सञ्चारमन्त्रीको मोबाइल वान वे
सञ्चार मन्त्रीकै मोवाईल ‘वान वे’ भनेको सुन्दा अचम्म लाग्ला । तर भयो यस्तै । त्यो पनि नेपाल टेलिकमको वार्षिकोत्सवकै दिन । त्यसमाथि पनि टेलिकमकै प्रबन्धक निर्देशकलाई फोन गर्न लाग्दा । घटना हिजो मंगलबारको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ११ बजे टेलिकमको १५औं वार्षिकोत्सवका उद्घाटन गर्ने कार्यक्रम थियो । अलिक बिसन्चो भएपछि निवासमै आराम गरेका उनी हिँड्दा तोकिएको समयभन्दा केही ढिला भइसकेको थियो ।
कार्यक्रममा आउन केही समय ढिला हुने जानकारी गराउन उनले नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन लगाउन खोजे तर मोबाइलमा पैसा सकिएर ‘वान वे’ भइसकेको रहेछ । हतार हतार गर्दै कार्यक्रमस्थल पुगेका मन्त्री बाँस्कोटाले केही समय ढिला भएको माफी माग्दै भने, ‘हिजो टेलिकमलाई काम नगरेर बिगार्नेे तपाईंहरू नै हो, अब यसलाई सपार्ने पनि तपाईंहरूले नै हो ।’
हिँड्ने बेलामा फोन गर्न लाग्दा पैसा सकिएको प्रसंग सुनाउँदै उनले भने, ‘मलाई एक रुपैयाँ भ्रष्टाचार गर्नु पनि छैन, यहाँ कसैले त्यस्तो गर्छ भने म छाड्दा पनि छाड्दिनँ ।’ आफूले टेलिकमबाट एक पैसा खानुनपरेको भन्दै उनले आफ्नो एक मात्र स्वार्थ टेलिकमलाई नम्बर १ सेवाप्रदाय संस्था बनाउने मात्र रहेको बताए ।
यसैबीच, टेलिकमले १५औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । जसअनुसार माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड र रजिस्ट्रेसनमा निःशुल्क १ सय एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यस्तै, पोस्ट पेडका ग्राहकलाई ९ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १ सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा गरेको छ ।
टुरिस्ट प्याकेजअन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १ सयको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १ हजारमा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १ सय मिनेट भ्वाइस कल, १ सयवटा एसएमसए र २ सयको अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ । माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १ सय ५० रुपैयाँमा ४५ मिनेट र ५ सय रुपैयाँमा १ सय ६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।
बालुवाटार वा सिंहदरबार जहाँ भए पनि निर्मलाका हत्यारालाई छोडिन्न : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सांसदहरुले राखेको ‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यो प्रकरणमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् । गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।