तस्करले रोजगारीका नाममा महिला बेच्ने गरेको खुल्यो पोल, यी-यी रुट बाट यसरी हुन्छ तस्करी



हाम्रो इकोनोमि

 

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानव तस्करले नेपाली युवतीलाई भारत हुँदै खाडीका देश, युरोप र अफ्रिका लैजाने क्रममा वृद्धि भएको छ । मानव तस्करका माध्यमबाट विभिन्न देश पुगेका नेपाली महिला अलपत्र पर्ने क्रम पनि बढ्दो छ ।

 

केही समय अघि भारतीय प्रहरीको विशेष ब्यूरोले आफ्नो खोजी सूचीमा रहेका नेपालका लोप्साङ लामालाई पक्राउ गरेको थियो । उनले भारतमा बसेर रोजगारीका लागि महिलालाई तेस्रो देश पठाउने गरेका थिए ।

 

गएको साउन ९ गते बिहारबाट दिल्ली महिला आयोगले १६ जना नेपाली महिलाको उद्दार गरेको थियो । उनीहरुलाई लामाले भारत हुँदै खाडीका विभिन्न देशमा बेच्न लैजान लागेको लागेको खुलेपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो ।

 

लामाले एक जना महिला विदेश पठाए बापत ४० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको भनाइ छ । अहिलेसम्म उनले २४ जनाभन्दा धेरै नेपाली महिलालाई खाडीका विभिन्न देश र त्यहाँबाट अन्य देशमा पठाएको भारतीय प्रहरीको भनाइ छ । भारतीय महिला आयोगले एक हप्ताभित्रमा ७३ जना नेपाली महिलाको उद्धार गरेपछि लामालाई पक्राउ गर्न भारतीय प्रहरी सक्रिय भएको थियो ।

 

गत साउन महिनामा भारतको राजधानी नयाँ दिल्लीबाट वैदेशिक रोजगारीका लागि हिँडेका ७३ जना नेपाली महिलाको उद्धार गरिएको थियो । नयाँदिल्ली महिला आयोग र स्थानीय प्रहरीले ७३ महिलाको उद्धार गरेको भारतको दिल्लीस्थित नेपाली दूतवासले विज्ञप्तिमार्फत जनाएको थियो ।

 

गत भदौ महिनामा भारत हुँदै खाडीका विभिन्न देश लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको थियो । भारतबाट उद्धार गरिएका ४० मध्ये ३ जना नेपाली महिलालाई तस्करहरुले जबरजस्ती देह व्यापारमा लगाएको पीडितहरुले खुलासा गरेका थिए ।

 

भारत गाजियावादस्थित इन्द्रपुरममा तीन वटा भवनमा राखिएका ३७ नेपाली महिलालाई ‘माइती इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा उद्धार गरी स्वदेश फर्काएको हो । माइती इन्डियाका बालकृष्ण पाण्डेका अनुसार उद्धार गरिएका नेपाली महिलालाई १७, १३ र ७ जनाको समूह बनाई फरकफरक स्थानमा मानव तस्करहरुले लुकाएको ठाउँबाट उद्धार गरिएको थियो ।

 

नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएपछि भारत हुँदै नेपाली महिलाहरुलाई तस्करहरुले ती देशहरुमा पठाउने गरेका छन् ।

 

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिलाउने प्रलोभन देखाई भारतका विभिन्न स्थानबाट तेस्रो मुलुक लैजान लागेका महिलाको भारतीय प्रहरी महिला आयोग बेलाबेला उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाउँदै आएको छ ।

 

सरकारले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए पनि यो क्रम रोकिएको छैन । ‘सरकारको आँखा छलेर वा लुकेर कामको खोजीमा विदेशिनेलाई रोक्न समस्या नै छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा।नारायण रेग्मी भन्छन्, ’रोजगारी पाउने आसमा कसैको लहैलहैमा लागेर अवैध बाटो भएर जाने कामदार नियन्त्रण गर्न गाह्रो हुन्छ ।’ मन्त्रालयले रोजगारीका नाममा हुने मानव तस्करी नियन्त्रण गर्नेगरी योजना बनाइरहेको उनी बताउँछन् ।

 

मासिक सयभन्दा धेरै महिला तस्करी

 

आर्थिक वर्ष २०७४र७५ मा भारतबाट उद्धार गरिएका नेपाली महिलाको संख्याभन्दा धेरै नेपाली महिलाको पछिल्ला महिनामा भारतका विभिन्न स्थानबाट उद्धार गरिएको तथ्यांकहरु सार्वजनिक भएका छन् । दूतावासका अनुसार अघिल्लो आर्थिक वर्षमा ६० नेपाली महिलाको भारतबाट उद्धार गरिएको थियो । जबकि पहिलो ३ महिनामा करिब २ सयभन्दा महिलालाई भारतबाट उद्धार गरिएको छ । भारतको महिला आयोगले तस्करीमा परेका महिला उद्धार अभियान चलाइरहेको छ ।

 

गत आर्थिक वर्षमा विदेशबाट सरकारले करिब ९ सय जनाको उद्धार गर्दा अधिकांश महिला नै थिए । एक अध्ययनका अनुसार वार्षिक १५ हजारभन्दा धेरै नेपाली युवती तस्करहरुको माध्यमबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।

 

पछिल्लो दिनमा मासिक सयभन्दा धेरै महिला रोजगारीका नाम तस्करी भइरहेको माइती नेपालको एक अध्ययनमा देखाइएको छ । भारतसँग सीमा जोडिएका नाकाबाट दैनिक ठूलो संख्यामा नेपाली युवती रोजगारीका नाममा तस्करी हुने गरेका छन् ।

 

महिला तस्कर नेपाल र भारतको साझा समस्या भएको भन्दै यो विषयमा गम्भीर हुनुपर्ने भारतीय मानव अधिकारकर्मीले आवाज उठाउँदै आएका छन् । नेपालमा झापा, बर्दिया, वीरगन्ज, बुटवल, धनगढी र सुनौली लगायतका नाकाबाट नेपाली महिलालाई भारत पुर्‍याउने गरिएको प्रहरीले बताउँदै आएको छ ।

 

प्रहरीको अध्ययन अनुसार भारतको स्थलमार्ग प्रयोग गरेर धेरै नेपाली महिला रोजगारीका लागि तेस्रो मुलुक जाने गरेका छन् । अवैध रुपमा भारतको बाटो हुँदै खाडीका देशमा रोजगारीमा जाने र त्यहाँ समस्यामा पर्ने महिलाको संख्या पनि ठूलो छ ।

 

पछिल्लो समय भारतस्थीत नेपाली दूतवासले भारतीय प्रहरीलाई सहयोग मागेर दिल्लीमा नेपाली महिलामाथि कडाई गर्ने थालेपछि तस्करले रुट परिवर्तन गरेर बंगलादेशको रुट प्रयोग गर्न थालेका छन् ।

 

उद्धार गरिएका महिलासँगको सोधखोजमा उनीहरुले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन्। राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारी अवैध बाटोबाट विदेश लैजाने गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेती बताउँछन् ।

 

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश म्यानपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी मुलुक लगायत अन्य देश पुराएर जबर्जस्ती देह व्यापारमा फसाउने गरेका उदाहरण पनि प्रशस्त छन् ।

 

गत साउन ५ मा केन्याको डान्सबारमा काम गर्न पुगेका १३ नेपाली युवतीको केन्या प्रहरीले उद्धार गरी नेपाल फर्काउन सहयोग गरेको थियो । विदेशमा पुगेर अप्ठ्यारोमा पर्ने कामदारको समस्या सुन्न र सहयोग गर्न ३ वर्षदेखि हटलाइन टेलिफोन सेवा सञ्चालन भइरहेको महाशाखाका प्रवक्ता उप्रेती बताउँछन् । हटलाइन फोनमार्फत वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका कामदारलाई उद्धार र सहयोग गर्न सहज भएको उनको भनाइ छ ।

 

दलालका बारेमा बताउँदैन तस्करीमा परेका महिला

कामको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसा लिई रोजगारीमा जाने गरेका छन् । यसरी विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउने गरेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले जनाएको छ ।

 

महिला कामदार प्रायः भारत हुँदै तेस्रो देश म्याननपावरभन्दा बाहिरका व्यक्तिको सम्पर्कबाट जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । भारत हुँदै तेस्रो मुलुक रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरीब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरु हुने गरेको सिआइबीका निरीक्षक राजकुमार सिलवालले बताए । ‘विदेश जाने भनेपछि केही नबुझी जाँदा धेरै सोझा महिला फस्ने गरेका छन् ।

 

प्रहरीले उद्धार गरेका महिलाले दलाल र तस्कारका विषयमा केही बताउँदैनन् । त्यसकारण अनुसन्धानमा पनि समस्या हुने गरेको छ,’ उनले भने। एक तस्कर अर्को तस्करसँग परिचित नभईकनै महिला ओसारपासर हुने गरेको उनी बताउँछन् । प्रहरीले उद्धार गरेका महिलाले तस्करका विषयमा नै अनभिज्ञता प्रकट गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...