रेल खरिद प्रक्रिया सुरु, दुई रेलमा डेढ अर्ब लगानी



हाम्रो इकोनोमि

 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि सरकारले खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत पुस २९ गते बसेको बैठकले रेल खरिद गर्ने निर्णय गरेकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड विनियोजन गरेकोमा दुईवटा रेल खरिदका लागि उक्त बजेटले पुग्ने अवस्था नरहेको विभागको भनाइ छ ।

 

विभागकाअनुसार दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड आवश्यक पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति दिएपछि खरिद प्रक्रिया शुरु भएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

 

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारीस्तरबाटै रेलका इञ्जिन खरिद गर्न लागेको हो । सरकारीस्तरमा नै दुई वटा रेल खरिद गरिनेछ । त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ । केही प्रस्ताव भने प्राप्त भइसकेको छ ।

 

रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालीम दिन जुन कम्पनीसँग रेल खरिद गरिन्छ त्यसैसँग सम्झौता गर्ने तयारी विभागको छ ।

 

पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ । पुनः एक पटक नेपाली प्राविधिकसहित भारतीय प्राविधिकले पनि रेलमार्गको अनुगमन गर्ने भएको छ ।

 

रेल नआइकन यही समयमा नै रेल चलाउँछौँ भनेर भन्न सकिने अवस्था नभएको प्रवक्ता चित्रकारको भनाइ छ । तर रेल आएको खण्डमा नयाँ वर्षको शुरुआतदेखि सञ्चालनमा ल्याइने तयारी भएको छ ।

 

बर्दिवास-जनकपुर-जयनगर-कुर्था-विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ । त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ ।

 

अन्य खण्डको भने निर्माण जारी रहेको बताइएको छ । पहिलो चरणमा जयनगर-कुर्था, दोस्रो चरणमा कुर्था-भङगहा १७ किलोमिटर तथा तेस्रो खण्डमा भङ्गहा-बर्दिवास १७ किलोमिटर गरी कूल ६९ किलोमिटर लामो रेलमार्ग विस्तार गरी सञ्चालनमा ल्याइनेछ ।

 

निर्माण भएको रेलमार्ग भने केही दिनभित्रै भारतीय पक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराएको छ । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।

 

यस्तै विभागले अगाडि बढाएको केरुङ-काठमाडौँ, रक्सौल काठमाडौँ रेलमार्ग पनि अध्ययनको क्रममा छ । काठमाडौँ उपत्यकामा नै थानकोट-धुलिखेल मेट्रो रेल र सातदोबाटो-बूढानीलकण्ठ मेट्रो रेल निर्माणका लागि अध्ययन भइरहेको छ ।

 

यस्तै पूर्व-पश्चिम विद्युतीय रेलमार्गको पनि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम जारी रहेको छ । सरकारले अहिले हेटौँडा-भरतपुर खण्डको राष्ट्रिय निकुञ्जलाई छलेर डिपिआर तय गर्दैछ। आगामी एक वर्षभित्र यो काम सकिने हुने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...