गगन थापाले भने- नेविसंघले सरकारी गाडी जलाउनु राम्रो होईन
नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।
सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेको छ ।
आइतबार नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘…त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’
नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।
नेविसंघका कार्यकर्ताले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए । सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।
गोविन्द केसीको अनशनसँगै सकियो कांग्रेसको आन्दोलन, आजदेखि संसदको अबरोध हट्ने
नेपाल विद्यार्थी संघका पूर्व नेता समेत रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको अनशनसँगै कांग्रेसको आन्दोलन पनि सकिएको छ । केसीको माग पूरा गर्नुपर्ने नाममा संसद बैठकमा अबरोध गर्दै आएको कांग्रेसले अाफ्नै पहलमा केसीको अनशन तोडाएपछि संसदको अबरोध हटाउने निर्णय लिएको हो ।
आइतबार दिउँसो ३ बजे बस्ने संसदको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बाेधन गर्ने र बैठकमा गरिएको अबरोध अन्त्य गर्ने निर्णय भएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सरकारविरूद्धको रणनीति तय गर्न आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।