प्रचण्डले ल्याएको तरंगले पार्टी फुट्दैन बरू गतिरोध तोड्छ
निर्वाचनमा गठबन्धन र पार्टी एकतायताको १६ महिनासम्म चुप देखिएका पुष्पकमल दाहालको यति कडा अभिव्यक्ति आउने अवस्था कसरी बन्यो ?
–अध्यक्षले बोलेको कुरामा खासै प्रतिक्रिया के दिऊ ! केही सोचेरै बोल्नुभएको होला । तर, पार्टी एकताले जुन गति लिनुपथ्र्यो । लिन सकेन । यसले कार्यकर्तामा मात्रै होइन, नेतामा पनि निराशा देखिन थालेको संकेतका रुपमा लिनुपर्छ । पार्टी एकता हुँदै गर्दा तीन महिनाभित्र सवै एकीकरण सक्ने घोषणा थियो । कार्यान्वयन हुन नसकेपछि कार्यकर्तामा निराशा देखिएको छ । त्यसको केही प्रभाव नेताहरुमा परेको हो कि जस्तो लाग्छ । नेताहरुको सार्वजनिक अभिव्यक्तिबाटै त्यसलाई बुझ्न सकिन्छ ।
पार्टी संगठनका विभिन्न तहबाट निराशाको भाषा बोलिनु र स्वयम् विगतका एउटा फ्याक्टरको सुप्रिमोबाट आएको अभिव्यक्तिलाई निराशाको अभिव्यक्ति भनेर मात्रै लिनु मिल्ला र ?
–अहिले त्यसभन्दा पर जानु हुँदैन । सोंच्नु पनि हुँदैन ।
तर, यो १६ महिनासम्म पूर्व माओवादीको भाषा बोल्नु भएको त थिएन, प्रचण्डले । यो परिस्थिति हो, एकाएक बोल्नुपर्ने ?
–परिस्थितिले उहाँलाई त्यहाँ पु¥याएको छ । यसअघि के विषयमा कडा बोल्ने ? एउटा अध्यक्षले सरकार चलाउनुभएको छ र एउटा अध्यक्षले पार्टी । उहाँहरुकै सल्लाहमा सरकार र पार्टी चल्दै आएको छ । अध्यक्ष प्रचण्ड फुल्ली पार्टी काममा हुनुहुन्छ । उहाँबाटै पार्टी एकतामा अझ तदारुकता आउनुपर्छ भन्ने हाम्रो पनि आशा हो । सायद, विविध कारणले सक्नु भएको छैन । यी सवै परिस्थितिले यस्ता अभिव्यक्ति दिनुपर्ने ठाउँमा पु¥याएकी जस्तो लाग्छ ।
प्रचण्ड सानातिना गुटबन्दी गरेर आएका नेता पक्कै होइन । लामो समय पार्टी नेतृत्व गरेर आएका हुन् । अहिलेको परिस्थितिलाई कुनै गुटबन्दी र नेता विशेषका रुपमा मात्रै लिन सकिन्छ ?
–मैले जे भने त्यही पार्टी हो भन्ने हेडक्वाटर प्रणालीबाट हुँदैन भनेरै पार्टी एकता भएको हो । ०६४ मा त्यस्तो अवस्थाको पार्टी ०७० मा यस्तो भयो । अव, ०७४ कहाँ पुग्ला भन्ने बुझाइले नै पार्टी एकता भएको होला । हुनत, अहिले नेकपामा पनि हेडक्वाटरकै अवस्था बन्ने अवस्था आएको छ । पार्टी प्रणाली भन्दा व्यक्ति हावी हुने ।
हामीले भन्दै आएका छौं । प्रणाली बलियो हुनासाथ नेतृत्व बलियो हुन्छ । फलानाले गर्दा पार्टी एकता भयो । फलानाले गर्दा बहुमत आयो भन्ने ठीक होइन, यसको विरोध हुँदै आएकै छ । अहिले त, प्रधानमन्त्रीले बोलेको कुरालाई पनि व्यक्तिको कुरा हो, संस्थागत निर्णय त सचिवालयले गरिसकेको छ भन्ने अवस्था आयो । यसले कमिटी प्रणालीलाई संस्थागत गर्न सकेका छौं कि छैनौं, पार्टीमा सवैको स्वामित्व लिन सकेका छौं त ? आजको समीक्षाको विषय हुनुपर्छ ।
पार्टी प्रणालीमा पार्टी चलेको थिएन, चल्नुपर्छ भन्ने कुरा भयो । तर, कार्यकर्ता तहमा अनिष्ट त्रास देखिन थाल्यो नि ?
–अनिष्टको बाटोतिर जादै जादैन । अनिष्टको उकाली–ओराली र घामछायाँ भोगेका नेताहरु हुनुहुन्छ । दूरदृष्टि देखेर पार्टी एकता गर्नुभएको छ ।
तर, विगतमा फुटको क्षतिबाट नेताहरू डराएका देखिएन । एउटै नेताको जीवनमा पनि त्यो भइरह्यो । अहिले चाँही सुध्रिसके भन्ने के आधार ?
–हिजो सैद्धान्तिक आधार र कार्यक्रम नै फरक थियो । तर, तत्कालीन एमाले र माओवादीले फरक भएर बस्नुको अर्थ थिएन । संविधान निर्माण भइसकेपछि सैद्धान्तिक आधार बनेको थियो । यसकारण पार्टी एकता भएको छ । अर्को, फुटको सिकाइबाट अहिले नेकपा बनेको हो ।
तर, विगतलाई हेर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीहरू अरु देशमा भएका घटनालाई हेर्ने दृष्टिकोणबारे विवाद गर्ने अनि पार्टी विभाजन गर्ने गरेकै हुन् । अहिले भेनेजुएलाको प्रकरण आयो ?
–कम्युनिस्टहरू अर्को देशको घटना हो भनेर आँखा चिम्लेर बस्दैनौं । यो अन्तरराष्ट्रियतावादको सिद्धान्त नै हो । अरु देशबारे बोलेको कुरालाई गलत ढंगले व्याख्या हुँदै आएको छ । हामीले हाम्रो सैद्धान्तिक आधार र राष्ट्रिय परिस्थितिलाई पनि ध्यान दिनुपर्छ ।
तपाइँले अव नेपालका कम्युनिस्ट पार्टी फुटको अवस्थातिर जाँदैन भन्नुभयो । तर, विगतमा तत्कालीन एमाले होओस् अथवा माओवादी केन्द्र सवै तथ्य र परिणाम बुझेर पनि फुटेका थिए ?
विवाहका बेला पारपाचुकेको कुरा धेरै गर्दैनन् । अहिले त्यतातिरको कुरा गर्दैनौं । अहिले पार्टीको एकता प्रक्रिया टुंग्याउने कुरा महत्वका हुन् । तर, कार्यशैली र अहिलेको परिस्थिति बदल्न जरुरी छ ।
पूर्वतिरका एउटा प्रसंग– बैठकमा कुनै कमरेडले रिर्पोटिङ गर्न थाल्नुभएछ । पार्टी बेलुकी फलाना ठाउँमा सुत्यो, बिहान यसो ग¥यो, दिउँसो यसो ग¥यो । कुरा के रहेछ भने रिर्पोटिङ गर्ने कमरेड पार्टी सचिव हुनुहुँदो रहेँछ । उनले जे–जे गरेको हो, त्यसैलाई पार्टीले ग¥यो भन्नु हुँदो रहेछ । अहिले त्यस्तै–त्यस्तै अवस्था अहिले नेकपामा देखिन थालेको छ ।
पार्टीको तल्लो पंक्ति अहिले नेतृत्वमा देखिएको समस्याबाट चिन्तित छन् । किन, नेतृत्वले यो तथ्य बुझ्दैनन् ?
–भावना नै बुझेनन् भन्ने त लाग्दैन । किनभने, वंशजको आधारमा उहाँहरु नेता बन्नुभएको होइन । केही परिस्थितिले उहाँहरुलाई अल्झाएको छ । व्यक्त अव्यक्त डरत्रास, प्राप्त पदहरुको सुरक्षाको चिन्तालगायतले खुलेर काम गर्न दिइएको छैन । वरिपरिको घेरा र घेराको सुरक्षाले एकता प्रक्रियालाई अवरोध पुगेको छ । तर, जति ढिलो हुन्छ उति धेरै नेतृत्वको आलोचनाको हुन्छ ।
अध्यक्ष केपी ओली आफू घेराबन्दीमा परेको, एकता भाड्ने शक्तिहरुको चलखेल भइरहेको कुरा गर्नु हुन्छ । को हो, यो शक्ति ?
–यो कुरामा पटक्कै विश्वास गर्दिन । हामीकहाँ आफ्नो अयोग्यता छोप्न तर्क गर्ने चलन छ । हिजो काम गर्न सकिएन भने दरबारतिर औला तेस्र्यान्थ्यो । दरबारले षडयन्त्र गरेको छ भनिन्थ्यो । यसपछि एकअर्का पार्टीलाई दोष दियौं । अनि, अर्को देशलाई दोष दिने काम भयो । यो एकदम गलत कुरा हो । तर, अहिले संस्कृति नै बनिसकेको छ । ढिलो गर्ने उहाँ, बैठक नबोलाउने उहाँ, संस्थागत नगर्ने उहाँ अनि खेल्ने अर्को हुन्छ ?
नेकपाका अध्यक्षले जस्तो अभिव्यक्ति दिनुभयो । यसले समाज र पार्टी पंक्ति तरंगित छ । यसलाई रोक्न केही गर्नुपर्छ कि आफैं मत्थर भएर जान्छ ?
–शान्त तलाऊमा सानो ढुंगा हान्दा पनि तरंग आउँछ । अध्यक्ष प्रचण्डको अभिव्यक्तिले तरंग ल्याएको छ । मलाई लाग्छ, कहिलेकाँही यस्ता तरंगले गतिरोधलाई तोड्नलाई मदत गर्छ । यो तरंगले पनि अहिलेको गतिरोधलाई तोड्ला भन्ने आशा गर्छु ।
शान्ति प्रक्रियाबारे लामो प्रसंग निकालेर माओवादी सकियो भन्ने सोचिएको छ भने फेरि माओवादी जन्मन्छ । त्यो भयानक हुन्छ भन्नुलाई शान्त तलाऊमा हानिएको सानो ढुंगा मात्रै भन्न सकिएला र ?
–यस्तो भयाबह रुपमा लिएको छैन । किनभने, उहाँले हामीले गर्न सकेनौं भने अर्को जन्मन्छ भन्ने अर्थमा भन्नुभएको हो । यसलाई नकारात्मक रुपमा लिन जरुरी छैन ।
माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, भीम रावल हुँदै अव त अध्यक्ष प्रचण्ड नै केपी ओलीप्रति असन्तुष्ट देखिनुभयो । यसले गतिरोध तोड्ने भन्दा पनि गतिरोध सिर्जना गर्ने त हुँदैन ?
–यति धेरै नेताहरुले ठीक भइरहेको छैन है भन्नुको अर्थ पार्टीको शीर्ष तहमै चासो र चिन्ता बढेको छ । अध्यक्षले नै बोलेपछि त गम्भीरतापूर्वक लागौं है भन्ने विषय नै आउला । एकता प्रक्रियाले गति बढाउला भन्ने लाग्छ ।