डोनाल्ड ट्रम्पकी सेक्स पार्टनर पक्राउ, उक्त विषय गुपचुप राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको दाबी
आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी ‘यौन साथी’ दाबी गर्ने एडल्ट फिल्म स्टार स्टर्मी डेनियल्स पक्राउ परेकी छन्।कोलम्बसको ओहियोस्थित स्ट्रिप क्लबबाट उनलाई नियन्त्रणमा लिइएको उनका वलिकले बताएका छन्। डेनियल्सको खास नाम स्टेफनी क्लिफोर्ड हो । क्लबमा आएका एक ग्राहकसँग गैर-यौन तरिकाबाट छोएको आरोपमा उनी पक्राउ परेको वकिल माइकल एवेनतीले ट्विटरमार्फत् बताए। एवेनतीका अनुसार एक स्टिङ अपरेसनका दौरान उनी पक्राउ परेकी हुन्।
‘यो पूर्वनियोजित र राजनीतिक रूपमा प्रेरित घटना हो। र, भयानक दुस्साहस पनि। सबै आरोपविरुद्ध हामी लड्छौं,’एवेनतीले ट्विटरमा लेखेका छन्। उनी बुधबार र बिहीबार साइरेन्स जेन्टलम्यान क्लबमा प्रस्तुती दिने क्रममा थिइन्।हालसम्म उनले अमेरिकाभरका करिब सय वटा स्ट्रिप क्लबमा प्रस्तुती दिइसकेकी छन्। उनी जमानतमा रिहा हुने आशा वकिलको छ।
सन् २००६ मा तत्कालीन व्यापारी ट्रम्पकी यौन साथी रहेको दाबी डेनियल्सले गर्दै आएकी छन्। राष्ट्रपति निर्वाचनअघि उक्त विषयलाई गुपचुप राख्न ट्रम्पका वकिलले एक लाख ३० हजार अमेरिकी डलर दिएको दाबी पनि उनले गर्दै आएकी छन्। राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।
मदुरोले दिए ट्रम्पलाई रक्ताम्य भएर ह्वाइटहाउस छोड्नुपर्ने चेतावनी
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा व्यक्त गरेका हुन् ।
अन्तर्वार्तामा उनले भने– देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरूको क्रियाकलापमा निर्भर रहनेछ । टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइटहाउस छोड्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएको एक समाचारमा जनाइएको छ ।
राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा शब्दमा आलोचना पनि गरेको समाचारमा जनाइएको छ । यसअघि विपक्षी नेता हुँवा गुइएदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए ।
गत महिना गुइएदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्तिराष्ट्रहरूको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।
भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मदुरो आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँछन् भने गुइएदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवैजनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका थिए ।
सो प्रश्नको जवाफमा मदुरोले भने– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन । तर, अहिले पनि भेनेजुएलामा विदेशी शक्तिराष्ट्रहरूका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनको दाबी थियो ।
अन्तर्वार्ताका क्रममा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आमनिर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समयअगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा राखेको थियो । राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक संकट समाधानको प्रयासस्वरूप समयअगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए ।
यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समयअगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेको बताइएको थियो ।
तैपनि मदुरोले दिएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएको अर्काे समाचार आएको छ । गएको शनिबार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइएदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शन आयोजना गरेका थिए ।
शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइएदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइएदो अघि बढेको बताइएको छ ।
मदुरोलाई सत्ताबाट हटाउन गुइएदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरूमा बताइएको छ । विपक्षीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि मदुरोले यहाँको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो ।
भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ । यहाँको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुइएदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् । उनले केही दिनअघि आफैँलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीले समर्थन गरेपछि यहाँको संकट बढेको हो ।