अन्ना हजारेलाई पत्र लेख्दै डा. केसीले भने : सत्याग्रह कहिल्यै पराजित हुँदैन
सत्याग्रही डा. गोविन्द केसीले भारतमा अनसनरत अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।१६ औं अनसन फिर्ता लिएर हाल त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत केसीले लोकपाल ऐन अनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ गतेदेखि हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । भ्रष्टाचारविरुद्धको लडाईका लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको भन्दै केसीले नेपाली नागरिकका लागि पनि यो लडाई अनुकरणीय रहेको बताएका छन् ।
केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको भन्दै त्यसको सुरुवात मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर गरेको बताएका छन् । उनले आफू यसविरुद्ध अझै लडिरहेको उल्लेख गरेका छन् ।
केसीले आफूले १५ औं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयनको माग राखेर १६ औं अनसन बसे पनि जनताप्रति अनुत्तरदायी सरकारले बेवास्ता गरेको र नागरिक समाजका प्रवुद्ध व्यक्तिको आग्रहअनुसार अनसन तोडेको उल्लेख गरेका छन् । यस क्रममा सरकारले न्युनतम प्रजातान्त्रिक चरित्र पनि नदेखाएको केसीले उल्लेख गरेका छन् ।
केसीले अन्त्यमा भनेका छन् ‘सामान्य अर्थमा मेरो सिकाइ के छ भने सत्याग्रह अपराजित छ । सरकारलाई जवाफदेही बनाउन र कानूनको शासन पालनाका लागि म सत्याग्रहको शक्ति र जनतामा विश्वास गर्छु ।’
क्यान्सरको उपचार गर्न विदेशिनु पर्दैन !
विश्वभर क्यान्सर रोगको त्राशदी बढ्दो छ । सन् २०१८ मा मात्र ८ करोड ११ लाख मानिसमा क्यान्सर देखियो । उनीहरुमध्ये ९६ लाखको मृत्यु भएको थियो ।
विश्वभर देखिएका क्यान्सर रोगीमध्ये ४८ दशमलव ४ प्रतिशत अर्थात ९७ लाख ५१ हजार क्यान्सर रोगी एसियाली थिए । नेपालमा पनि वर्षेनी ५० हजार क्यान्सर रोगी थपिन्छन् । क्यान्सरकै कारण मृत्यु हुनेको संख्या ठूलो छ ।
क्यान्सर लाग्ने वित्तिकै नेपालीहरुको दिमागमा उपचारका लागि विदेश लैजाने कुरा आइहाल्छ । किनकी उनीहरुलाई लाग्छ, नेपालमा क्यान्सरको पूर्ण उपचार सम्भव छैन । त्यसैले क्यान्सरबाट पीडित भएपछि मध्यमवर्गका व्यक्तिहरु पनि ऋण खोजेर भारत जान्छन् । आर्थिकरुपमा सम्पन्न परिवारका भए तेस्रो मुलुक रोज्छन् । कमजोर आर्थिक हैसियतकाहरु मात्रै नेपालमा उपचार गराउन तयार हुन्छन् ।
तर, नेपालमा पनि क्यान्सरको स्तरीय उपचार हुने गरेको छ । वीर अस्पतालका चिकित्सक डा. विष्णुदत्त पौडेल भन्छन्, ‘क्यान्सरका रोगीलाई ऋण काढेर वाहिर जानुपर्ने बाध्यकारी अवस्था छैन । नेपालमै राम्रो उपचार हुन सक्छ ।’
नेपालमा क्यान्सरको उपचार सुरु भएको साढे तीन दशक भइसकेको छ । नेपाल अबुर्द रोग निवारण संस्थाले पहिलोपटक ०३९ सालमा क्यान्सरको उपचार प्रणाली भित्र्याएको थियो । उक्त संस्थाले नै ०५१ सालमा भक्तपुर क्यान्सर अस्पताल स्थापना गर्यो । भरतपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि त्यही वर्षबाट सुरु भए ।
‘यो बीचमा धेरै प्रविधि विकास भइसकेका छन्, समग्रमा भन्नुपर्दा अधिकांस क्यान्सरको उपचार नेपालमै सम्भव छ’, भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. प्रकाशराज न्यौपाने भन्छन् । स्वर्गीय साहित्यकार जगदिश घिमिरेले आफ्नो आत्मकथामै लेखेका थिए कि क्यान्सरको उपचार नेपालमै सम्भव रहेछ ।
देशकै ठूलो भरतपुर क्यान्सर अस्पतालमा अहिले एक सय ९४ शैय्या छन् । ३२ शैयाबाट सुरु भएको भक्तपुर क्यान्सर अस्पताल पनि एक सय १० शैय्यामा बिस्तारित भइसकेको छ ।
क्यान्सरको उपचार प्रणाली
क्यान्सर आफैंमा एउटा रोग नभएर रोगहरुको संग्रह हो । टाउकोदेखि खुट्टासम्म जुनसुकै अंगमा क्यान्सर लाग्न सक्छ । क्यान्सरमा सबैभन्दा महत्वपूर्ण भनेको यसको स्टेज पत्ता लगाउनुलाई मान्छन् डा. न्यौपाने । नेपालमा क्यान्सर पत्ता लगाउन आवश्यक सिटिस्क्यान, एमआरआई, वायप्सीजस्ता विधि तथा उपकरणहरु छन् । प्याथालोजी ल्याबतर्फ फोलोजन बायप्सी, इमुनोस्ट्रोकेमेस्ट्री तथा रगत परीक्षण गरिन्छ । र, उपचारका लागि रेडियोथेरापी, किमोथेरापी, टार्गेटेड थेरापी, शल्यक्रिया, प्यालिएटिभ केयरलगायत सेवाको लागि पनि देशभन्दा वाहिर जाने बाध्यता छैन ।
क्यानसरको उपचार पद्धतिलाई हेर्ने हो भने नेपाल विश्वमा २५ देखि ३० नम्बरमा पर्ने डा. न्यौपानेको जिकिर छ । ‘हरेक वर्ष नयाँ-नयाँ प्रविधिहरु भित्रिरहेका छन् । वायप्सी, पेटस्क्यान गर्ने मात्र नभएर मनि कुलर, सेल, डीएनए, क्रोमोजोम पनि टेस्ट गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा उपचार सम्भव छ तर, अमेरिकाकै जस्तो सेवा खोजेर त हुँदैन नी !’ उनको अनुसार दक्षिण एसियामै अगाडि रहेको नेपालको क्यान्सर उपचार अरेविक देशभन्दा धेरै अघि छ । नेपालमा विशेषज्ञहरुको नभएर व्यवस्थापनमा कमी भएको नेसनल क्यान्सर अस्पतालका डा. एमके पिया बताउँछन् ।
किन जान्छन् विदेश ?
जसरी बजारमा हल्ला छ त्यति मानिस वाहिर नगएको बताउँछन् डा. न्यौपाने । ‘आजभन्दा ३० वर्ष पहिले ९५ प्रतिशत मानिस क्यान्सरको उपचारका लागि बाहिर जान्थे भने अहिलेको अवस्था त्यो छैन’, उनी भन्छन्, ‘अहिले बाहिर जाने क्यान्सर रोगीको अनुपात ५/१० प्रतिशतमा झरेको छ ।’
सेवाको भावनालेभन्दा पनि कमिसनको विषय गाँजिएकाले कतिपय चिकित्सक तथा अस्पतालले समेत विरामीलाई वाहिर रिफर गर्ने गरेको उनी बताउँछन् । ‘यहाँ गरिवको क्यान्सरमा व्यापार पनि भइरहेको छ’, उनले भने, ‘कतिपयले क्यान्सर शिविर भन्छन्, क्यान्सरको उपचार शिविरमा कसरी सम्भव छ ?’
बिभिन्न मानिसका फरक-फरक रुची जोडिएकाले पनि बिरामी उपचारका लागि वाहिर जान परिरहेको डा. न्यौपान्नेको धारणा छ । तर, भारतमा पनि क्यान्सरको उपचार नेपालमा भन्दा निकै गुणा महंगो पर्न आउँछ । उनीहरुले महंगो प्रविधि प्रयोग भएको भन्दै मोटो रकम असुल्ने गर्छन् ।
विश्वका थुप्रै देशमा क्यान्सरको निशुल्क उपचार हुने भएकाले नेपालमा पनि सरकाले त्यसो गर्नुपर्ने सुझाव दिन्छन् डा. न्यौपाने । ‘विश्वका अविकशित देशहरुमा समेत क्यान्सरको उपचार सरकारले गर्छ, युरोप र जापानजस्ता देशहरुमा मात्र नभएर भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंकाजस्ता देशमा पनि निःशुल्क उपचार हुन्छ,’ उनी भन्छन्, ‘तर, हाम्रो सरकारलाई त्यति धेरै मतलव छैन ।’
बीरका डा. पौडेल पनि वीरमा जुन खालको प्रविधि र उपचार पद्धति हुनुपर्ने हो त्यो हुन नसकेको बताउँछन् । ‘रेडियो थेरापी गर्न वाहिर जानुस् भन्दा हामीलाई पनि दुःख लाग्छ’, डा. पौडेलले भने, ‘वीरमा जुन गुणस्तरमा सेवा हुनुपर्ने हो त्यो भएको छैन । रेडियो थेरापी मेसिन ल्याउने भनेको तीन वर्ष भयो, अझै आइपुगेको छैन ।’
उपचार खर्च कति लाग्छ ?
नेपाल र भारतमा क्यान्सरलाई महंगो रोगको रुपमा लिने गरिन्छ । तर, यसको प्रकृतिअनुसार उपचार खर्च पनि फरक-फरक हुने गर्छ । जस्तो कि सबैभन्दा सस्तो छालाको क्यान्सर मानिन्छ । यसको उपचार सरकारी अस्पतालमा पाँच सय रुपैयाँमै हुने गर्छ । किनकी छालाको जुन ठाउँमा क्यान्सर लागेको छ त्यो ठाउँ काटेर फाले पुग्छ ।
वीरका डा. आचार्यले नेपालमा प्राय क्यान्सरको उपचार एक लाख रुपैयाँमा सकिने र अलि बढी फैलिएको छ भने चार-पाँच लाख रुपैयाँसम्म लाग्ने बताए । तर, नीजि अस्पतालमा भने उपचार महंगो छ ।
आम क्यान्सरको शल्यक्रिया दुई लाख रुपैयाँमा हुने डा. न्यौपाने बताउँछन् । ब्लड क्यान्सरलाई तीन वर्षसम्म किमो दिनुपर्ने भएकाले २५/३० लाख रुपैयाँसम्म खर्च हुने उनको भनाई छ ।
क्यान्सरको आषधी पनि सस्तोदेखि महंगो खालका हुने डा. पिया बताउँछन् । कस्तो प्रकृतिको औषधी प्रयोग गर्ने भन्ने कुराले खर्चको निर्धारण गर्ने उनको भनाई छ ।
विदेशबाट पनि आउँछन्
नेपालमा विदेशबाट पनि क्यान्सर रोगी उपचारका लागि आउने गरेको डा. न्यौपाने बताउँछन् । उनले भरतपुर क्यान्सर अस्पतालमा १० प्रतिशत बिरामी उत्तर भारतबाट आउने गरेको बताउँछन् । नेपालमा तिब्वत, भुटान, सिक्किम लगायतका विरामी उपचारका लागि आउने गर्छन् ।
‘कतिपय बेलायत, अमेरिका वा अन्य देशको नागरिकता लिइसकेका नेपालीहरु पनि क्यान्सर लागेपछि नेपालमा उपचार गर्न आउने गरेका छन्’, डा. न्यौपानेले भने, ‘त्यहाँ उपचार निःशुल्क छ तर, लामो समय कुर्नुपर्ने वा सुरक्षा, भाषा र आफ्नो देशको मायाका कारण पनि नेपाल आउनुहुन्छ ।’
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भरतपुर, वीर अस्पताल, सुशील कोइराला मेमोरियल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेसनल क्यान्सर अस्पतालले नेपालमा क्यान्सरको बिरामीलाई उपचार सेवा दिइरहेका छन् । तर, सबै क्यान्सरको उपचार भने वीपीमा मात्रै हुन्छ ।
बीपी कोइराला र सुशील कोइराला मेमोरियल सरकारी हुन् । भक्तपुर गैरसरकारी हो भने नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेसनल क्यान्सर अस्पताल भने नीजि हुन् । अन्य नीजि अस्पतालमा क्यान्सरको अपरेसन हुने भए पनि सबै सेवा भने उपलब्ध नभएको डा. न्यौपाने बताउँछन् ।
नेपालमा कति छन् क्यान्सर रोगी ?
सरकारले क्यान्सर रोगीको तथ्यांक राख्ने गरेको छैन । तसर्थ ठ्याक्कै यति क्यान्सर रोगी छन् भन्न गाह्रो छ । तथापि अन्य देशमा जस्तै नेपालमा पनि क्यान्सर रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । नेपालमा वाषिर्क २० देखि ३० हजारको हाराहारीमा क्यान्सर रोगी थपिने भक्तपुर क्यान्सर अस्पतालका रक्तरोग विशेषज्ञ डा. अजय झा बताउँछन् ।
भक्तपुर क्यान्सर अस्पतालमा वर्षेनी चार हजार क्यान्सर रोगीको उपचार हुने गरेको छ । त्यस्तै, भरतपुर क्यान्सर अस्पतालमा वाषिर्क आठ हजार क्यान्सर रोगी पुग्ने गर्छन् ।
नेपालमा फोक्सो र स्तन क्यानसरको रोगीको संख्या बढ्दो छ । फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण धुमपान देखिएको डा. न्यौपाने बताउँछन् । विश्वमा पनि सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन, फोक्सो, पाठेघर, आमाशय, र रगतको क्यान्सर रोगीको संख्या बढी छ ।
यद्यपी नेपालमा सबै प्रकारका क्यान्सरका विरामी छन् । पछिल्लो समय अव्यवस्थित जीवनशैली, प्रदूषण, बढ्दो औषत आयुको कारण क्यान्सर रोगीको संख्या बढ्दो छ । क्यान्सर बंशाणुगत रोग पनि हो ।
विश्वमा प्रत्येक पाँच पुरुषमध्ये एक र ६ महिलामध्ये एकलाई क्यान्सर लाग्ने अध्ययनले देखाएको छ । आठमध्ये एक पुरुष र ११ जनामध्ये एक जना महिलाको क्यान्सरकै कारण मृत्यु हुने गरेको छ ।