अमेरिकी राष्ट्रपतिलाई प्रधानमन्त्रीको प्रश्नः हाम्रो चाहिँ चित्त हुँदैन ?



हाम्रो इकोनोमि

 

नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टी जनाउँदै मुख खोलेका छन् ।

 

टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति स्लीप भएको’ बताए । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको थियो । त्यसको भोलिपल्टै नेपाल फर्केका ओलीले बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका थिए ।

 

जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले अन्तिममा भेनेजुएला प्रकरण कोट्याएका थिए । प्रधानमन्त्रीले लगभग साम्य हुन लागेको विषयलाई थप गिजोल्ने गरी जवाफ दिए । प्रधानमन्त्री ओलीलाई सोधिएको थियो, ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’

 

प्रधानमन्त्रीले भने, ‘स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो ।’

 

आफ्नै पार्टीका अर्का अध्यक्षको विज्ञप्तिबारे ओलीले अगाडि भने, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश-देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स-साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् । त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य… युद्धको घोषणा त गरिएको छैन त्यहाँ ।

 

अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स-साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स-साना कुरामा अल्झिनु वाञ्छनीय हुन्न ।’ सोही क्रममा प्रधानमन्त्रीले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतको भूभाग ठानेको भनेर आएका समाचारका विषयलाई पनि छुन भ्याए ।

 

प्रधानमन्त्री ओलीले ट्रम्पको नाम नलिइ भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ? अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ? त्यसकारण यस्ता स-साना स्लीप भएका कुराहरु… ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् ।

 

अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले तत्सम्वन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिएको छ । सप्रिँदै जान्छ ।’

 

त्यसपछि प्रधानमन्त्रीलाई प्रस्तोताले सोधे, ‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’प्रधानमन्त्रीले उत्तर दिए, ‘आउने थिएन, स्वभाविकरुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...