मुख्यमन्त्री राउतले जनकपुर चुरोट कारखाना कब्जा गरे,उद्योग मन्त्री यादवले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय सरकारसँग कुनै समन्वय नै नगरेर सरकारी स्वामित्वको जनकपुर चुरोट कारखानाको भवनमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरेकोमा उद्योगमन्त्री यादवले आपत्ति जनाए ।

 

‘यति मात्र होइन, जनकपुर चुरोट कारखानाको बोर्ड हटाएर मुख्यमन्त्री कार्यालयको बोर्ड नै झुण्ड्याएका छन्,’ उनले भने, ‘त्यो अधिकार उहाँलाई कसले दियो ? कोसँग समन्वय गर्नुभयो ?’

 

आफू मन्त्री भएपछि मुख्यमन्त्री राउतसँग भएको  सौहार्दपूर्ण बैठकमा कारखानाको आवास परिसरमा मात्र मन्त्रालय तथा अन्य प्रयोजनका लागि उपयोग गर्ने भनेर तत्काल बस्न दिएको मन्त्री यादवले बताए । ‘उहाँले त कारखानाको सबै जग्गा नै कब्जा गरेर बस्नुभएको छ,’ उनले भने, ‘जनकपुर चुरोट कारखानाको नाम नै परिवर्तन गरेर ‘मधेश भवन’ राख्नुभयो । तर त्यसबारे औपचारिक रुपमा उहाँले मलाई जानकारी नै गराउनुभएको छैन ।

 

जनकपुर चुरोट कारखानाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आइतवार मन्त्री यादवले भने, ‘मैले पनि उहाँजस्तै जबर्जस्ती त्यो बोर्ड उखेलेर फाले भने के हुन्छ ? मातृका मधेश विरोधी, संघीयता विरोधी भनेर आरोप लगाउँदै उहाँले मेरो विरोध गर्नुहुनेछ । त्यसकारण उहाँले बस्ने नै हो भने कारखानाको परिसरमा होइन कि आवासीय क्षेत्रमा बस्नुपर्छ ।’

 

जनकपुर चुरोट कारखाना सञ्चालन गर्न खोज्दा प्रदेश सरकारले बाधा पुर्याउने काम गरेको उनले आरोप लगाए । ‘निजी तथा सार्वजनिक साझेदारीमा कारखानालाई सञ्चालनमा ल्याउन आफूले तयारी पनि गरेको छु ।

 

वैदेशिक लगानीकर्ता खोजेर निरीक्षण गर्न पठाएको पनि छु,’ उनले भने, ‘तर यहाँ विदेशी लगानीकर्ता स्थलगत आउँदा कारखानाको जग्गा सबै प्रदेश सरकारले ओगटेको अवस्थामा निराश भएर जाने गरेको छ ।’ हालसम्म कारखाना सञ्चालनका लागि ३ वटा चिनियाँ र २ वटा भारतीय लगानीकर्ता गरी ५ वटा विदेशी लगानीकर्तासँग निरन्तर संवाद र सम्पर्क गरिसकेको मन्त्री यादवले बताए ।

 

प्रदेश सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा समेत चुरोट कारखानासहित रुग्न रहेका सार्वजनिक संस्थानका उद्योग सञ्चालनमा ल्याउन संघीय सरकारसँग समन्वय गर्ने निर्णय गरेको थियो । मन्त्री यादवले भने, ‘त्यसअनुसार मैले आफैं पनि मुख्यमन्त्री ज्यूसँग कुरा गर्दा अहिले वीरगञ्जको चिनी मिल सञ्चालन पहिले गर्नुस्, अनि पछि मात्र चुरोट कारखानाको कुरा गर्नुहोला भनेर उहाँले जवाफ दिनुभयो ।’

 

चुरोट कारखाना सञ्चालनबारे उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रको सूर्या कम्पनी त चलिरहेकै छ । त्यसतर्फ मिडिया वा मानवअधिकारकर्मीको किन ध्यान पुग्दैन ?’ युरोपमा महिला–पुरुष सबैले चुरोट खाइरहेकातर्फ कसैले प्रश्न नगरेको बताउँदै उनले भने, ‘चुरोट कारखाना सञ्चालनमा ल्याउने पक्षमा सरकार दृढ छ ।’ पब्लिक प्राइभेट पार्टनरशिपको मोडेल होस् वा व्यवस्थापन लिजमा दिएर नै किन नहोस् कारखाना सञ्चालनमा ल्याइछाड्ने उनले बताए ।

 

‘ठीकै छ चुरोट कारखाना नचल्ला तर अन्य कारखाना पनि त त्यसमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि प्रदेश सरकारले अनाधिकृत रुपमा कब्जा गरेको भवन त खाली गर्नुपर्यो नि !’ कारखानाको भवन हुँदा मात्र जनकपुरधाममा राजधानी रहने भन्ने कुरा नहुने भन्दै उनले राजधानीका लागि अन्य स्थान पनि खोज्न सकिने बताए । संविधान संशोधनको विषयमा आफूभन्दा पनि उपेन्द्र यादव र राजेन्द्र महतोहरूको प्रधामन्त्रीस्तरमै कुरा भइरहेको बताउँदै उनी पन्छिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...