अब अधिकारका लागि कसैले शहीद हुनुपर्दैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जली व्यक्त गरेका छन् । सो अवसरमा उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताए ।

 

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिंगो देश एकताबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षामार्फत देशलाई आर्थिक रूपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।

 

प्रधानमन्त्री ओलीले भने, ‘सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि संकल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।’ मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका हुन् । सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।

 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल सुखी नेपाली लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताए । कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो । दिवसका अवसरमा बुधबार काठमाडौं महानगरपालिकाले प्रभातफेरीको आयोजना गरेको थियो । गृहमन्त्री रामबहादुर थापालगायत विशिष्ट व्यक्ति र नागरिकको सहभागितामा रत्नपार्कस्थित शान्ति बाटिकाबाट शुरु भएको प्रभातफेरी लैनचौर पुगी समापन भएको थियो ।

 

जहानियाँ राणाशासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गंंगालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरूको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ । यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ । प्रदेश ३ सरकारले शहीद दिवसका अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...