करेन्ट लागेको घट्ना बढे पछि कुलमान घिसिङको ध्यानाकर्षण : भने अब सबै बिजुलीका तार अन्डरग्राउण्ड बिच्छाउने छौं
जनकपुरमा मोटरसाइकलमा पोलमा ठोक्किँदा तार खसेर दुई जनाले ज्यान गुमाएको एक हप्ता नबित्दै शुक्रबार धनुषा जिल्लाकै सबैलामा जन्ती लिएर आएको बसमा करेन्ट लागेर ६ जनाले ज्यान गुमाए ।
बिजुलीका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै सर्वसाधारणले विद्युतीय जोखिम व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाउन थालेका छन् ।
यस्ता घटनालाई गम्भीररुपमा लिएर व्यवस्थापकीय र जनचेतनामुलक कामहरु गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
गाउँ–शहरमा विद्युतीय वितरण लाइन धरापजस्तै बने । धनुषाको घटनाले विद्युतीय दुर्घटनाका विषयलाई गम्भीर ढंगले लिनुपर्ने देखिएन र ?
हो, हामी यस विषयमा पहिल्यैदेखि सचेत छौं । शुक्रबारको घटनालाई हामीले मसिनो गरेर हेर्यौं । कोही मान्छे विजुलीको झड्का लागेर मर्नुपर्ने र अंगभंग तथा घाइते हुनुपर्ने विषय ज्यादै दुःखद हो । शुक्रबार धनुषामा भएको घटनाले म लगायत मेरो टिम नै मर्माहत छ ।
शुक्रबार त्यो गाडीमाथि दाइजोमा आएको ट्यांका राखेर ल्याइएको रहेछ । त्यसभन्दा अघि गएका गाडी विनाअवरोध कटे पनि अर्कोमा दुःखद घटना भयो । सडकमा तारको क्लियरेन्स कम भएकाले छतमा रहेका यात्रु हतार–हतार पछाडिको भर्याङबाट ओर्लन खोजेछन् । त्यसकारण पनि ठूलो मानवीय क्षति भयो ।
बसभित्र ५०÷६० जना रहेछन्, छतमा बसेकाहरुले नै ज्यान गुमाउनुपरेको देखियो । यो घटनाले हामीलाई अझै बढी सचेत गराएको छ । कसैले पनि यसरी मृत्युको मुखमा पुग्न नपरोस् भनेर हामीलाई झक्झक्काएको छ ।
तर, यो घटनामा प्राधिकरणको भन्दा बढी लापरवाही अरुबाटै भएको छ । तर, जे होस् घटनाप्रति दुःख छ । हामी यस्तो दिन नदोहोरियोस् भनेरै काम गर्छौं ।
पछिल्लो समयमा यस्ता घटनाहरु बढ्दै गएका छन्, यसलाई सर्वसाधारणले त प्राधिकरणको लापरवाहीका रुपमा ब्याख्या गर्न थालिसके नि ?
विद्युतीय सुरक्षाको विषय पछिल्लो समयमा निकै गम्भीररुपमा उठेको छ । हिजो लोडसेडिङमा हु्ँदा अधिकांश समयमा लाइन नै आउँदैन थियो, त्यसका कारण दुर्घटना कम भएको जस्तो थियो । धेरै समय लाइन नै नआउने भएपछि सुरक्षाका विषय ओझेलमा पनि थिए ।
अब त्यो अवस्था छैन, २४ घण्टा नै लाइन आउँदैछ, हरेक पलमा जोखिम छ । त्यसैले हामीले पनि यो विषयलाई निकै गम्भीरतापूर्वक लिएका छौं । काम पनि थालेका छौं । घटना हुँदा जसको दोष भए पनि बिजुली लागेर कोही पनि मर्नु नपरोस् भन्नेमै हामी केन्द्रित छौं ।
अहिले सर्वसाधारण मात्रै हैन, प्राधिकरणका कर्मचारी र निजी क्षेत्रमा कार्यरत इलेक्ट्रिसियन पनि यस्ता दुखद् घटनाको शिकार बनिरहेका छन् । यो हुनु हुँदैन । हामीले गरेको अहिलेको प्रयासले पर्याप्त छैन, हामी थप काम गर्दैछौं । परिणाम विस्तारै आउँछ ।
सडकहरुमा तार खसेर, लत्रिएर बढी दुर्घटना भइरहेका छन्, यसमा अलि बढी सचेत हुुनुपर्ने हैन ?
यस्तो हुनुहुँदैन, हामीले अब सडकमाथिबाट तार क्रस हुने स्थानहरुमा पनि कभर कन्डक्टरलाई हाल्ने योजना बनाएका छौं । मुख्य रोडहरुमा हामी विशेष निगरानी गर्छौं, र आवश्यक कदम उठाउँछौं, यो जरुरी नै देखिएको छ ।
शहरी क्षेत्रमा त झन नांगो तारको जोखिम उच्च हुन्छ । कसैगरी दुर्घटना भयो भने त्यो सानो क्षति हुँदैन । त्यसलाई मनन गरेर नै हामीले काम गरेका छौं । तराईका सडकहरुमा यो जोखिम अझ बढी छ ।
सडकका तारहरुको ‘क्लियरेन्स’ बढाउनुपर्ने छ । गाडीले नछुने मात्रै हैन, केही समान राखेर ल्याउँदा नछुने होस् । जोखिम हुने ठाउँमा कभर कन्डक्टर नै उपयुक्त हुन्छ । अब क्रमैसँग नांगो तारलाई जोखिमयुक्त ठाउँबाट हटाउनैपर्छ ।
हामीले एडीबी र विश्व बैंकको सहयोगमा गरिरहेका ग्रामीण विद्युतीकरणको काममा पनि नांगो तार प्रयोग गरेका छैनौं, सबै ठाउँमा कभर कन्डक्टर नै राखेका छौं ।
अहिले हामीले सबस्टेशनहरु थप्ने कामलाई पनि प्राथमिकता राखेका छौं । यसले पनि दुर्घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्छ । छोटो दूरीमा सब–स्टेशन छ भने दुर्घटनाको समयमा बिजुली छिटो काटिन्छ । यो काम पनि लाइनलाई विश्वसनीय बनाउन र दुर्घटना कम गराउनकै लागि हो । यसलाई ब्यापकता दिन अत्यावश्यक छ ।
अहिलेसम्म त प्राधिकरणले गरेका प्रयास फिल्डमा जनताले महसुस गर्न पाएका छैनन्, विद्युतीय सुरक्षाको कुरा प्राधिकरणको मात्रै जिम्मेवारी हो कि अरुले पनि यसमा भूमिका खेल्नुपर्छ ?
यसमा धेरै पक्ष छन् । हामीले बिजुलीको नांगो तार छुँदा हुने जोखिमबारे पनि पर्याप्त बुझाउन सकेका छैनौं । कतिपय क्षेत्रमा बिजुली चोरी गर्न हुकिङ गर्दा पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । यस्ता घटना त कति बाहिरै आउँदैनन् ।
घर तथा अफिसमा बिजुलीको काम गर्नेहरुले पनि आफ्नो सुरक्षामा ध्यान दिने गरेका छैनन् । हेल्मेट लगाउने, ग्लोभ्स लगाएर काम गर्ने त नेपालमा कसैको बानी नै छैन । यसले पनि विद्युतीय दुर्घटनाको जोखिम बढाएको हो ।
प्राधिकरणले विद्युतीय दुर्घटनामा ज्यान गुमाएकाका परिवार र घाइते भएकाहरुको उपचारमा वर्षमा ८–१० करोड खर्चनुपर्छ । हामीले पूर्वाधारलाई सुधार गर्यौं र जनचेतना बढायौं भने यसमा निकै कमी आउने थियो ।
विद्युतीय दुर्घटनाको जोखिम अहिले प्राधिकरणकै कार्यस्थलमा पनि उत्तिकै छ । हाम्रा धेरै कर्मचारीले पनि दुःखद घटना बेहोर्नु परिरहेको छ । यो सबै कुरा देख्दा देख्दै प्राधिकरण टुलुटुलु हेरेर मात्रै बस्न सक्दैन । तर, यसमा हामीलाई सर्वसाधारणको पनि सहयोग चाहिएको छ ।
विजुलीलाई सुरक्षित रुपमा वितरण गर्ने काम त प्राधिकरणकै हुन्छ, यसमा सर्वसाधारणसँग तपाईंहरुको अपेक्षा के हो ?
हामीले व्यवस्थापकीय भूमिका खेल्छौं, यसमा कुनै शंका गर्नु पर्दैन । तर, विद्युतीय असुरक्षा भएका स्थानहरुबारे सबैभन्दा छिटो र धेरै सूचना स्थानीय क्षेत्रका बासिन्दालाई नै हुन्छ ।
कहाँ तार लत्रिएको छ, कहाँ पोल भाँचिन लागेको छ, कता पोल थप्नुपर्नेछ, कहाँ जोखिम भएको छ, लगायतका सबै कुरा स्थानीय क्षेत्रमा पहिले थाहा हुन्छ । यस्तो जानकारी प्राधिकरणको सम्बन्धित शाखामा तुरुन्तै गराउनुपर्छ ।
यस्तै विद्युतका विषयमा कसैले लापरवाही गर्नुभएन । यो निकै संवेदनशील हो भन्ने कुरालाई मनन गर्नुपर्यो । त्यसैले यसका न्युनतम् प्राविधिक पक्ष र जोखिमबारे जान्ने बुझ्नेसँग पर्याप्त ज्ञान लिनु भयो भने सबैलाई फाइदा हुन्छ ।
तपाईंले जोखिमहरुबारे प्राधिकरणलाई जानकारी गराउने त भन्नु भयो, तर कतिपय ठाउँमा प्राधिकरणका कर्मचारीले जानकारी हुँदाहुँदै बेवास्ता गर्छन् नि ?
कतिपय स्थामना हाम्रा कर्मचारीले पनि बेवास्ता र लापरवाही गर्ने गरेको सुन्छौं, यस्तो हुनुहँदैन । यसमा प्राधिकरणले पनि कडाइ गर्छ । हामी कर्मचारीलाई स्पष्ट निर्देशन पनि दिन्छौं, आफ्नो जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन ।
सबैले बुझ्नुपर्छ, विद्युत हाम्रो दैनिक जीवनयापन सहज बनाउनका लागि हो, यो कसैको अकाल मृत्यु र दुःखद दुर्घटनाको कारण बन्नु हुँदैन । त्यसैलेसेचत भएर नै दुर्घटना काम गर्न सबैले भूमिका खेलौं ।
विद्युतीय सुरक्षाका मामिलालाई खेलाँचीको विषय बनाउनु भएन । प्राधिकरणबाट कतै लापरवाही भएको रहेछ भने हामी पनि सच्याउँछौं, सबै पक्षले यसमा सचेत भूमिका निभाउन जरुरी छ । मिडियाले पनि यसमा जनचेतनाका लागि भूमिका खेल्नुपर्छ ।
अहिलेसम्म हामीले गरेका काममा सर्वसाधारणबाट पर्याप्त सहयोग प्राप्त भएको छ, यसमा पनि सबैले सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौं ।
विद्युत प्राधिकरणले चाहिँ जोखिम कम गर्न के कस्ता नयाँ योजना बनाएर काम गर्दैछ ?
हो, यो हाम्रो जिम्मेवारी हो । यसका लागि हामीले दुईवटा काम सँगसँगै गनुपर्ने छ, पहिलोः विद्युतको जोखिमबारे जनचेतना जगाउने र दोस्रोः पूर्वाधारलाई पनि कम जोखिमयुक्त हुने गरी सुधार्ने ।
जनचेतनाका लागि ब्यापक रुपमै एउटा अभियान चलाउनुपर्ने मैले महसुस गरेको छु । बिजुली र विद्युतीय उपकरणको कसरी प्रयोग गर्ने, कस्तो अवस्थामा जोखिम बढी हुन्छ, बिजुलीको काम गर्दा कसरी गर्ने, वितरण तथा प्रसारणलाइनमा कस्तो अवस्थामा बढी ‘रिस्क’ हुन्छ । यी लगायतका विषयमा बुझाउन आवश्यक छ । विजुलीका प्राविधिक पाटोमा सर्वसाधारणलाई पर्याप्त ज्ञान नभएको हामीले पाएका छौं । यसबारे एउटा अभियानै जरुरी देखियो, हामी गर्छाैं ।
हामीले पूर्वाधार सुधार्ने काम भने सुरु गरिसकेकका छौं । हामीले काठमाडौंका केही क्षेत्रमा तारहरुलाई अन्डरग्राउन्ड (भूमिगत) गर्ने काम थाल्न लागेका छौं । मुख्यरुपमा विद्युतका कारण हुने दुर्घटना रोक्न नै यो काम थालिएको हो ।
यो कामलाई हामी देशका धेरै जनघनत्व भएका शहरहरुमा विस्तारको योजना बनाउँदैछौं । यो काम त्यति सजिलो छैन, हरेक हिसावले चुनौतीपूर्ण छ । सुरक्षाका लागि यो महत्वूर्ण भएकाले हामीले आँटेका छौं । यो काम हुन्छ ।
सबै ठाउँमा तार अन्डरग्राउन्ड गर्न सम्भव होला ?
हामी विकल्पहरुमा पनि काम गरिरहेका छौं । विद्युतीय दुर्घटनाको जोखिम घटाउने अर्को उपाय भनेको नांगो तार हटाएर प्लास्टिकको कभर भएका तारलाई हाल्नु हो । तर, सबै क्षेत्रमा हालै यो सम्भव छैन । जापानजस्तो देशले पनि सबै नांगो तार हटाएको छैन । हामीजस्तो देशलाई झन कठिन छ ।
तर, मुख्य जोखिमयुक्त शहरी इलाकामा यसको प्रयोग तत्कालै गर्नुपर्छ । धेरै मान्छेहरुको आउ–जाउ र बसोबास भएको तथा नांगो तारले जोखिम निम्त्याउने देखिएका क्षेत्रमा ‘कभर कन्डक्टर’ (प्लास्टिकको कभर भएको तार) हाल्न लागिरहेका छौं । यो कामपछि दुर्घटनाहरु घटेर जान्छन् । हामी विस्तारै नांगो तार हटाउँदै जान्छौं ।
नांगो तारले गाउँघरमा त समस्या छ नै, शहरी क्षेत्रमा त झन बढी जोखिम देखिन्छ, हैन ?
हो । कतिपय बाक्लो बस्ती भएको शहरी इलाकाका गल्ली–गल्लीमा मैले नांगो तार देखेको छु । अस्तिमात्रै पाटनको च्यासलतिरको गल्लीमा गएको थिएँ, त्यहाँका घरका झ्यालबाट कसैले असवाधानीपूर्वक हात निकाल्यो भने नांगो तारमै छुने अवस्था रहेछ । त्यो देखेरै मलाई डर लाग्यो ।
यो अवस्था त हुनु हुँदैन भनेर नै हामीले ५ हजार किलोमिटरको कभर कन्डक्टर किन्न लागेका छौं । टेण्डर भइसकेको छ । अब यस्ता जोखिमयुक्त ठाउँमा त्यसलाई हाल्ने योजना छ । तर, बजेट धेरै चाहिने भएकाले सबै ठाउँमा हाल्न यो सम्भव पनि छैन ।


