भेनेजुयला प्रकरणले नेकपामा विवाद,ओली प्रचण्डबीच आरोप प्रत्यारोप
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र फेरि आपसी असमझदारी चुलिएको छ । प्रधानमन्त्री एवम् नेकपाका आधा अध्यक्ष केपी शर्मा ओली स्वीजरल्याण्ड रहेका बेलामा पार्टीका अर्का आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड) ले भेनेजुएलाका सन्दर्भमा पे्रेस विज्ञप्ति जारी गरेपछि ओली प्रचण्डसंग रिसाएका हुन् ।
आफूसँग कुनै सरसल्लाह नै नगरी भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै हतारिएर प्रचण्डले प्रेस विज्ञप्ति जारी गरेको भन्दै ओली प्रचण्डसंग रिसाएका हुन् । प्रचण्डको पछिल्लो विज्ञप्तिले अमेरिकासंग नेपालको बन्दै गरेको थप सुमधुर सम्बन्धमा असर पर्न सक्ने भन्दै नेकपाभित्र आरोप प्रत्यारोप भैरहेको बुझिएको छ ।
इन्डोनेसिया प्यासिफिकका क्रममा नेपाल र अमेरिकाबीच निकटता भइरहेका बेलामा प्रचण्डले विज्ञप्ति जारी गरेर अमेरिकाको विरोध जनाएपछि प्रचण्ड ओली सम्बन्धमा दरार आएको हो ।
यो विज्ञप्ति जसले ल्यायो सम्बन्धमा दरार
प्रचण्डले भेनेजुएलामा गहिरिएको राजनीतिक संकटको विषयमा कडा विज्ञप्ति निकालेका थिए । उनले भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिकाले साम्राज्यवादी नीति लिएको भन्दै त्यसको निन्दा गरेका थिए । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी अमेरिकाले साम्राज्यवादी नीति लिएको आरोप उनको छ ।
जुवान गुआइडोले आफैलाई राष्ट्रपति घोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्कालै समर्थन गर्नुले प्रजातान्त्रिक ढंगले निर्वाचित भेनेजुएलाका राष्ट्रपति र जनता विरुद्ध त्यहाँ ग्रान्ड डिजाइन प्रष्ट भएको प्रचण्डले आरोप लगाएका छन् ।
उनले वक्तव्यमा यो साम्राज्यवादी कु र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै उनले वक्तव्यमा अमेरिकाले भेनेजुएलामा अमानवीय आर्थिक नाकाबन्दी गरेर शुन्यता र हिसांको अवस्था ल्याई सैनिक हस्तक्षेप गर्ने प्रयास एक दशक अघिदेखि नै गरेको आरोप समेत लगाएका छन् ।
देशको नीतिमाथि नै प्रश्नचिन्ह
यो विज्ञप्तिले नेपालको अमेरिका नीति के हो भन्ने प्रश्नचिन्ह खडा गरेको छ । एकातिर प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेटेर नेपाल–अमेरिका सम्बन्ध थप मजबुद बनाउने प्रयासमा देखिन्छन् भने अर्कातर्फ सत्ताधारी दलकै आधा अध्यक्ष विज्ञप्ति निकालेर अमेरिकी हस्तक्षेपको विरोध गरिरहेका छन् ।
सरकारले विदेश नीतिमा सजग रहेको भनिरहँदा यसरी प्रचण्डले निकालेको विज्ञप्तिले नेकपाभित्र मात्र हैन समग्र नेपाललाई नै सोच्न वाध्य पारिएको विश्लेषण विज्ञहरुले गर्न थालेका छन् ।
ओली सरकारले केवल छिमेकी राष्ट्रहरु भारत र चीनसंगको सम्बन्ध बनाउन लागिपरेको र दोहोरो भूमिका खेलिरहेको आरोप लागिरहँदा प्रचण्डको विज्ञप्ति, ओलीको योजना र आपसमा देखिएको टकरावले नेकपालाई त ध्वस्त पार्ने छ नै अमेरिकाको नेपाल हेराइमा समेत गम्भीर असर पर्ने संकेत देखिएको छ ।
भेनेजुएलाको विषयमा अहिले नेपालले बोल्न आवश्यकसमेत नभएको तर्क पनि गरिएको छ । भेनेजुएलाको विषयमा प्रतिक्रिया दिएर प्रचण्डले आफ्नो खुट्टामा बञ्चरो हानेको समेत विश्लेषण हुन थालेको छ ।
विज्ञप्ति स्वविवेकले कि नियतवश ?
प्रचण्ड नेकपाका आधा अध्यक्ष भए पनि पार्टीले निकाल्ने विज्ञप्तिमा उनको हस्तक्षेप कमै हुँदै आएको छ । उनले यसमा चासो समेत राखेको पाइँदैनथियो ।
तर एक्कासी शुक्रबार उनले निकालेका विज्ञप्ति अनपेक्षित थियो । उनी आफै पनि त्यति स्वस्थ्य थिएनन् । घरमै आराम गरेर बस्न चिकित्सकले सुझाव दिइरहेका सन्दर्भमा प्रचण्ड कसरी आक्रामक भए भन्ने प्रश्न टड्कारो बनेको छ ।
प्रचण्डले विदेशनीतिका विषयमा त विज्ञप्ति निकाल्ने गरेकै थिएनन् । अपर्झट आएको विज्ञप्तिबारे एक नेकपाका केन्द्रीय सदस्यले भने –हामी अलमलमा परेका छौं यो कसरी भयो ?
उनको भनाइबाट पनि स्पष्ट हुन थप मद्धत गर्छ कि यो प्रचण्डको स्वविवेकले नभइ नियतवश गराइएको हो । प्रचण्डलाई यसरी उचालेर फाइदा कसलाई हुन सक्छ ? यो गम्भीर विषय हो ।
अमेरिकाले नेपाललाई हतियार संगसंगै सैन्य अभ्यासमा समेत पछिल्लो समय सघाउन खोजिरहेको सन्दर्भमा कसले यसरी नेपालीको भावनामाथि खेल्यो भनेर चर्चा हुन थालेको छ ।