अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर युवतीको हत्या
बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि)ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो ।जिल्ला अदालतले कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई रु एक लाख जरिवाना र अपहरण अवधिको दैनिक रु ५०० दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो ।
गत असार १४ गते लु२च २४५४ नंको जिपमा सवार घराम्दीकी नेपालीलाई बेनी–जोमसोम सडकअन्तर्गत तिप्ल्याङ खण्डको सडकबाट कालीगण्डकीमा खसालेर बेपत्ता भएका चालक खड्का सात दिनपछि असार २० गते आफैँ पोखराबाट प्रहरीको सम्पर्कमा आएका थिए ।
कालीगण्डकीमा बेपत्ता भनिएका चालक जीवितै फेला परेपछि सविताकी आमा राधिकाले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले खड्काविरुद्ध कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाएको थियो ।
घराम्दीमा भएको भेलामा अविवाहित सविताको पेटमा रहेको गर्भ आफ्नो भएको स्वीकार गरेर आफूले जिम्मा लिने प्रतिबद्धता जनाउँदै अपहरणको शैलीमा गाडीमा हालेर भागेका खड्काले तिप्ल्याङमा ल्याएपछि गाडीसहित खसालेर उनको हत्या गरेको आरोपमा मुद्दा चलाइएको थियो ।
सविताकी काकी बिष्णु दमैले भतिजीलाई गुमाउनुपरे पनि अदालतको फैसलाबाट न्याय पाएको महसुस गरेको बताइन् ।अदालतको फैसलाअनुसार खड्कालाई बुधबार साँझ जिल्ला कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए ।
श्रीमती आफन्तकोमा गएको मौका पारी १२ वर्षीया छोरीमाथि बलात्कार
श्रीमती आफन्तको घर गएको मौका पारी अर्घाखाँचीका एक व्यक्तिले आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन । श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।
श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको घरमा गएको बेला छोरी र श्रीमान मात्र घरमा भएको मौका छोपी डर त्राशसमेत देखाई १२ वर्षकी छोरीलाई राति बलात्कार गरेका हुन ।

आफ्नै श्रीमान भए पनि कानुन बमोजिम कार्बाही गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पीडितकी आमाले जाहेरी दिएपछि घटना बाहिर आएको हो । आफ्नै बाबु भएकाले आरोपीको नाम, थर, वतन गोप्य राखी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।


