प्रधानमन्त्रीका लागि बालुवाटारमै भव्य महल बन्ने



हाम्रो इकोनोमि

 

सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक पारदर्शीता र खर्चमा मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीकका लागि महल बनाउन लागेको हो ।अहिलेको संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पाइसकेको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ ।मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– सम्माननीय प्रधानमन्त्रीज्यूको लागि वालुवाटारस्थित हालको निवास परिसरको उपयुक्त स्थानमा आवश्यक सम्पूर्ण सेवासुविधायुक्त नयाँ भवन निर्माण गर्ने ।

 

राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति, मन्त्री, सांसदलगायत राज्यका बहालवाला पदाधिकारी सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला त्यसलाई थप बल पुग्ने गरी प्रधानमन्त्रीको सुविधाका लागि करोडौं रुपैयाँ खर्चेर नयाँ भवन बन्न लागेको हो । गत भदौमा मात्रै सरकारले राष्ट्रपति भवन विस्तारका लागि महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान हटाउने निर्णय गरेको थियो ।

 

राष्ट्रपतिकै लागि प्रयोग हुनेगरी सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर इटालीबाट हेलिकप्टरसमेत खरिद गरिसकेको छ । सरकाले उपराष्ट्रपति निवासका लागि लैनचौरमा रहेको समाजकल्याण परिषदको भवन खाली गराइरहेको छ । ३ वर्षअघि वालुवाटारमै मुख्यसचिवको समेत निवास निर्माण गर्ने चर्चा चले पनि अघि बढेको थिएन । प्रधानमन्त्रीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका मुख्यसचिवका लागि २०७२ सालमा करिब ८ रोपनी क्षेत्रफलमा साढे २ तले भवन बनाउने भनिएको थियो ।

 

“यसअघि प्रधानमन्त्री निवास वालुवाटारभित्रै मूुयसचिवको निवास बनाउने कुरा भएको थियो र त्यसका लागिसमेत जग्गा रेखांकन र भवन निर्माणको न्युनतम लागत तयार पारिएको थियो,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले भन्यो, “तर, अहिले प्रधानमन्त्रीकै लागि अत्याधुनिक र सुविधासम्पन्न निवास बनाउने कुरा आएर नयाँ निर्णय गरिएको हो ।”बालुवाटारमा प्रधानमन्त्री बस्ने भवन बनाउनेबाहेक सरकारले भैंसेपाटीमा सांसद आवास गृह बनाउन १ सय ४९ रोपनी ४ आना जग्गा छुट्याइसकेको छ ।

सोही स्थानमा राष्ट्रिय सभाका अध्यक्ष तथाउपाध्यक्ष, उपसभामुख र मन्त्री क्वार्टरका लागि २७ वटा ब्लक तथा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क  कार्यालय स्थापना गर्न १४ वटा ब्लक निर्माण गर्ने निर्णय गरिसकेको छ । पुल्चोकस्थित मन्त्री निवास हटाएर राजकीय अतिथि गृह बनाउने सरकारको निर्णय छ । राजकीय अतिथि गृह बनाउनकै लागि नेपाल राष्ट्रिय पुस्तकालयको जग्गा समेत प्रयोग गर्ने सरकारको तयारी छ । अतिथि गृह बनाउन मन्त्री क्वार्टरले चर्चेको जग्गा अपुग भएपछि पुस्तकालयको जग्गा प्रयोग गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...