्दैन ।

 

जस्तो कि प्रदेश कमिटीमा विवाद हो कि ?

सचिवालयले प्रदेश कमिटीको नामावली प्रकाशन ग¥यो । त्यो नामावली प्रकाशित गर्दा पार्टीले बनाएको मापदण्ड कतिपय ठाउँमा लागू भएन । प्रदेश कमिटीमा योग्यता नपुगेकाहरू पनि आए भने योग्यता पुगेका कतिपय छुटे तर यो धेरै ठूलो संख्या छैन । पूर्व एमालेका प्रदेश कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद् सदस्यका साथै पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू, राज्य कमिटीका सदस्यहरू पनि छुट्नुभएको छ । त्यसैले कार्यदलमा छलफल गर्ने क्रममा हामीले के भन्यौं भने पार्टी विधानको व्यवस्थाले १० प्रतिशत मनोनीत गर्न सकिन्छ भन्ने व्यवस्थालाई लागू गरौं भन्ने छलफलमा ल्याएका छौं ।

 

त्यो विषयमा हामी बीचमा एकमत हुन सकिरहेको छैन । त्यति ठूलो भिन्नता नभए पनि एकमत हुन सकिरहेका छैनौं । तर, मलाई लाग्छ छलफल गर्दै जाँदा त्यस विषयमा हामी एकमत हुन सक्छौं । अरू कतिपय विषयमा हामीले प्रवेश गरेका छैनौं । अरू विषयमा प्रवेश गर्दा ती सबै विषयमा हामीले सर्वसहमत प्रस्ताव तयार गर्न सक्छौं ।

 

मापदण्ड मिच्ने काम भयो, कसले मापदण्ड मिच्ने काम ग¥यो ?

हैन, मापदण्ड मिच्नेभन्दा पनि मापदण्ड नपुगेका पनि केही साथीहरू आए । हुन त उहाँहरू पनि नेकपाकै सदस्य हुनुहुन्छ । अर्को कुनै पार्टीको मान्छे ल्याएको होइन । तर पनि अलिकति मापदण्डभित्र नपरेकाले अब शपथ गरिसकेकाले मापदण्ड पुगेका साथीलाई समावेश गरौं भन्ने हाम्रो प्रस्ताव छ ।

 

मापदण्ड पुगेकालाई समावेश गर्ने प्रस्ताव कसले नमानेको हो ?

नमानेको भन्ने छैन, छलफलको क्रममा छ ।

 

के प्रदेश कमिटीका इन्चार्र्ज फेर्ने प्रस्ताव कार्यदलमा आएको छ ?

त्यो विषय त स्थायी कमिटीमै छलफल भएको थियो । स्थायी कमिटीमा के छलफल भएको थियो भने कुनै पनि नेतालाई दोहोरो जिम्मेवारी नदिने तर पार्टी केन्द्रीय अध्यक्षको हकमा त्यो लागू हुँदैन । केन्द्र्र्रीय अध्यक्ष नै प्रधानमन्त्री र संसदीय दलको नेता हुने भएकाले उहाँको हकमा त्यो लागू हँुदैन । तर, अरूको हकमा पार्टीको समेत मुख्य जिम्मेवारी र सरकारको पनि मुख्य जिम्मेवारी दिनुहुँदैन भन्ने कुरा स्थायी कमिटी बैठकमै उठेको थियो । केही मुख्यमन्त्री कमरेडहरू पार्टीको पनि इन्चार्ज हुनुभएको छ, अब यसलाई कुन ढंगले हल गर्ने भन्ने हामी छलफल गर्छौं ।

 

भनेपछि, मुख्यमन्त्रीसहित सरकारको मुख्य जिम्मेवारीमा रहेका नेताहरू जो पार्टीको पनि मुख्य जिम्मेवारीमा रहेका छन्, तिनलाई हटाउनुपर्छ भन्ने तपाईंहरूको प्रस्ताव हो ?

सैद्धान्तिक हिसाबले एउटै व्यक्ति सरकार र पार्टीको मुख्य जिम्मेवारीमा नहोस् भन्ने विषयमा हामी सबै सहमत नै छौं, सिंगो पार्टी नै त्यसमा सहमत छ । व्यावहारिक हिसाबले कहाँ कसरी मिलाउने भन्ने कुरा पार्टीमा बसेर छलफल गरी मिलाउनुपर्छ ।

 

सबै जना सहमत हो भने मापदण्ड किन मिचियो ?

त्यसमा पनि हामी छलफल गरेर केही निकास निकाल्छौं ।

 

सबैले जिम्मेवारी पाउने गरी पार्टी पूर्वएमाले जस्तो अनुशासित भएर सञ्चालन हुन अझै कति समय लाग्छ ?

पार्टी हिजो जस्तो थियो आज पनि त्यस्तै छ । पार्टी एकीकरण भएर हाम्रो पार्टीमा कुनै नकारात्मक असर परेको छैन । माओवादीको आफ्नो खालको कार्यशैली थियो भने एमालेको आफ्नो खालको कार्यशैली थियो । तर, समग्रमा हामी कम्युनिस्ट कार्यशैलीमै थियौं । त्यसैले, यो एकताले हामीलाई एकअर्कालाई रूपान्तरण गर्न सजिलो भएको छ । एमालेको राम्रो काम माओवादीका साथीले र माओवादीको राम्रो काम एमालेका साथीले सिकेका छन् ।

 

समग्रमा भन्ने हो भने यो एकताले हामी कम्युनिस्ट आन्दोलनको कम्युनिस्ट विश्वविद्यालय बनाएका छौं । नेकपा कम्युनिस्ट पार्टीकै एउटा विश्वविद्यालय हो । हिजो स्कुल थिए, कलेज थिए, अब हामीले विश्वविद्यालय बनाएका छौं । अब हाम्रो स्तर राजनीतिक, वैचारिक, सैद्धान्तिक हिसाबले, नेतृत्वको सामूहिक हिसाबले, भावनात्मक हिसाबले हिजोभन्दा हामी दुई÷चार स्टेप माथि आएका छौं ।

 

विश्वविद्यालय भन्नुहुन्छ तर अधिकांश नेताले जिम्मेवारी पाएका छैनन्, गाउँदेखि केन्द्रसम्म जिम्मेवारीका साथै कुनै कार्यक्रम छैन, एकता टुंगो नलागेको अवस्थामा यो विश्वविद्यालय कसरी राम्रो सञ्चालन हुन्छ ?

पार्टी निर्माण, परिचालन, व्यवस्थापनको हिसाबले अहिलेसम्म जे भयोभयो, अब हामी त्यस मामलामा आँधी तुफान निकालेर अघि बढ्छौं ।

 

 

नेकपाको चुनावी घोषणापत्रमा समाजवादको स्थापनाका लागि विभिन्न राम्रा योजना समेटिएका छन् । संविधानले पनि समाजवादलाई स्वीकार गरेको छ । तर, सरकार सञ्चालनको एक वर्ष पुग्नै लाग्दा सरकारको प्राथमिकतामा ती विषय पर्न सकेन भनेर जनगुनासो आइरहेका छ नि त ?

हाम्रो पार्टी नेतृत्वको सरकार पार्टी घोषणापत्र, नेपालको संबिधान, ऐन कानुनको मार्ग निर्देशनमै चलेको छ । हामीले २०६२÷६३ को जनआन्दोल र १० वर्षे सशस्त्र विद्रोहबाट जुन संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । एउटा जनवादी क्रान्तिको मुख्य चरण प्रवेश गरेका छौं । अब यो अवस्थाबाट अघि बढ्दै समाजवादतर्फ जाने हाम्रो लक्ष्य छ । त्यसका निमित्त नेपालमा भएको मूलतः वर्गीय विभेदलाई हटाउने, सामाजिक विभेदलाई हटाउने, लैंगिक विभेदलाई हटाउने, भौगोलिक विभेदलाई हटाउने हाम्रो सरकारको दृष्टिकोण त्यही हो ।

 

त्यसका निमित संविधानमै कतिपय कुरा पर्याप्त छ, त्यही आधारमा जान्छौं । कतिपय नयाँ ऐन कानुन बनाउनुपर्छ, त्यो आधारमा जान्छौं । जस्तै, संसद्मा हामीले भूमिको ऐन सम्बन्धमा छलफल गरिरहेका छौं । त्यसमा कसरी तल्लो वर्गलाई हित हुने भन्ने विषयमा केन्द्रित छौं । अर्थतन्त्रको विषयमा कसरी मध्यमवर्ग, तल्लो वर्गलाई माथि उठाउने भन्ने कुरामा हामी जान्छौं । राज्यको तर्फबाट दिनुपर्ने सुविधाहरू कमजोर वर्गलाई दिन्छ । पुँजीपति वर्गलाई निर्विवाद रूपमा देशमा लगानीको वातावरण बनाउनुका साथै सहकारी क्षेत्रलाई हामीले त्यही मोडेलअनुसार लान्छौं । समाजवादतर्फ जाने बाटो त्यही हो ।

 

त्यसपछि शिक्षा, स्वास्थ्यमा सरकारको लगानी अभिवृद्धि गर्ने हामीले नीति लिएका छौं । त्यो अहिले नै सबै हुन नसके क्रमशः हामी त्यो दिशामा अघि बढ्छौं । त्यस्तै, युवालाई स्वरोजगार बनाउन, तालिमदेखि आवश्यक सीपसहित ऋण दिने राज्यको तर्फबाट हुन्छ । त्यसैगरी, पछि परेका वर्ग, समुदाय, क्षेत्र लक्षित थप कार्यक्रम सरकारले एकपछि अर्को ल्याउँछ । यसैगरी, क्रमशः समाजवादको आधार बनाउँदै अघि जाने हो । सरकार पनि मूलतः त्यही दिशामा केन्द्रित छ ।

 

योजना त मीठो सुनाउनुभयो तर नेकपाकै नेताकार्यकर्ता सन्तुष्ट नभएको अवस्थामा आमनेपालीलाई कसरी 
सन्तुष्ट बनाउने ?

सरकारप्रति जनताको धेरै ठूलो अपेक्षा छ । कतिपय कुरा हामी आफ्नै कठिनाइले पूरा गर्न सकिरहेका छैनौं । केही प्रतिकूलता पनि छन् जो जनतालाई हामीले बुझाउँछौं । खासगरी नेपालमा कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार बनेपछि कतिपय देशभित्र एवं देशबाहिरका व्यक्ति र शक्तिहरू खुसी छैनन् र हामीलाई असफल बनाउन खोजिरहेका छन् । अनेक तिकडम गर्दै असफल बनाउन कोसिस हुँदै छ । त्यसलाई पनि हामी परास्त गर्दै अघि बढ्नुपर्छ । मुख्य कुरा जनताको ठूलो हिस्सालाई सन्तुष्ट बनाउँदै हामीहरू जनतासँगै अघि बढ्छौं । हामीले पनि हाम्रा कमिकमजोरी सच्याउँदै राम्रो कुरालाई कार्यान्वयन गर्दै अघि बढ्छौं ।

 

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा सरकारले लगाइरहेको छ तर भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारले सकिरहेको छैन नि ?

हाम्रा प्रधानमन्त्रीज्यूले म भ्रष्टाचार गर्दिनँ, अरू कसैले ग¥यो भने सहिँदैन भनेर भन्नुभएको छ । नेकपाले प्रधानमन्त्रीको त्यो भनाइ, उद्घोषको स्वागतका साथै पूर्णरूपमा समर्थन गर्छ । त्यो कार्यान्वयन गर्न हरसम्भव पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता म पार्टीको तर्फबाट व्यक्त गर्छु । उहाँ अघि बढ्नुप¥यो, पार्टीले सधैंभरि साथ रहँदै सहयोग गर्छ ।

 

सरकार गठनको एक वर्ष पुग्न लाग्यो तर भ्रष्टाचार र सुशासनको क्षेत्रमा त्यसअनुसार प्रगति भएको
देखिँदैन नि ?

हेर्नुस्, पहिला संयुक्त सरकार हुन्थ्यो । संयुक्त सरकार हुँदा तैं चुप मै चुप हुन्थ्यो । तर, अहिले सानासाना कुराको पनि समाचार आएको छ । किनकि, प्रतिपक्षी पनि छ । यति कुरा के भन्छु कि नेपालमा भ्रष्टाचार पूर्णरूपमा उन्मूलन हुन सकेको छैन । भ्रष्टाचार हाम्रो महाशत्रु हो । जो सरकार, पार्टी, नेता, कर्मचारी, पुलिस, प्रशासन, अदालत सबैतिर छ ।

 

सर्वत्र भ्रष्टाचार छ । किनकि, भ्रष्टाचार आज हाम्रो मुख्य शत्रु हो । तर, हामी हाम्रो सरकार बनाएर आइसकेपछि भ्रष्टाचारलाई न्यूनीकरण गर्ने, सुशासनलाई प्रत्याभूत गर्ने, र राजनीतिक नेतृत्वलाई भ्रष्टाचार अपराधीकरणबाट मुक्त गर्ने त्यो कुरामा हामी दृढ छौं । हाम्रो सरकार त्यतातिर जान्छ । प्रधानमन्त्रीले जुन उद्घोष गर्नुभएको छ, त्यस सन्दर्भमा त्यो ज्यादै महŒवपूर्ण छ । र, म फेरि पनि भन्छु प्रधानमन्त्रीलाई त्यस मामलामा पार्टीको तर्फबाट शत प्रतिशत सहयोग हुन्छ ।

 

सहयोग हुन्छ भन्नुहुन्छ तर केही समयअघि उहाँले अरिंगालजस्तो बन्नुपर्ने आग्रह गर्नुभयो, पार्टीबाट प्रधानमन्त्रीलाई सहयोग नभएको जस्तो देखिन्छ नि ?

मौरी बन्ने, अरिंगाल बन्ने, कमिला बन्ने, त्यो भनेको के हो भने एकदम एकगठ भएर लागौं भन्ने नै हो । एकताबद्ध भएर लागौं भनिएको हो । त्यसकारण, आज हाम्रो पार्टी सरकारको सन्दर्भमा एकताबद्ध छ । यो सरकार हाम्रो हो, नेकपाको हो, नेपाली जनताको हो । यो सरकारप्रति आमजनताको आशा, भरोसा तथा विश्वास छ । विभिन्न अपेक्षा पनि छ ।

 

यो सरकार अमुक अमुक नेताको भविष्यको लागि मात्रै नभई सिंगो नेपाली जनताको भविष्यका लागि हो । आमनेपालीको सरकार भएकाले यो सरकारलाई सफल बनाउनु सिंगो पार्टीको दायित्व हो । यस हिसाबले तलदेखि माथिसम्मका, हिमालदेखि तराइसम्मका, मेचीदेखि महाकालीसम्मका कोही पनि निष्क्रिय बन्न पाउँदैन । सक्रियतापूर्वक अघि बढ्नुपर्छ ।

 

‘भेनेजुएला’ प्रकरणमा पार्टी दुई चिरामा विभाजन भए जस्तो देखिन्छ किन ?

यस विषयमा पार्टी दुई चिरामा विभाजन छैन । पार्टी र नेता पनि एक नै हुनुहुन्छ । यसमा दुइटा अध्यक्षलाई जुधाउन खोजिएको छ । बिलकुल त्यो गलत हो । दुइटा अध्यक्षको स्प्रिट, भावना आफ्नोआफ्नो ठाउँमा सही छ । एक जना अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, उहाँले सरकारको आँखाबाट भेनेजुएलाको मुद्दा हेर्नुभएको छ र सरकारले दिनुपर्ने प्रतिक्रिया उहाँले दिनुभएको छ । अर्का अध्यक्षले पार्टीको तर्फबाट दिनुभएको छ, उहाँले पार्टीको आँखाबाट हेर्नुभएको छ र पार्टीको स्थापित मान्यताको आधारमा वक्तव्य दिनुभएको छ । त्यसैले, दुवै वक्तव्य सारमा एउटै हो । त्यसमा त्यसको रंग उतार्ने काम र चियाको कपमा तुफान निकाल्ने यी दुवै कुरा गलत छन् ।

 

सारमा एउटै हो भन्नुहुन्छ तर प्रधानमन्त्रीले त अर्को अध्यक्ष चिप्लिनुभयो भनेर भन्नुहुन्छ, चिप्लिएकै हो त ?

यो केसमा पार्टीको नेतृत्वलाई जुधाउने कुरासँग म सहमत छैन । यस्ता अन्तर्राष्ट्रिय मुद्दामा सिंगो मुलुक नै एक हुनुपर्ने ठाउँमा पार्टी नेतृत्वलाई जुधाएर त्यसबाट आनन्द महसुस गर्ने, रमाइलो महसुस गर्ने काम त्यो मलाई ठीक लाग्दैन ।

 

होइन, एउटै विषयमा दुईथरिका कुरा किन चिप्लियो भन्ने कुराले राम्रो सन्देश गएको छैन नि ?

होइन, दुइटा कुरा छैन, पार्टीले पार्टीको तर्फबाट र सरकारले सरकारको तर्फबाट एउटै कुरा आएको छ । कोही चिप्लेको पनि छैन, कोही लड्या पनि छैन । केपी ओली र प्रचण्ड कमरेड दुवै आआफ्नो ठाउँमा ठीक हुनुहुन्छ ।

 

संविधान संशोधनको सर्तसहित फोरम नेपाल सरकारमै सहभागी छ, राजपा नेपालले समर्थन गरेको छ, नेकपा नेतृत्वको सरकारले संशोधन कहिले गर्ने ?

संंविधान गीता, कुरान, बाइबल, वेद केही पनि होइन, त्यो लचकदार दस्तावेज हो । लचकदार दस्तावेज भएको हुनाले आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुँदै जान्छ ।

त्यो कहिले हुन्छ ?

औचित्य र आवश्यकताको आधारमा हुन्छ ।

 

डा. गोविन्द केसीको माग पूर्णरूपमा पूरा किन भएनन् ?

उहाँको पनि माग पूरा भयो । जुन चिकित्सा शिक्षा विधेयक बन्यो, उहाँको मागभन्दा एक तहमाथि, अझै प्रगतिशील, अझै क्रान्तिकारी, अझै सुधारमुखी, विद्यार्थीमुखी, जनमुखी विधेयक बनेको छ । त्यो भएरै उहाँले पनि आफ्नो अनशन अन्त्य गर्नुभएको छ । यो विषयमा थप चर्चा गरिरहनुपर्ने आवश्यकता छैन । विधेयकको क्रमशः कार्यान्वयन गर्दै जाने, यो विधेयकको कार्यान्वयनमा गोविन्द केसी, चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता, विभिन्न संघसंगठनको सहयोग हामीलाई चाहिन्छ ।

 

(राजधानी दैनिकबाट सुभाष साह)

 

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले