सालको पात… गाउँदा विवादमा परे रवि ओड



 

अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै…’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् ।

 

अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्रस्तुती हेर्दा कुनै तयारी बिना गाएको जस्तो देखिएको थियो । गीतको मुखडा नै बिगारेका उनले कुनै पनि लाइन राम्ररी गाउन सकेनन् र बढिजसो दर्शकतिर माइक तेस्र्याए ।

 

रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो । शब्द नै कन्ठ नगरी गीत गाएको भनेर धेरैले कमेन्ट गरेका छन् । गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरे । उनले एकातर्फ गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनुअघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए ।

 

तर, रविका फ्यानले उनीमाथि हल्लाबोल गरे । गालीगलौज नै हुन थालेपछि थापाले स्टाटस हटाएका छन् । तर, आफ्नो भनाइमा अहिले पनि अडिग रहेको बताउँछन् । ‘नेपाल आइडल भनिएको व्यक्तिले जथाभावी गाउँदा एउटा सिर्जनाको अपमान भएको छ, यसकारण म दुःखी भएको हुँ,’ उनले अनलाइनखबरसँग भने, ‘लोकगीत भनेरै हेपेर गाइएको हो भने त्यो सैह्य छैन ।’

 

अरुको सिर्जन अनुमतिबिना व्यवसायिकरुपमा गाउन नपाइने पनि उनी बताउँछन् । यस्तो कुरा गर्दा चर्को गाली सहनु परेको गुनासो गर्दै उनले भने, ‘कपिराइटको विषयमा हामी अझै ढुंगे युगमा नै रहेछौं भन्ने अनुभूति भयो । खासमा मैले व्यक्ति भन्दा पनि प्रवृत्तिमाथि प्रहार गरेको हुँ । म सर्जकको अधिकारको वकालत गरिरहने छु । रवि ओडसँग मेरो व्यक्तिगत वैमनश्यता छैन ।’

 

थापाले नेपाल आइडल ध्यान दिएर नहेरेकाले रविप्रति सुदूरपश्चिमेली जनताको सेन्टिमेन्ट बुझ्न नसकेको हुनसक्ने बताए । ‘मैले नेपाल आइडल आक्कल झुक्कल हेरेको हुँ तर, राम्ररी हेरेको छैन । उहाँप्रति भावनात्मक सम्बन्ध रहेछ । केही मानिस उहाँबारे नकारात्मक टिप्पणी सुन्नै चाहँदैन रहेछन्,’ उनले भने । उनले यो आफ्नो व्यक्तिगत मात्र नभई संगीत र प्रतिलिपी अधिकारसँग जोडिएको भन्दै उनले सम्बन्ध संघ–संस्थाले पहलकदमी लिने विश्वास व्यक्त गरेका छन् ।

 

यसैबीच थापाले म्यासेन्जरमा भएको वार्ताको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्, जसमा रविले गल्ती स्वीकारेको देखिन्छ । ‘मैले नसोधी गाएको छु र मिस्टेक पनि गरेको छु, सरी ल दाइ…’ वार्तामा रविले भनेका छन् । यसअघि पहिलो नेपाल आइडलका टप ३ गायकहरुलाई पनि वल्र्ड टुर गराइएको थियो । उनीहरुले पनि अनुमति बेगर नै पुराना गीतहरु कन्सर्टमा गाएका थिए ।

 

अरुको संगीतलाई व्यवसायिकरुपमा प्रयोग गर्दा अनिवार्यरुपमा वास्तविक सर्जकको अनुमति लिनुपर्ने रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी बताउँछन् । ‘मनोरञ्जनका लागि गाउन पाइन्छ तर, टिकट काटेर आएका दर्शकका अगाडि अरुको गीत बिना अनुमति गाउनु अनाधिकृत हुन्छ,’ उनले भने ।

 

नेपाल आइडलका प्रतियोगीहरुले देश विदेशका स्टेजमा अनुमति नलिएर अरुको गीत गाएको विषयमा रोयल्टी समाजले एपी वान टेलिभिजनसँग छलफल गरिरहेको उनले जानकारी दिए । ‘रोयल्टीका विषयमा हामीले एपी वानसित छलफल गरिरहेका छौं । रोयल्टी दिनुपर्छ भन्ने विषयमा उहाँहरुको सैद्धान्तिक सहमति छ । चाँडै सहमतिमा पुग्ने आशा राखेका छौं,’ अधिकारीले भने ।

 

यता लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी भने यस विषयलाई बहसका रुपमा लैजाने बताउँछन् । ‘नेपाल आइडलका गायक गायिकाले लोकगीतको प्रवर्द्धनमा योगदान दिनुभएको छ । तर, सर्जकको अनुमतिबिना यसरी गाउन पाइँदैन,’ उनले भने । यद्यपि, प्रतिष्ठानले यसमा तत्काल कडा कदम नचाल्ने उनले संकेत गरेका छन् । ‘तत्काल विज्ञप्ति जारी गरिहाल्ने वा कतै उजुरवाजुर गरिहाल्ने मनस्थितिमा छैनौं,’ उनले भने ।

 

रवि ओडले गीत बिगारेर गाएकोबारे प्रश्न गर्दा पंगेनीले भने, ‘सालको पात… गीतलाई रविले राम्ररी निभाउन नसकेको सत्य हो । यो एउटा संवेदनशील कुरा हुँदाहुँदै पनि रविको बिधा फरक भएको र स्टेज शोमा धेरै अनुभवी नभएकाले यसमा म धेरै आलोचना गर्न चाहन्न । उनले आफूलाई सुधार्छन् भन्ने अपेक्षा छ ।’

 

लोक सिर्जना कति मौलिक ?

त्यसो त लोक सिर्जना आफैंमा मौलिक नहुने र यसमा कसैको कपिराइट नलाग्ने तर्क पनि आएका छन् । पहिलेपहिले लोकगीतमा संगीतकारको नाम आउँदैनथ्यो । रेडियोबाट गीत बज्दा ‘संकलक’ र गायक–गायिकाको नाम मात्र भनिन्थ्यो । लोकगीतहरु सामान्यतया देशको कुनै भेगमा प्रचलित शब्दहरुलाई प्रचलित भाकामा गाइने भएकाले यसमा गीतकार वा संगीतकारको नाम लिइन्नथ्यो । तर, आजकाल भने अरु गीतमा जस्तै रचनाकार र संगीतकारको नाम पनि आउँछ ।

 

यस विषयमा गायक तथा प्रतिष्ठाका अध्यक्ष पंगेनी भन्छन्, ‘हो पहिले–पहिले लोकगीतहरु रचनाभन्दा पनि संकलन गरिन्थ्यो । संकलकहरुले देशका विभिन्न भागमा पुगेर शब्दहरु संकलन गर्थेँ, ती शब्दको वास्तविक सर्जक अज्ञात हुन्थ्यो । त्यसैले यसलाई कसैको व्यक्तिगत सिर्जना मान्न नसकिने स्थिति थियो । तर, आजकाल धेरै गीतहरु व्यक्तिगत रचना र संगीतमै बनेका हुन्छन् । त्यसैले तिनीहरुमा कपिराइट लाग्छ ।’

 

‘सालका पात..’ का संगीतकार बसन्त थापाले यस लोकदोहोरीमा आफ्नो मौलिक संगीत रहेको बताए । ‘यसको शब्द र संगीत दुवै मौलिक हुन् । कुनै प्रचलित शब्द र भाकामा गाएको होइन । यसमा हाम्रो प्रतिलिपी अधिकार छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने

    कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान

बालेनको पत्र प्राप्त भएको छैन, जरिवाना तिर्ने कुरा पनि हुँदैन: एमाले

    काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले

हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण