प्रचण्डलाई प्रधानमन्त्री बनाउँने यस्तो छ भारतको गोप्य डिजाईन
ओली बाट पार नलाग्ने भन्दै प्रचण्डलाई प्रधानमन्त्री बनाउँन भारतमा गोप्य डिजाईन भएको खुलासा भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराबन्दीमा पार्नका लागि भेनेजुएला प्रकरणमा अमेरिकी पक्षधरताविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरेको खुलासा भएको छ ।
ओलीविरोधी पूर्वएमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहित नारायणकाजी श्रेष्ठको पनि सहमतिमा भेनेजुएला प्रकरणमा प्रचण्डले कडा विज्ञप्ति जारी गर्ने निर्णय भएको थियो ।
प्रचण्डलाई सहयोग गर्ने नेताहरू बालुवाटार बैठकमा ओली ढिलो आएको भन्दै बैठक छाड्ने र धुम्बाराही बैठकमा नेकपामा एकल अध्यक्ष हुनुपर्छ भन्दै प्रतिवेदन तेर्साएर दबाब दिने गुट हो ।
भेनेजुएलाको आन्तरिक राजनीतिका विषयमा विश्वसमुदाय दुई कित्तामा विभाजित भएका थिए । जुन विषयमा नेकपाले तत्काल मुख खोल्न जरुरी थिएन । तर, अमेरिकाले लिएको पक्षधरताविरुद्ध नेकपाले कडा प्रतिक्रियासहितको विज्ञप्ति जारी गरेको थियो । प्रचण्डले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा ‘अमेरिकी साम्राज्यवादी कू’ उल्लेख थियो ।
जुन विषयमा नेपालस्थित अमेरिकी नियोगले सरकारको आधिकारीक धारणा माग गरिसकेको छ । सरकारले यस विषयमा कुनै औपचारिक धारणा दिएको छैन । परराष्ट्र मन्त्रालयमार्फत मागिएको धारणाबारे मन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री ओलीसँग परामर्श जारी राखेका छन् ।
‘नेपालमा क्रिश्चियन भेला गराएर बदनामीको भारी बोकाउने, उत्तर कोरियासँग बारम्बार सम्बन्ध राख्ने, पश्चिमा विरोधी कित्तामा उभिएर प्रधानमन्त्री ओलीमाथि पनि निशाना राख्ने माधव नेपालसहितको समूह सक्रिय भयो’, उच्च स्रोतले भन्यो,‘उक्त समूहको सहयोगमा पूर्वएमाले बोकेर पार्टीमा आफ्नो हुकुमी शैली स्थापित गर्न प्रचण्ड पनि उद्दत देखिए ।’
प्रधानमन्त्री ओली स्विट्जरल्यान्डमा भएका बेला पार्टीका धारणा सार्वजनिक गर्न आवश्यक पनि थिएन । धारणा दिनु नै पर्दा सचिवालयको बैठक डाकी निर्णय गर्न सकिने थियो । तर, सीमित र ओलीविरोधी कित्तासँग डिनर गरेर विज्ञप्ति तयारी भएको कतिपयको आरोप छ ।
नेकपा स्थायी कमिटी सदस्य रघु जी पन्तले त एक अध्यक्ष यहाँ नरहेका बेला जारी गरिएको विज्ञप्तिका कारण नेकपालाई सकस भएको बताएका छन् । उनले उक्त विज्ञप्ति गलत हिसाबले आएको पनि उल्लेख गरिसकेका छन् ।
उता, जावलाखेल बैठकमा भने ओलीनजिक मानिएका इश्वर पोखरेल, सरकारमा रहेका मन्त्री तथा सचिवालय सदस्यहरू भने पुगेका थिएनन् । यहाँसम्मकी महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पनि बोलाइएको थिएन ।