भारतको राजदूतमा निलाम्बर आचार्य नियुक्त
भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन् ।
संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्बाट भारतका लागि राजदूतमा सिफारिस भएका आचार्यलाई गत मंसिर २३ गते बसेको संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गरेको थियो ।
‘मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो ! सरकारलाई बधाई छ’
कांग्रेस सांसद गगन थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई दिएका छन् ।
सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी भएको उनले व्यग्य गरेका हुन् । ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ,’ संसदको आइतबार बैठकमा बोल्दै सांसद थापाले भने, ‘सरकारको अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’
डा. गोविन्द केसीको आन्दोलनका कारण रिसाएकाहरु अहिले खुसी भएको उनले बताए । मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा डाक्टर र विरामी खडा गरेर मेडिकल कलेज चलाउने, गौरीबहादुर कार्कीको न्यायिक आयोगले डामेकाहरु सबै खुसी भएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘लोकमानसिंह कार्कीदेखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्नेसम्म खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ ।’
बधाईको पात्र सरकारसँगै सरकार बनाउने पार्टी (नेकपा) पनि भएको थापाले बताए । आफूहरुले दुई तिहाईको दम्भ भन्दै आएपनि देख्न नपाएको भन्दै उनले भने, ‘अनाथ बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाको कानून बनाउँदा देख्न पाएनौं । भूमिहीन दलितका लागि संशोधन हाल्दा देख्न पाइएन ।’

शिक्षा र स्वास्थ्य राज्यको भूमिका बढाउन पनि दुई तिहाई देख्न नपाएको उनले बताए । प्रचण्ड सरकारकै पालामा चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम संशोधन गरेर मानमोहन अधिकारी चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेर संसदले कानून बनाउन मात्र बाँकी रहेको भन्दै उनले भने, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन । कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो । सरकार र सरकार बनाउने पार्टीलाई बधाई छ ।’


