मदुरोले दिए ट्रम्पलाई रक्ताम्य भएर ह्वाइटहाउस छोड्नुपर्ने चेतावनी



हाम्रो इकोनोमि

 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा व्यक्त गरेका हुन् ।

 

अन्तर्वार्तामा उनले भने– देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरूको क्रियाकलापमा निर्भर रहनेछ । टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइटहाउस छोड्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिएको एक समाचारमा जनाइएको छ ।

 

राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको कडा शब्दमा आलोचना पनि गरेको समाचारमा जनाइएको छ । यसअघि विपक्षी नेता हुँवा गुइएदोले एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए ।

 

गत महिना गुइएदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्तिराष्ट्रहरूको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।

 

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मदुरो आफू नै निर्वाचनबाट निर्वाचित राष्ट्रपति भएको बताउँछन् भने गुइएदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवैजनाले आ–आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका थिए ।

 

सो प्रश्नको जवाफमा मदुरोले भने– हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन । तर, अहिले पनि भेनेजुएलामा विदेशी शक्तिराष्ट्रहरूका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनको दाबी थियो ।

 

अन्तर्वार्ताका क्रममा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आमनिर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समयअगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा राखेको थियो । राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक संकट समाधानको प्रयासस्वरूप समयअगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए ।

 

यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरूले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समयअगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेको बताइएको थियो ।

 

तैपनि मदुरोले दिएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएको अर्काे समाचार आएको छ । गएको शनिबार मात्र यस देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइएदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शन आयोजना गरेका थिए ।

 

शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइएदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइएदो अघि बढेको बताइएको छ ।

 

मदुरोलाई सत्ताबाट हटाउन गुइएदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरूमा बताइएको छ । विपक्षीहरूले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि मदुरोले यहाँको संकट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो ।

भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक संकट बढ्दो छ । यहाँको राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका गुइएदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै आएका छन् । उनले केही दिनअघि आफैँलाई अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरू केही विदेशीले समर्थन गरेपछि यहाँको संकट बढेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...