मलेसियाका क्लबमा नेपाली युवतीको दर्दनाक कथा (भिडियो)



 

हरेक नागरिकलाई रंगीन सपना देख्‍ने छुट छ। त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडिरहेका छन्। सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवायुवती विदेशिन बाध्य पनि छन्। भविष्यमा जीवनलाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौवन विदेशी भूमिमा बेच्‍न बाध्य छन् लाखौं नेपाली युवायुवती। सबैभन्दा धेरै नेपाली भएको देश हो, मलेसिया। त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ। मलेसिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहालीलाग्दो छ।

 

त्यसमा पनि नेपाली युवतीको कहानी झनै दर्दनाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती। यी तीनै शब्‍द एक्कासि छुट्टाछुट्टै सुन्दा आममानिसको दिमागमा विछट्टै पीडादायी चित्र बन्छ। तर मलेसियाको डान्सबार रोज्‍नु उनीहरुको बाध्यता हो। नेपालको राजनीतिक खिचातानी, हुनेखानेहरुको रजगजमा रमाएका केही थान मानिसभन्दा पर बस्‍ने नेपाली हुन् मलेसिया पलायन हुने। जसले बाध्यतालाई आफ्नो भाग्य ठानेका छन्।

 

न त हातमा सीप छ, न नेपालमा कुनै रोजगारी, न त पढ्‍नसक्‍ने आर्थिक हैसियत, न पढाउन सक्‍ने परिवारको स्थिति। दुई छाक जोहो गर्न दश ठाउँ चहार्नुपर्ने, बिरामीमात्र हुँदा मृत्यु शय्या खोज्‍नुपर्ने बाध्यता, बासको ठेगान छैन, कपासको कुरै छोडौं, वर्षमा एकजोर झुत्रो पनि गार्हो पर्ने स्थिति पार लगाउन मलेसियालगायतका खाडी देशलाई गन्तव्य ठान्छन् धेरै युवा पुस्ता। यस्तै र यस्तै कयौं समस्यालाई पार लगाउन विभिन्‍न बाटो हुँदै मलेसियाका डान्सबारमा पुगेका नेपाली युवतीको बिडम्वनापूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ।

 

मलेसियाको राजधानी क्‍वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्‍न उज्यालो अनि त्यही उज्यालोभित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्रतिर लाग्यौं। जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्‍ने सूचना हामीलाई थियो।

म एक गाँस भात निलेर सुत्‍ने बेलामा क्‍वालाम्पुरको कोलाहल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्सभित्रे छिरें। आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। थोरै सम्हाल्दै त्यहाँको दृश्य हेरें।

 

केही थान सुन्दरी स्टेजमा सुडोल नितम्ब र पोटिला छाती हल्लाएर नाचिरहेका थिए। ग्राहक सोफामा बसेर आँखा झिम्क्याइरहेका थिए, इशारा गरिरहेका थिए। चुरोटको धुवाँ, मदिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवानी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने विषालु आँखाहरु।

 

तर, ती सुन्दरीको सपना भने बिल्कुल फरक छ। नेपालको विकट गाउँबाट करोडौं सपना बोकेर खाडीका डान्सबारमा पुगेका युवतीहरुले पाएको पैसाले भाइको पढाइको शुल्क तिर्नु छ, आमाको फरिया फेर्नु छ, बाबुको च्यातिएको टोपी फेर्नुछ अनि र फेर्नुछ वर्षौंदेखि उद्रिएको आफ्नै भाग्य र जीवन भोगाइ।

तीनै डान्सबारमा नाच्‍ने नेपाली युवतीमध्ये एक हुन्, सरिता (नाम परिवर्तन)। उनले ठेगाना नखुलाइदिन आग्रह गरिन्। उनी निकै निराश र थोरै मुस्कानसहित मेरो सामु बसिन्। मैले सोधें, ‘कसरी यहाँ आइपुग्‍नुभयो?’

उनले सुरु गरिन्-

 

म गरिब परिवारमा जन्मिएँ। बुबाले जसोतसो म, भाइ र बहिनी अनि आमाको हेरचाह र दैनिकी जोहो गर्नुहुन्थ्यो। जीविका चलाउन निकै कठिन थियो। भाग्यले पनि गरिबलाई मात्र दुःख दिन्छ। (उनी थोरै सुस्ताइन्) अभागी कर्म भन्नु कि खै के भन्‍ने दिदी? हामी सानै हुँदा बुबा अरुको खेतमा काम गर्ने क्रममा करेन्ट लागेर बित्‍नुभयो। त्यो कालो दिनदेखि जिन्दगीमा अन्धकार छायो। बुबाबिनाको जिन्दगी कस्तो हुन्छ?

 

उनले आँखाभरि आँसु पारिन्। म पनि निकै भावुक भएँ। अनि यसरी निराश हुनु हुँदैन भनेर ढाडस दिएँ। केही बेर सन्‍नाटा छायो। एकातिर केही हुल मानिस डान्सबारको संगीतमा रंगीन रातको स्वाद लिइरहेका थिए भने म सरिताको दुःख र पराइ भूमिको डान्सबारमा नाच्‍न बाध्य नेपाली चेलीको भोगाइ खोतल्दै थिएँ।

 

उनले आँसु पुछ्दै भनिन्, बुबा बितेपछि आमा अर्काको घरमा काम गर्न जानुहुन्थ्यो। त्यही क्रममा आमालाई कसैले काठमाडौंमा उनको आफन्तको घरमा काम गर्ने मान्छे चाहिएको छ भनेर सुनाइदिएछ। आमाले आएर मलाई सुनाउनुभयो। घरको जेठो सन्तान, परिवारको जिम्मवारी अनि भाइबहिनीलाई पढाउनुपर्ने। सबै कुरा सम्झिएँ अनि काठमाडौं अर्काको घरमा काम गर्न जान राजी भएँ। त्यतिबेला म  १२ वर्षकी मात्र थिएँ। घरबाट कहिल्यै बाहिर ननिस्किएको म। बुबा गुमाएको पीडा एकातिर थियो भने अर्कोतिर साना भाइबहिनी अनि आमासँग छुट्टिनुपर्ने। त्यो दिन सम्झिँदा अहिले पनि…. उनी फेरि निःशब्द भइन्। आँखा रसाएर आए।

भिडियो

 

भनिन्, अरुको घरमा काम गर्न बसेँ, त्यो घरको अंकल-आन्टीले स्कुल पनि पढाइदिनुभयो। परिवार निकै राम्रो थियो। आफ्नै परिवारजस्तो लाग्थ्यो। बिहान स्कुल जान्थें। दिउँसो स्कुलबाट आएर घरको काम गर्थें। यसरी एसएलसी पास गरें। प्लस टु पनि सकाएँ। जुन घरमा काम गर्न बसेको थिएँ त्यहाँका अंकल–आन्टीले पढाइमा निकै सहयोग गर्नुभयो। तर, मैले मात्र पढेर भएन। मसँगै भाइबहिनीको पनि भविष्य छ भन्‍ने सोचें। म बिए दोस्रो वर्षमा पढिरहेकी थिएँ। पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे। उहाँहरुले पढाइ सकेर जान सल्लाह दिनुभयो। तर, मेरो बाध्यता थियो अनि मरो करमा उहाँहरुले घर जान अनुमति दिनुभयो। म गाउँ फर्किएँ।

 

गाउँमा दुःख र समस्या उही र उस्तै थिए। घर कसरी धान्‍ने? भाइबिहिनी कसरी पढाउने भन्‍ने थियो। केही समय गाउँकै स्कुलमा पनि पढाएँ। तलब आठ हजार रुपैयाँ थियो। त्यसले घर अनि भाइबिहिनीको पढाइले पुगेन। त्यसपछि मसँगैको साथी विदेश जाँदैछ भन्‍ने थाहा पाएँ। म उनलाई भेट्न गएँ। जाने भए म कुरा गरिदिन्छु भनेर भनिन्। मैले पनि गाउँको जागिरको तलब र घरको दुःख सम्झेर हुन्छ भनेँ। मलाई पठाउन एजेन्ट भेटाइदियो र एक महिनाको तलब पचास हजार भन्‍ने कुरा गर्यो। पासपोर्ट बनाएँ र एजेन्टलाई दिएँ। सबै उसैले मिलायो र म दुबई गएँ।

 

पहिले घर छोडेर काठमाडौं आएकी थिएँ। त्यहाँ परिवारसँगै बसेको महसुस भएको थियो। त्यसपछि देश छोडँे। सारै नरमाइलो लाग्यो। अनि सम्झिन्थे– घरको दुःख र मन बुझाउँथे। मैले त सोचकी थिएँ काम सजिलै हुन्छ होला। तर मैले सोचेभन्दा निकै फरक रहेछ काम। म पहिलो दिन कामको विषयमा बताएपछि त छाँगाबाट खसेजस्तै भएँ। दुबईका गगनचुम्बी महलजस्तै सपना बोकेर आएकी म उनीहरुले भनेको काम गर्नुबाहेकको विकल्प मसँग थिएन। त्यो बेला १९ वर्षकी थिएँ।

 

सारा दुख बिर्सेर सुखमा रमाउने सपना थियो मेरो। तर, आफ्नै सपनाले आफैंलाई थिचेजस्तो महसुस भयो। एकदम नै नौलो संसारमा आइपुगेजस्तो लाग्यो। मेकअप र डान्स गर्लको ड्रेसअप गरेर स्टेजमा उभिँदा निकै नरमाइलो लाग्यो। म निकै आत्तिएँ। हलमा बसेका पुरुष आँखाले मलाई चिथोरैजस्तै महसुस भयो। यो कस्तो ठाउँमा आइएछ भनेर रुन मन लाग्यो। फेरि कर्म नै यस्तै रहेछ भनेर मन बुझाएँ। दुःख सम्झेर यो लाइनमा रम्‍न थालेँ। हरेक रात मेकअपले आफ्नो दुःख छोपेर अरूलाई प्रफुल्लित पार्नु हाम्रो बाध्यता हो।

 

मैले करिब एक वर्षजति काम गरे। एक ठाउँमा दुबईमा छ, महिनादेखि एक वर्षसम्म काम गर्न पाइन्छ। अफ्रिकाका डान्सबारमा पनि ६ महिना काम गरेकी छु। मलेसियामा पनि एक डान्सबारमा  एकपटक तीन महिनाजति काम गर्न पाइन्छ। समाजमा डान्सबारमा नाच्‍ने केटी भन्‍नेबित्तिकै नराम्रो दृष्टिकोणले हेर्छन्। धेरै जोगिनुपर्छ यो पेसामा। तर, यो ठाउँमा कसरी काम गर्ने हो भने It’s depend upon girls how they work (त्यो डान्सबारमा काम गर्ने केटीमा भर पर्छ कि उसले कसरी काम गर्न चाहन्छे)।

मैले अहिलेसम्म आफ्नो कला बेचेको छु, शरिर बेचेको छैन। धेरै मजस्तै हुनुहुन्छ। कतिले त मजस्तै धेरै यो पेसामा छु भनेर खुल्न मान्दैनन्। पत्रकारको त झन् नजिक पनि जाँदैनन्।

 

यसरी काम गर्न थालेको चार वर्ष जति भयो। पैसा राम्रै छ। जिन्दगी ठिकठाकै चलिरहेको छ। अनि भाइबहिनीको पढाइ धानेकी छु। अहिले दुवैजना काठमाडौंमा पढ्दैछन्। घरको छानो फेरेकी छु, आमाको फरिया फेरेकी छु। सबैजना चाडबाडमा अरुजस्तै गरी रमाइलो गरी मनाउँछन्। खुसी लाग्छ। समाजले जे सोचे पनि मलाई केही फरक पर्दैन। दुःख पर्दा एकछाक खान नदिने यो समाजको के कुरा गर्नु, दिदी ?

 

समस्या त गरिबी हो। जसले यो लाइनमा आउन बाध्य पार्‍यो। समस्या त हरेक काम गर्दा समस्या हुन्छ। यहाँ त झन् नहुने कुरै भएन। तर, पनि समस्यासँग जुधेर अघि बढ्नुपर्छ भन्‍ने लाग्छ। सानैदेखि दुःख सहने बानी परेर होला, अहिले त केही दुःखजस्तै लाग्दैन। कुनै ठाउँमा डान्सबारका मालिक राम्रा हुन्छन् तर कुनै ठाउँमा त गधाजस्तै गरी काम गराउँछ। धेरै समस्या झेलियो दिदी। कुन डान्सबारमा जाने हो त्यो डान्सबार बारेमा बुझेर जाँदा अलि  सजिलो हुन्छ।

 

जिन्दगी भनेजस्तो त कहाँ हुन्छ र दिदी ? हामीलाई पनि घरमै बसेर आफन्त साथिभाइसँग रमाइलो गर्ने मन हुन्छ। तर, के गर्नु नियतिले यस्तै बनायो। नेपालीहरुलाई भेट्‍दा परिवारको सदस्य भेटेजस्तै खुसी लाग्छ। तपाईं आउनुभयो, मनको भारी बिसाउन पाएँ। मन हलुँगो भयो।  उनीजस्ता त्यस डान्सबारमा काम गर्ने तीन जना नेपाली र अन्य भारतीय युवतीहरु भएको पनि उनले जानकारी दिइन्।नेपालसमयबाट

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण