भेनेजुयलाका राष्ट्रपतिद्वारा आर्थिक सहायता अस्वीकार, भन्छन्– हामी भिखारी होइनौं



हाम्रो इकोनोमि

 

भेनेजुयलाका राष्ट्रपति निकोलस माधुरोमाथि अन्तर्राष्ट्रिय दबाव बढ्दै गइरहेको छ । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन, स्पेन लगायत युरोपीय संघका करिब १६ देशले विपक्षी दलका नेता ख्वान ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् ।

 

राष्ट्रपति माधुरोविरुद्ध आन्दोलनरत ग्वाइदोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । माधुरोले भने राजनीतिक संकटका कारण देशमा गृहयुद्ध हुने आशंका व्यक्त गरेका थिए । तर, ग्वाइदोले त्यसलाई खण्डन गर्दै यो माधुरोको कल्पना मात्र भएको बताएका छन् ।

 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले माधुरो तानाशाही बनेको आरोप लगाएका छन् । उनले आफ्ना देशका जनतालाई दाउमा राखेर कुर्सीमा टाँसिइरहेको आरोप लगाए ।

 

भेनेजुयला भयानक आर्थिक मन्दीबाट गुज्रिरहेको छ । औषधि, खाद्यान्न जस्त अत्यावश्यक चिजको कमी भएको छ । भेनेजुयलाका नागरिक महंगीको मारमा परेका छन् । गत वर्ष भेनेजुयलामा हरेक १९ दिनमा बस्तुको मूल्य औसत दोब्बर वृद्धि हुने गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ देखि हालसम्म ३० लाख जना देशबाट बिस्थापित भएका छन् ।

 

भेनेजुयलाका जनताले यिनै मुद्दा उठाएर सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन रोक्न सैन्य बल प्रयोग गरेको आरोप सरकारलाई लाग्दै आएको छ । यसबीच हालै भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै विपक्षी नेता ख्वान ग्वाइदोले आफैंले अन्तरिम राष्ट्रपति घोषणा गरे र, अमेरिकासहित विश्व शक्तिराष्ट्रहरुको समर्थन पाए ।

 

तर, चीन र रुस भने माधुरोको पक्षमा छन् । भेनेजुयलामा विदेशी हस्तक्षेपको रुसले निन्दा गरेको छ । रुसले भनेको छ ‘यो जबर्जस्ती खोसिएको सत्तालाई वैध ठहर्‍याउने कोशिस हो ।’

 

युरोपीय देशको आर्थिक सहायता

यसबीच ग्वाइदोलाई मान्यता दिएका देशहरुले भेनेजुयलाका जनतालाई औषधि र खाद्यान्नका लागि सहयोग गर्ने बताएका छन् । यसका लागि उनीहरुले करोडौं डलर सहयोग गर्ने घोषणा गरेका छन् । ग्वाइदोले देशका सेनालाई आवश्यक सामानहरु जनतासमक्ष पुर्‍याउन अपिल गरेका छन्, जसबाट लाखौं जनताको जीवन रक्षा हुन्छ ।

 

यो सहयोग कोलम्बियासँग जोडिएको सीमाबाट ल्याइने छ । ग्वाइदो चाहान्छन् सेनाले यी सामान त्यहाँबाट ल्याएर जनतालाई वितरण गरोस् । तर, भेनेजुयलाको सेना अहिलेसम्म राष्ट्रपति निकोलस माधुरोको पक्षमा छ ।

 

माधुरोले युरोपीय संघको सहयोग अस्वीकार गरेका छन् र भनेका छन् भेनेजुयलाका जनता भिखारी होइनन् । भेनेजुयला मानवीय सहयोगको झूठो आश्वासनमा नफस्ने बताउँदै उनले भनेका छन्, ‘भेनेजुयला काम गर्छ, उत्पादन गर्छ र आफ्नो अर्थव्यवस्थालाई अगाडि बढाउँछ । हामी भिखारी होइनौं ।’

 

यसैगरी राष्ट्रपति माधुरोले घोषणा गरेका छन् कि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुल्ला चिठ्ठी लेख्नेछन्, जसका लागि देशका जनताको हस्ताक्षर संकलन भइरहेको छ । यस चिठ्ठीमा विदेशी हस्तक्षेप भेनेजुयलाले अस्वीकार गर्छ भन्ने कुरा उल्लेख हुनेछ ।

 

इटली कसको समर्थक ?

भेनेजुयला संकटलाई लिएर इटलीको सत्ताधारी गठबन्धनको राय बाझिएको छ । लीग पार्टी ख्वान ग्वाइदोको पक्षमा छ भने उसको सहयोगी फाइब स्टार मुभमेन्ट विपक्षमा छ ।

 

फाइभ स्टार मुभमेन्टका अनुसार कुनै पनि देशलाई यो गर, ऊ गर भन्ने काम युरोपीय संघको होइन । फाइभ स्टार मुभमेन्टका एक सांसदले भनेका छन् – युरोपले अमेरिकी आदेश मान्न बन्द गर्नुपर्छ ।

 

यसैगरी इटलीका राष्ट्रपति सर्गियो मातरेलाले दुवै पार्टीलाई ख्वान सहमतिमा आउन अपिल गरेका छन् । उनले भनेका छन्, ‘भेनेजुयला र इटलीको सम्बन्ध निकै मजबुत छ । इटलीका धेरै मानिस भेनेजुयलामा र भेनेजुयलाका धेरै मानिस इटलीमा बस्छन् । युरोपीय संघका सहयोगीसँग एकमत हुनु पनि हाम्रो जिम्मेदारी हो । जनताको इच्छा, लोकतन्त्र र सेनाको लडाइँ तथा जनताको पीडामा कुनै एक रोज्न हामीले संकोच मान्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...