गगन थापाले भने नेपालको मन्त्रिमण्डल भ्रष्टचारीको क्लबजस्तो
नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा संस्थागत भ्रष्टचारको सुरुवात गरेको दावी गरेका छन्।शनिबार गोरखामा आयोजित सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले विहानदेखि बेलुकासम्म सुशासनको नारा भट्याए पनि सबैभन्दा बढी भ्रष्टचार यही सरकारका पालामा भएको दावी गरे। ‘प्रधानमन्त्रीका दायाँबायाँ, तलमाथि सबैतिर भ्रष्टै भ्रष्ट छन्, प्रधानमन्त्रीको कोर टिममा हेर्नुहोस् भ्रष्टचारी नै भ्रष्टचारी नै छन्, उनले भने, ‘नेपालमा संस्थागत भ्रष्टचारको सुरुवात यो सरकारले ग¥यो।’
उनले प्रधानमन्त्रीले संसदमा उभिएर आफूले भ्रष्टचारीको अनुहार नहेर्ने बताएको भन्दै आफूले उतीबेलै ऐनामा आफ्नो अनुहार नहेर्नुहोला भनेको स्मरण समेत गरे। उनले नेपालको मन्त्रीमण्डल भ्रष्टचारीको क्ल्बजस्तो भएको बताए। सबै मन्त्रालयले भ्रष्टचार गर्ने भन्दै उनले भने, ‘विमान खरिद गर्न गयो त्यही भ्रष्टचार, खोलामा बिजुली निकाल्न गो त्यही भ्रष्टचार, मान्छे बाहिर पठाउँदा भ्रष्टचार, मान्छे भित्राउदा पनि भ्रष्टचार।’
सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका नेता थापाले सरकारले इतिहासमै अनुकूल वातावरण प्राप्त गर्दा पनि काम गर्न नसकेको आरोप लगाए। ‘प्रधानमन्त्री ओली सबैभन्दा अनुकूल वातावरण पाएका प्रधानमन्त्री हुन्’, उनले भने, ‘कुनै पनि राणा प्रधानमन्त्रीले पनि यति अनुकूल वातावरण पाएका थिएनन्।’ उनले राणा प्रधामन्त्रीहरु कतिबेला मारिने हुँ भन्ने त्रासमा रहेको र दुई तिहाइको नेतृत्व सम्हालेका वीपी कोइरालको सरकारले पनि त्यो अनुकूलको वातावरण प्राप्त नगरेको दावी गरे।
‘दुई तिहाइको सरकार छ, ६ वटा प्रदेशमा प्रदेश सरकार, एउटामा साझेदार सरकार र उहाँहरुकै भाषामा कमजोर प्रतिपक्ष’, उनले भने, ‘देश विदेश सबैतिर अनुकूल वातावरण हुँदा पनि सरकारले काम गर्न सकेन।’
ओली प्रधानमन्त्री भएपछि आफूले एक वर्ष सहयोग गछौं भनेर पहिलो पटक संसदमा भनेको भन्दै उनले त्यो एक वर्ष पुरा हुन लागेको बताए। उनले एक वर्षको अवधिमा सरकार शान्ति सुरक्षा, नागरिकका अपेक्षा पूरा गर्न र सुशासन कायम गर्न पूर्ण रुपमा असफल भएको बताए।
निर्मला पन्त हत्या प्रकरणलाई जोड्दै नेता थापाले प्रधानमन्त्री एक पटक पनि पीडितलाई भेट्न नपुगेको र अनुसन्धानमा अग्रसरता नदेखाएको आरोप लगाए। ‘प्रधानमन्त्री तीन दिनसम्म सोल्टी होटेलमा विदेशी पाउनासँग बस्नु भयो तर हेलिकोपटर लिएर एक पटक निर्मलाका बाबुआमालाई भेटन पुगेको भए, गएर तिम्रो छोरी मेरो पनि छोरी हो दोषीलाई कारबाही हुन्छ भनेर भनेको भए कांग्रेसले निर्मलाको माग चर्काउने पनि थिएन र निर्मलाका आमाबा सडकमा आउने अवस्था हुने थिएन’, उनले भने।
उनले नागरिकले सरकारकै कारण जनताले शान्ति सुरक्षाको महसुस गर्न नपाएको बताए। उनले राजनीतिक नेतृत्वको कारणले गर्दा प्रहरीको अनुसन्धान र सिंगो संस्थामाथि नै आशंका भएको बताए। प्रहरीले अपराधी पक्राउ गरेर ल्याए पनि विश्वास गर्ने वातावरण नभएको बताए।
बल्झियो भारत-चीन सीमा विवाद, मोदीको अरुणाञ्चल भ्रमणमा चीन जनायो कडा आपत्ति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ ।चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित गर्दै आज जारी गरिएको विज्ञप्तिमा चीन र भातबीच सीमा क्षेत्र प्रष्ट रहेको भन्दै ‘सो कल्ड अरुणाञ्चल प्रदेश’ मा भारतीय नेताहरुको भ्रमणमा चीन सरकारको आपत्ति रहेको टिप्पणी गर्नुभएको छ ।
विदेशमन्त्री छुन्याइङले विज्ञप्ति जारी गर्दै भारतले दुई देशको साझा स्वार्थलाई ख्याल गर्नुपर्ने भन्दै चीनको मामिलामा सम्मान गर्नुपर्ने उल्लेख गर्नुभएको छ । प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाञ्चल प्रदेशमा ४ हजार करोडको आधारशिला कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
मोदीले सरकारले यस क्षेत्रमा हाईवे, रेलवे, एयरवे लगायत विस्तारमा महत्व दिएको बताउनु भएको थियो । चिनियाँ पक्षको भनाइपछि नयाँदिल्लीबाट विदेश मन्त्रालयले अरुणाञ्चल प्रदेश भारतको भूभागबाट छुट्नै नसक्ने महत्वपूर्ण क्षेत्र रहेको भन्दै प्रतिक्रिया जनाएको छ ।
अरुणाञ्चल प्रदेशमा भारतीय नेताहरु यसअघि पनि पटक पटक भ्रमण गर्दैआएका छन् । चीनले भने अरुणाञ्चल प्रदेशको पूर्वी उत्तर भूभागलाई तिब्बतको क्षेत्र दावी गर्दैआएको छ ।