निर्मला पन्तका हत्यारा बचाउन मानवअधिकार संगठनले गर्यो यतिसम्म बदमासी



हाम्रो इकोनोमि

 

निर्मला पन्त हत्याकाण्डलाई सुनियोजित रुपमा गलत मोड दिने नेपाल मानव अधिकार संगठनले आफ्नो प्रतिवेदन सच्याउन अहिलेसम्म कुनै पहल गरेको छैन । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले गत असोजमा सार्वजनिक गरेको प्रतिवेदन वास्तविक अपराधी लुकाउने उद्धेश्यसाथ तयार गरेको स्थानीयहरुको भनाई बाहिर आएपछि खुलासा भएको हो ।

 

विखण्डनकारी सीके राउतको पक्षमा खुलेआम उभिएको यो संगठनले निर्मला पन्त हत्याकाण्डको ‘स्थलगत प्रतिवेदन’ गत असोज २० मा सार्वजनिक गरेको थियो । अर्यालको प्रतिवेदनले प्रतिवेदनमा किरण विष्ट र आयुष विष्टको नाम हत्याका आशंकितका रुपमा उल्लेख गरेको थियो । तर, प्रहरी अनुसन्धानले हत्यामा यी दुईको संलग्नता कुनै पनि कोणबाट पुष्टि भएन ।

 

उनको प्रतिवेदनले हत्याका मतियारका रुपमा वविता वम र रोशनी वमको नाम उल्लेख गरेको थियो । उनले ववितालाई ओपेरा होटलको डान्सर भनी प्रतिवेदनमा उल्लेख गरेका छन् । तर, अहिले वविता डान्सर नै नभएको पुष्टि भइसकेको छ । लास भेटिनु भन्दा अघिल्लो दिन बविता र रोशनी बमको घरमा होमवर्क गर्न आएर फर्केकी निर्मलालाई बम दिदीबहिनीकै घरमा हत्या गरिएको र हत्या गरेर उनीहरु ओपेरा होटेलमा गएको उनको प्रतिवेदनमा उल्लेख छ ।

 

निर्मलाकी साथी रहेकी रोशनीसँगै विद्यालयको होमवर्क गरेर निस्केकी निर्मलाको भोलिपल्ट निर्मला र बम परिवारको बीचमा डेढ किलोमिटर पर उखुबारीमा लास फेला परेको थियो । बम परिवारका छिमेकी सबैले अर्यालको प्रतिवेदन झुठो भएको वताइसकेका छन् ।

 

निर्मला बम परिवारको घरबाट निस्केपछि पनि छिमेकी केटाकेटी उनीहरुको घरमा गएको, अम्बा खाएको र त्यसबेला निर्मला निस्किसकेको छिमेकीहरुको बयान सार्वजनिक भइसकेको छ । तर, अर्यालले अहिलेसम्म बम परिवारका छिमेकीसँग त्यस दिन त्यहाँ के भएको थियो भन्ने सोधेका छन् न उनको प्रतिवेदन झुठो ठहर भएपछि त्यसलाई सच्याएर माफी मागेका छन् । बरु अर्यालले केहि दिन अघि एक युट्युब च्यानललाई दिएको अन्तरवार्तामा ‘बम दिदीबहिनी निर्दाेष भए ओपेरा होटेलको भिडियो फुटेजमा आफू नरहेको देखाउन’ भनेका छन् ।

 

सामान्य कानुनी सिद्धान्त अनुसार पनि बम दिदी बहिनी ओपेरा होटलको डान्सर भएको र हत्याको दिन त्यहि होटेलमा भएको उनले दावी गरेपछि उनीहरुलाई भिडियो फुटेजमा देखाउने दायित्व पनि अर्यालकै हुन्छ । तर, विना आधार संगीन आरोप लगाएर दुई बालिकाको जीवन वर्वाद पार्ने र उनीहरुको सामाजिक इज्जत प्रतिष्ठामा आघात पुर्याउने अर्यालले आफूले गरेको दावी पुष्टि गर्ने दायित्व पनि तिनै अवोध बालिकामाथि थोपर्न खोजेका छन् ।

 

छिमेकीहरुले भने प्रत्यक्ष साक्षीका रुपमा रहेका आफूहरुलाई सोध्दै नसोधी घटनालाई अर्कैतिर मोड्न र त्यसैको आडमा राज्यलाई अपराधीसम्म पुग्न नदिई अस्थिरता फैलाउने उद्धेश्यले निर्दाेष बम परिवार विरुद्ध प्रतिवेदन बनाएको वताएका छन् ।

 

त्यसैगरी अर्यालले निर्मला वेपत्ता भएको दिन वम दिदीबहिनीको घर नजिकै भैंसी ब्याएको भनी घटनालाई तिलस्मी रुप दिन प्रतिवेदनले प्रयास गरेको थियो । तर, उनीहरुको घर नजिकै भैंसी व्याएको कतैबाट पनि पुष्टि भएन ।

 

निर्मलाको साइकल उनी वेपत्ता भएको भोलिपल्ट देखिएको भनी प्रतिवेदनमा उल्लेख छ । साधारण लाग्ने यो गलत तथ्यले घटना सम्बन्धमा समाजमा ठूलो भ्रम सिर्जना भएको थियो । निर्मलाको साइकल अघिल्लो दिन नै घटनास्थलमा देखिएको पुष्टि भइसकेको छ । साइकल अघिल्लै दिन घटनास्थलमा देख्ने छिमेकीको बयान बाहिर आइसकेको छ ।

 

साइकलअघिल्लै दिन फेला परेको तथ्य लुकाएर बम दिदीबहिनीलाई दोषी देखाउने र उनीहरु विरुद्ध झुठा रिपोर्ट बनाउने काम आपराधिक भएको बम दिदीबहिनीका छिमेकीले वताएका छन् । हत्यारा लुक्ने वातावरण बनाएर निर्मला प्रकरणलाई राजनीतिक मोड दिने अपराधी कहिल्यै फेला पार्न नसक्ने दिशातिर अनुसन्धानलाई मोड्न यस्तो प्रतिवेदन बनाइएको आशंका हुन थालेको छ । अपराधी लुक्न सक्ने दिशातिर परिस्थितिलाई धकेल्ने, त्यसो भएपछि अपराधी पत्ता लाग्दैन र सरकारले अपराधी संरक्षण गरेको प्रचार गरिरहने उनको उद्धेश्य स्पष्ट देखिन्छ ।

 

प्रतिवेदनले निर्मला हराएको रात महेन्द्रनगरको ओपेरा होटलमा एक वर्थडे पार्टी भएको र त्यसमा घटनासँग सम्वन्धित मानिसहरु भएको उल्लेख गरेको थियो । प्रतिवेदनमा उल्लेख भएको यो कुराले पनि निर्मला हत्या प्रकरणमा समाजमा अनेकौं अफवाह र भ्रम सिर्जना गर्ने काम गरेको थियो ।

 

निर्दाेषलाई अपराधी बनाउन संगठनले खडा गरेको काल्पनिक कथ्य सवै झुठो रहेको बम दिदीबहिनीका छिमेकीका बयान र अन्य तथ्यहरुले पुष्टि गर्छन् । निर्दाेषलाई फसाउँदै सामाजिक इज्जत प्रतिष्ठामा क्षति पुर्याउने र त्यसैको आडमा अपराधी लुक्ने आधारभूमि खडा गर्ने काम उक्त प्रतिवेदनले गरेकाले संगठनका अध्यक्ष अर्यालमाथि कारवाही हुनुपर्ने माग बम दिदीबहिनीले पनि गर्दै आएका छन् ।

 

प्रतिवेदन निहित उद्देश्य राखेर कोठामै तयार पारिएको प्रष्ट भइसकेको छ । तर, संगठनले अहिलेसम्म माफी माग्ने र प्रतिवेदन सच्याउने काम गरेको छैन ।कसैको व्यक्तिगत जीवन यति क्षत विक्षत पार्नेगरी यस्तो कार्य गरे कानुनी सजायको भागिदार हुन्छन् । अर्यालको प्रतिवेदनले बम दिदीबहिनीलाई ओपेरा होटेलको डान्सर, घरमै भिआइपीलाई ल्याएर यौन धन्दा चलाउने वेश्या र निर्मलाको हत्याको मतियार समेत भनेको छ ।

 

यहि प्रतिवेदनलाई आधार बनाएर सञ्चार माध्यमले त्यसबेला समाचार सम्प्रेषण गरेका कारण उनीहरुले अहिलेसम्म चरम मनोसामाजिक यातना भोगिरहेका छन् । उनीहरुको पढाई छुटेको छ, साथीभाइ र आफन्तिहरु छुटेका छन् । घरमै नजरबन्दीको जस्तो जीवन विताइरहेका छन् । उनीहरु आफूलाई परेको अन्याय मिडियासामु राख्न गत साता काठमाडौं आएका छन् । काठमाडौं आउँदा पनि अर्यालकै सहधर्मी शारदा चन्द, भूमि फूलारा र मिना भण्डारी लगायतले उनीहरुलाई जिल्ला छोडेर काठमाडौं नजान धम्की दिएका थिए ।

 

प्रहरीले लामो अनुसन्धान गरी निर्दाेष प्रमाणित गरेका उनीहरुलाई यसरी स्थानहद जारी गर्ने व्यक्तिहरुमाथि सख्त कारवाही हुनुपर्ने आवाज स्थानीय रुपमा उठ्न थालेको छ । अधिकार कर्मीको आवरणमा डरलाग्दो हत्या काण्डलाई गलत दिशातिर मोड्ने उद्धेश्यसाथ कानुन अनुसार निर्दाेष प्रमाणित व्यक्तिलाई हिंडडुलमा समेत प्रतिबन्ध लगाउन धम्की दिनेमाथि कानुनी कारवाही गर्नुपर्ने आवाज उठेको हो ।

 

बम दिदीबहिनीलाई वेश्या, हत्यारा र चरित्रहीन भएको दोष लगाउँदै प्रतिवेदन तयार गर्न संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, महासचिव महामुनीश्वर आचार्य र संगठनका कञ्चनपुर अध्यक्ष त्रिभुवन भट्ट सक्रिय थिए । उनीहरुले ‘स्थलगत’ अध्ययनबाट तयार पारेको भन्दै मिडियाबाजी गरे । तर, उनीहरु वम दिदीबहिनीको घर त के छरछिमेकमा पनि नपुगी प्रतिवेदन तयार पारेको पुष्टि भइसकेको छ ।

दुई बालिकाको व्यक्तिगत जीवनमा यति कहालीलाग्दो क्षति पुर्याउने नेपाल मानव अधिकार संगठनका अध्यक्ष अर्याललाई हदैसम्मको कारवाही गरी क्षतिपूर्ति भराउनु पर्ने अवाज स्थानीय स्तरमा उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...