पत्नी सीतालाई उपचारका लागी अमेरिका लैजाने कुरा पति प्रचण्डको विज्ञप्तिले यसरी तुहियो,अमेरिकाले दियो यस्तो थ्रेट
भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध कडा विज्ञप्ति निकालेपछि त्यसको असर सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पारिवारिक मामिलामा समेत परेको छ।
भेनेजुएलाको आन्तरिक मामिलामा ‘साम्राज्यवादी अमेरिका’ ले हस्तक्षेप गरेको भन्दै विज्ञप्ति जारी गर्नुपूर्व प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा थिए।
‘पत्नी सीताको उपचारका लागि प्रचण्ड माघ पहिलो साता अमेरिका जाँदै थिए’ स्रोतले भन्यो, ‘यसका लागि काठमाडौँस्थित अमेरिकी दूतावासले सहजीकरण गरिदिएको थियो।’
प्रचण्ड, पत्नी सीता दाहाल, छोरी गंगा दाहाल र सीताको उपचारमा सहयोग गर्दै आएकी नर्स अम्बिका पनि अमेरिका जाने गरी भिसा लगाइसकिएको थियो।
तर, मौसमममा आएको अचानक परिवर्तनका कारण सीता बिरामी भइन्। भाइरलका कारण उनी निवास नजिकै रहेको धापाखेलस्थित सुमेरु अस्पतालमा ६ माघमा भर्ना भइन्।
सीतामात्र होइन, खानेपानी मन्त्रीसमेत रहेकी बुहारी बीना मगर पनि बिरामी भइन् र अस्पताल भर्ना गर्नुपर्ने अवस्थामा पुगिन्। अस्पताल भर्ना नभए पनि प्रचण्ड पनि बिरामी परे।
बिरामी भएर यता अस्पताल भर्ना गर्नुपरेपछि प्रचण्ड परिवारले सीताको उपचारका लागि अमेरिका जाने कार्यक्रम स्थगित ग¥यो। उनी निको भएपछि जाने योजना बनाइयो।
६ माघमा अस्पताल भर्ना भएकी सीता हप्ता दिन बढी बिताएर सुमेरु अस्पतालबाट १४ माघमा ‘डिस्चार्ज’ भएकी छन्। तर, डिस्चार्ज भएलगत्तै सीतालाई अमेरिका लैजाने कार्यक्रम तत्कालका लागि प्रचण्ड परिवारले स्थगित गरेको छ।
त्यसको कारण हो, भेनेजुएला प्रकरणमा नेकपा अध्यक्षका हैसियतमा प्रचण्डले ११ माघमा जारी गरेको त्यही कडा विज्ञप्ति।
सोही विज्ञप्ति निकाले लगत्तै काठमाडौँस्थित अमेरिकी दूतावासले सत्तारुढ दलका अध्यक्ष प्रचण्डको विज्ञप्तिप्रति सरकारको धारणा माग गरेको थियो।
अमेरिकी चासोप्रति मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले नेपाल सरकारका तर्फबाट आफ्नो धारणा सार्वजनिक गरिसकेको छ, १५ माघमा।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने नेपाल सरकारको मूल नीति रहेको स्मरण गराइएको छ।
नेपाल सरकारको धारणाका रुपमा आएको परराष्ट्र मन्त्रालयको प्रचण्डको विज्ञप्तिसँग मिल्दोजुल्दो छ, जसबाट काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीहरु सन्तुष्ट छैनन्। पत्नीको उपचारका लागि अमेरिका जाने योजना बनाएका प्रचण्ड परिवार यही कारण त्यसबाट पछि हटेको छ।
‘सीताको उपचारका लागि अमेरिका लैजाने विषयमा दूतावासको पनि सहयोग थियो’, स्रोतले भन्यो, ‘तर अकस्मात त्यस्तो विज्ञप्ति आएपछि अप्ठेरो स्थिति सिर्जना भयो।’
‘एक, अमेरिकालाई गाली गरेर विज्ञप्ति निकालेपछि नैतिक प्रश्न सिर्जना भयो’, स्रोतले भन्यो, ‘दुई, विज्ञप्तिले सिर्जना गरेको तनावका कारण अमेरिका गएपछि द्वन्द्वकालीन घटनासँग जोडेर केही हुने हो कि भन्ने भय पनि सिर्जना भयो।’
त्यही कारण तत्कालका लागि प्रचण्ड परिवारले सीतालाई अमेरिका लैजाने योजना त्यागेको स्रोतले बतायो।