कांग्रेसले भनेको मान्नका लागि यो सरकार बनेको होइन



 

सरकारले अहिले के काम गरिरहेको छ ?

सरकारले गरेका कामको सन्दर्भमा तीनवटा आयामबाट हेर्नुपर्छ । पहिलो, कानुनी व्यवस्थासहितको सुशासनमा गरिएका काम, दोस्रो विकास निर्माण र तेस्रो अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्न गरिएका कामहरू । यी सबै क्षेत्रमा सरकारले उल्लेखनीय रूपमा महत्वपूर्ण कामसहितको उपलब्धि हासिल गरिरहेको छ । आन्तरिक मामिलाका कुराहरू गर्दा हामीले संविधान कार्यान्वयनको मुख्य बिन्दुमा आइपुग्दा सत्ता सम्हालेका हौं । त्यस यता धेरै उपलब्धि हासिल गरेका छौं ।

 

के कस्तो उपलब्धि हासिल भयो ?

संविधान कार्यान्वयनको मुख्य बिन्दुमा छौं । त्यो भनेको निकै चुनौतीपूर्ण कार्य नै हो । संविधानमा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको व्यवस्था थियो तर व्यवहारमा स्थापित हुन सकेको थिएन । केन्द्रीय संरचनाबाहेक अन्य दुई संरचनाको खासै अत्तोपत्तो थिएन । प्रदेश त शून्य अवस्थामा नै थियो तर प्रदेश संरचनालाई पूर्ण व्यवस्थापन गरी कार्यान्वयनमा ल्यायौं । पुनःसंरचनासहित स्थानीय तहलाई पनि पुरै व्यवस्थापन गर्ने काम ग९यौं ।

 

ती सबै निकायको व्यवस्थापन गर्यौं । कर्मचारीको व्यवस्थापन पनि ग¥यौं । ३३९ कानुनमध्ये १६५ बाहेक सबै कानुनलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुकूलको बनाउनुपर्ने अवस्था थियो । अहिले हामीले ६० वटा कानुन पेश गरिसकेका छौं । कानुनी व्यवस्थामा पनि हामीले धेरै फड्को मारिसकेका छौं । ११ फागुनसम्म सबै कानुनको आवश्यक व्यवस्थापन गरी सक्छौं ।

 

हामीले ल्याएको बजेट, नीति तथा कार्यक्रमको सशक्त कार्यान्वयन गरिरहेका छौं । ६ महिनामा कामको प्राथमिकता तोक्यौं । बजेटलाई प्रगतिशील र वैज्ञानिक रूपबाट परिचालन गर्न सफल भएका छौं । स्रोतको सुनिश्चितताबाहेकका बजेट हामीले यसपटक राखेनौं । विगतमा बजेट एकातिर र कार्यक्रम अर्कोतिर कुद्ने प्रवृत्ति थियो, त्यसलाई पूर्ण रूपले अन्त्य गरेर बजेटको सही सदुपयोग र उपलब्धिमा ध्यान दिएका छौं । त्यसैका कारण धेरै उपलब्धिसमेत देखिइसकेको छ ।

 

जनताले अनुभूत हुने खालका कार्यक्रम र योजना खोइ त ?

संघीयता कार्यान्वयनको विषयमा विभिन्न उपलब्धि हासिल गरिएकाले जनताले अनुभूति गर्न नसक्ने प्रश्नै भएन । यस अतिरिक्त हामीले जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी शान्ति, समृद्धि र सुशासनका महत्वपूर्ण कार्यक्रमहरू पनि सञ्चालनमा ल्याएका छौं । नागरिकस्तरमा प्रत्यक्ष हित हुने कार्यक्रम पनि लागू गरेका छौं । साना किसानहरूलाई राहतस्वरूप उनीहरूको वर्षौंदेखिको सावाँ र ब्याज मिनाह गरी राहत दिएका छौं ।

 

यसैगरी, त्रिभुवन विमानस्थल २१ घण्टा चलायौं । पर्यटकको आगमनमा अथाह वृद्धि ल्याउन सकेका छौं । दुईवटा रेल गाडी खरिद गर्न स्वीकृत दिइसकेका छौं । पानीजहाज ल्याउने प्रक्रिया सुरु भइसकेको छ । काठमाडौंमा मोनोरेल चलाउनेबारे चीन सरकारसँग डीपीआर सम्पन्न भइसकेको छ ।

 

केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पूरा भइसकेको छ । तुइन विस्थापित हुने क्रम बढ्दो छ । सडक सञ्जाल विस्तार, चुरे क्षेत्रको विकास, सामाजिक सुरक्षा विकास कार्यक्रम लागू गरेका छौं । पत्रकारहरूकै २५ प्रतिशत पारिश्रमिक वृद्धि गरेका छौं । एक वर्ष नपुग्दै हामीले धेरै सुधारका कार्यक्रम ल्याउन सफल भइसकेका छौं ।

 

सर्टिफिकेट राखेर युवाहरूलाई ऋण दिने व्यवस्था गरेका छौं । पेट्रोलियन पाइप लाइनको काम धमाधम भएको छ । तातोपानी नाका जेठदेखि खुल्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि महत्वपूर्ण काम गर्न सफल भएका छौं । भीभीआईपीका लागि ल्याइएका भनिएका हेलिकोप्टरहरू गरिब, विपन्न र उपचार नपाएर छटपटाइरहेका सुत्केरी आमाको उद्धारका लागि पनि प्रयोग गरिएको छ । नकारात्मक सोच भएकाहरूले मात्रै केही भएको छैन भन्ने हल्ला फिजाएका हुन् ।

 

यत्रो काम भएको फेहरिस्त पेस गर्दै हुनुहुन्छ । तर पनि बाहिर सरकारले केही गर्न सकेन भन्ने सन्देश गइरहेको छ नि ?

हेर्ने आँखाहरू नै अत्यन्तै पूर्वाग्रही छन् । ती आँखा र मनले विकास र समृद्धि चाहँदैन । सधैं धमिलो पानीमा माछा मारेर खान पल्केकाहरूले पानीलाई सफा बनाउने र विकास गर्ने सरकारको अभियानलाई नरुचाएका हुन् । हामी त्यस्ता तत्वलाई भण्डाफोर गर्दै अघि बढ्छौं ।

 

त्यसो भए जनतामा निराशा छैन त ?

हामी पनि जनतासमक्ष नियमित जान्छौं । जनतामा कुनै निराशा छैन । तर, सरकारप्रति भने ठूलो आशा र भरोषा छ, जनतामा । केही सरकारविरोधी कुतत्वले निराधार भ्रम फैलाइरहेका छन् । सकारात्मक परिवर्तनलाई छोपेर ती तत्वहरू मनगढन्ते पाराले एकोहोरो लागिरहेका छन् । सरकारसँग आधिकारिक तथ्यांक नलिएर हावादारी र मनगढन्ते तथ्यांक राखेर सरकारविरुद्ध गलत अभियान सञ्चालन गर्न एकपक्ष लागेको प्रस्ट बुझ्न सकिन्छ ।

अर्थमन्त्री र सरकारको तथ्यांकलाई आधिकारिक मान्न नसक्ने ती कुतत्वबाट परिचालन भएका छन् भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । जनतामा कुनै निराशा छैन । केही पनि नभएको देख्ने चाहिँ यहाँको एउटा एलिट वर्ग हो । तिनको होहल्लामा मिडिया पनि फस्न पुगेको छ ।

 

किन त्यस्तो गलत अभियान सञ्चालन भएको छ जस्तो लाग्छ ?

सरकार विरोधी अभियान चलाउनेहरूको गलत स्वार्थ सरकारले पूरा गरेन होला । त्यसैले, विरुद्धमा लागेका होलान् । यो सरकारले जनताको पक्षमा काम गर्न नसकेर मुलुक सधैं समस्यामा परिरहोस्, मुलुकले सही ट्र्याक लिन नसकोस् र राजनीतिक अस्थिरता भइरहोस् भन्ने चाहना हुन सक्छ । राजनीतिक अस्थिरतामा आफ्ना गलत धन्दा र चाहना पूरा गर्न सहज हुन सक्ने त्यस्ता तत्वहरूको विश्लेषण हुन सक्छ ।

 

तर, सरकारले बेतोड र व्यवस्थितसँग काम अघि बढाएपछि ती पक्षहरू अत्तालिएर गलत हल्ला फिजाएका हुन् । गलत तथ्यांक खोजीखोजी प्रचार गर्दा ती प्रचार गर्नेको विश्वसनीयता पनि त गुम भयो । तर, हामी विचलित नभई काममा निरन्तर लागिरहेका छौं ।
नेपालमा निर्णय गरिन्छ तर कार्यान्वयनको अवस्था भने निकै कमजोर हुने गर्छ ? त्यसैले, सरकारका महत्वपूर्ण निर्णयहरू कार्यान्वयन हुने के ग्यारेन्टी छ ?

 

कुनै पनि कार्यक्रमहरू ल्याउँदा व्यवस्थित योजनाबिना ल्याउनुहुँदैन । यो सरकारले हरेक विषयमा निर्णय गर्दा त्यसको कार्यान्वयनको स्पष्ट मोडालिटी र योजनासमेत ल्याएको छ । त्यसैले, कार्यान्वयनमा कुनै चुनौती हुन्छजस्तो मलाई लाग्दैन । त्यसैले, एक्सनमा जान्छौं र परिणाम दिएरै छोड्छौं ।

 

कार्यान्वयनमा सफल हुन्छौं भनिरहनुभएको छ तर कार्यान्वयन गर्ने हाम्रो ब्युरोक्रेसी सशक्त छैन नि ?

अब ब्युराक्रेसीलाई सुस्त हुने मौका हुँदैन । सरकारको स्प्रिटका साथ ब्युरोक्रेसी दौडिनुको विकल्प छैन । कर्मचारी समायोजन हुने क्रम सुरु भएकाले अब त कामले गति लिन्छ । सरकारकै गतिमा ब्युरोक्रेसी दौडिनुपर्छ । किनकि, यो सरकार पाँच वर्षको म्यान्डेटअनुसार बनेको सरकार हो ।

 

तर मन्त्रीहरूमा पनि त प्रधानमन्त्रीको जस्तो स्प्रिट देखिँदैन नि ? सत्य हो ?

मन्त्रीहरूको मूल्यांकन र परीक्षण प्रधानमन्त्रीज्यूले गर्नुभएको होला । यसबारे मैले केही भन्ने कुरा पनि हुँदैन । तर, म दाबिका साथ भन्न सक्छु, हाम्रा कुनै पनि मन्त्रालयले चारमहिने समीक्षा गरिरहेका छन् । पिरियोडिक प्लानसहित सबै मन्त्रीहरूले काम गरिरहनुभएको छ । सबै मन्त्रीहरू परिणाम निकाल्ने गरी काममा खटिरहनुभएको जस्तो लाग्छ ।

 

तपाईंहरूले गरेका कामलाई जनतासमक्ष लैजान नसक्नुभएको हो ?

केही एलिट पक्षले रोक्न खोजे पनि हामीले हाम्रा कामहरू जनतासमक्ष लगिरहेका छौं । जनता जनार्दनले हामीलाई समर्थन गरिरहनुभएको छ । तर, हाम्राबारे पछिल्ला समयमा केही नकारात्मक मात्रै समाचार आउन थालेका छन् । नकारात्मक समाचार मात्रै बिक्री हुन्छ भन्ने मानसिकता पनि देखियो धेरैमा । तर, नकारात्मक चिन्तनको आयु भने छोटो हुन्छ । अब सरकारको काम देखिँदै जानेछ र नकारात्मक चिन्तनहरू परास्त हुँदै जानेछन् ।

 

किनकि, सकारात्मक चिन्तनकै आयु बढी हुन्छ । सबैले बुझ्दा हुन्छ २१औं शताब्दी भनेको सकारात्मक सोचको शताब्दी हो । नकरात्मक सोच राख्नेहरू पतन हुँदै जानेछन् र सकारात्मक सोच राख्नेहरू फैलँदै जानेछन् । सरकार सकारात्मक सोचका साथ विकास अभियान लिएर जनताको घरदैलोमा पुग्छ ।

 

विकास निर्माणसँग सम्बन्धित सरकारी निकायको काम किन सन्तोषजनक देखिन सकेको छैन ?

कतिपय विकास निर्माणका कामहरू अहिले भइरहेका छन् । त्यसैले, समस्याजस्तो र सरकारी निकायले काम गर्न नसकेको जस्तो देखिएको हो । जब निर्माणकार्य सम्पन्न हुन्छ, ती सबै समस्या समाधान भएर जान्छन् । अहिले काठमाडौंमा मेलम्चीका कारण पनि केही समस्या देखिएको हो । मेलम्चीको काम सकेपछि मात्रै सबै सडक पिच हुनेछ । तर पनि हिजोको भन्दा त धेरै सुधार हुँदै आइरहेको छ । भएको काम पनि देखाइदिनुपर्छ ।

 

कतिपय ठूलाठूला विकास आयोजनामा व्यापक त्रुटि भएको सरकारकै निकायले औंल्याएको छ । कारबाही हुँदैन ?

ठीक हो । त्यस्ता त्रुटि केही छन् र पनि अनुगमन हुन सकेको छैन । त्यही भएर हामीले त्यस्ता ठूला आयोजनाहरू प्रधानमन्त्री मातहत ल्याएर अनुगमन गर्ने गरी अघि बढाइसकेका छौं ।

त्रुटि गर्नेहरूमाथि अब कडा कारबाही हुनेछ । अब नेपालको कर्मचारीतन्त्रलाई पनि गफ चुटेर जागिर पाक्दैन भन्ने थाहा भइसकेको छ । हामी परिणाममुखी छौं । जनतालाई खुसी कसरी राख्ने भन्नेमा हामी दत्तचित्त छौं । अब निर्माण स्थलमा गएर अनुगमन गर्ने र जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुनेछ । सरोकारवाला निकायले नियमित अनुगमन गर्नुपर्छ ।

 

ठेकेदार र कर्मचारीको मिलेमतोमा नै आयोजनाहरूलाई भद्रगोल पारिएको छ, के भन्नुहुन्छ ?

त्यस्ता बद्मासीप्रति सरकार अब कठोर बन्नेछ । त्यस्ता बदमासी गर्नेलाई कुनै छुट हुनेछैन । त्यस्तो सूचना आउनासाथ हामी कडा रूपमा दण्डित गर्नेछौं ।

 

भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा चर्को रूपमा उठाइरहनुभएको छ तर आमजनताले सुशासनको अनुभूति गर्न सकेका छैनन्, किन ?

सबैतिर भ्रष्टाचार छ भन्ने होइन, भ्रष्टाचारीहरू पक्राउ परेर कारबाहीको दायरामा भकाभक आइरहेका छन् । भ्रष्टाचार व्यक्तिको चरित्रमा भर पर्छ । तर, हामी भ्रष्टाचार गर्नु अपराध हो भन्ने तथ्य साबित हुने गरी अघि बढिरहेका छौं । म यति कुरा दाबीका साथ भन्छु– राजनीतिक तहबाट कहिल्यै पनि भ्रष्टाचारलाई संरक्षित हुने अवस्था आउन दिइनेछैन । कर्मचारीतन्त्र पनि यसमा सतर्क हुनैपर्छ । काम बिगार्नेहरू कारबाहीको दायरामा आउनेछन् । काम लुकाउने र काम बिगार्नेमाथि सरकार कठोर हुन्छ ।

 

राजनीतिक नेतृत्वकै संरक्षणमा सिन्डिकेट र कार्टेलिङ हट्न सकेको छैन भन्ने गुनासो छ नि ?

अब हेर्दै जानुस्, सिन्डिकेट एकादेशको कथा हुन्छ । यो सरकारले यसलाई जसरी पनि हटाएरै छोड्छ । हामीले पछिल्लोपटक तीन महिनाको समय थप गरेका हौं । सो समय सकिनासाथ अब सिन्डिकेट पूर्णरूपमा अन्त्य हुनेछ । राजनीतिक नेतृत्वबाट संरक्षण भयो भन्नेहरूले त्यतिबेला राम्रो जवाफ पाउनेछन् । भ्रष्टाचार र नागरिकलाई दुःख दिने कुरामा सरकारको तर्फबाट कुनै सम्झौता हुँदैन र सरकारले कुनै पनि छुट दिँदैन ।

 

त्यसो भए अब आमजनताले छिटै सुशासनको अनुभूति गर्न पाउँछन ?

सुशासनको अनुभूति एउटा लामो प्रक्रिया सम्पन्न भएपछि मात्रै दिन सकिन्छ । पृथ्वीनारायण शाहका अनुसार घुस खाने र घुस दिने दुबै राज्यका दोषी हुन् । यसका सबै पक्ष सजग हुन जरुरी छ । त्यसैले, निश्चित समय आएपछि सबै क्षेत्रले सुशासनको अनुभूति गर्न पाउनेछन् । यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ । इमानदारिता र समर्पणको भावना लिएर काम गर्नुपर्छ ।

 

तपाईं सुशासन र पारदर्शिता भनिरहनुभएको छ, तर मन्त्रिपरिषद्को निर्णय कैयौं दिन लुकाउने गर्नुहुन्छ । विरोधाभाष भएन ?

मन्त्रिपरिषद्ले गरेका कुनै पनि निर्णय हालसम्म लुकाइएकै छैन । सरकार सूचना लुकाउन जरुरी पनि ठान्दैन । हामीले त मन्त्रिपरिषद्का निर्णयलाई व्यवस्थित गरेर विस्तृतमा नै सार्वजनिक गरिरहेका छौं ।

 

यसलाई लुकाएको भन्न मिल्छ र ? विस्तृतमा निर्णयहरू सार्वजनिक गर्ने परिपाटी बसाउँदा सूचना लुकाएको भन्न मिल्दैन । हाम्रो अहिलेको तरिकाले त व्यवस्थित रूपमा झन् धेरै सूचना पो सार्वजनिक भइरहेको छ । मैले पनि मिडिया मोनिटरिङ गर्छु । मैले सार्वजनिक गरेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू कहिलेकाहीं ठूला भनिएका मिडियाले पुरै बहिष्कारजस्तै गर्ने गरेका छन् । सूचना लुकायो भन्ने अनि सूचना दिँदा बहिष्कार गर्ने प्रवृत्तिलाई के भन्ने ?

 

गोविन्द केसीको मागविपरीत चिकित्सा विधेयक पारित भएको हो ?

गोविन्द केसीले माग गरेभन्दा बढी नेपाली जनताले धेरै राहत र सुविधा पाउने गरी सो विधेयक पारित भएको छ । अब अनशन बस्नुको कुनै तुक छैन । विधेयक राम्ररी हेरौं त उनले मागेको भन्दा बढी अग्रगामी भएर आएको छ । सबै माग पूरा भए पनि केसीले द्वन्द्वकालीन मुद्दा किन अघि नबढाउने भनेर अर्कोतर्फ अघि बढिरहेका छन् । त्यसैले, केसी सत्याग्रही होइनन् । विशुद्ध कांग्रेस कार्यकर्ता हुन् ।

 

कांग्रेसले द्वन्द्वकालीन मुद्दाको बारेमा माग उठाउन सकेको छैन । त्यसैले, कांग्रेसको माग केसीले उठाएका छन् । यस्तै हो भने अब केसीले प्रतिपक्ष दलका नेता शेरबहादुरजीलाई पनि उछिन्न बेर छैन ।

 

विशेष गरी प्रतिपक्षले सरकारमा दुईतिहाइको दम्भ देखियो भन्ने आरोप लगाएको छ, यसमा के भन्नुहुन्छ ?

यो कांग्रेसको हावादारी आरोप हो । कांग्रेसले भनेको नमानेको आधारमा दम्भ भनिएको हो भने कांग्रेसले नै सरकार चलाए भयो नि । कांग्रेसले भनेको मान्नका लागि यो सरकार बनेको होइन । कांग्रेले हिजो त्यत्रो वर्ष शासन चलायो तर केही गर्न नसकेकै हो । अहिले कम्युनिस्ट सरकारले आमजनताको हित हुने गरी काम गर्दा कांग्रेसलाई टाउको दुख्नु स्वाभाविक पनि हो ।

 

जनताले सरकारले दम्भ देखाएको भनेका छैनन् । कांग्रेसले केही एजेन्डा नपाएर फत्तुरको आरोप लगाइरहेको छ । राजनीतिमा एजेन्डाको मृत्यु भएपछि कांग्रेसले यस्तै फन्टुस कुरा गरेर राजनीतिको पसल थापेर बस्ने गरेको छ । अहिले उसले लगाएको आरोप त्यसैको शृंखला हो ।

 

सरकार र प्रतिपक्षको सम्बन्ध अत्यधिक बिग्रन थालेको हो ?

प्रतिपक्षको संवैधानिक हक सरकारले सुनिश्चित गरिराखेको छ, कसरी बिग्रन्छ ? हामीलाई त्यस्तो लाग्दैन । सम्बन्ध सुदृढ त्यतिखेर हुन्छ, जतिखेर प्रतिपक्षमा लोकतान्त्रिक संस्कार र प्रवृत्तिको विकास हुन्छ । तर, कांग्रेसमा अहिले यसको अभाव देखिएको छ । सरकार संस्कायुक्त र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै प्रतिपक्षी कांग्रेसको रचनात्मक सहयोगको अपेक्षा गर्छ ।

 

अहिले प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिकालाई सरकारले कसरी लिएको छ ?

इतिहासमा पहिलोपटक हो । कांग्रेसले सरकारलाई १ सय दिन मनाउन पनि नदिई विभिन्न उल्झन पार्न खोज्योे । कांग्रेस यति धेरै अधैर्य रहेछ कि सत्ताबिना बस्नै नसक्ने प्रवृत्ति उसले देखायो । हामीले विगतमा धेरैपटक कांग्रेसको सत्ता भोगेका छौं ।

 

त्यो भोगाइलाई अभिव्यक्त गर्ने हो भने हिजो के कस्ता काम भए भन्ने कुरा छर्लंग हुन्छ । त्यसैले, विगतमा सत्तामा बसेर केही गर्न नसक्नेहरूले सरकारले केही गरेन भन्ने आरोप लगाउनु गलत हो । प्रतिपक्षीको उचित मुद्दालाई भने हामी गम्भीर भएर लिन्छौं । जनतालाई भ्रम राख्न खोजिन्छ र सरकारलाई असफल पार्न खोजिन्छ भने त हामी त्यसलाई प्रतिवाद गरेर अघि बढ्छौं । यस्तोमा प्रतिरोध गर्नुलाई दम्भ भन्न मिल्दैन ।

 

अबको चार वर्षपछि वर्तमान सरकार पूर्णतया सफल बन्न सक्ला त ?

हेर्दै जानुस्, हामी नयाँ इतिहास रच्ने धुनमा छौं । हामी चार वर्षमा धेरै परिणाम निस्कने गरी काम गरिसकेका हुन्छौं । नेपाली जनताले पालेका आशालाई हामी व्यवहारमा उतार्न प्रतिबद्ध छौं । सुशासन, विकास, समृद्धिको बाटो खुला हुनेछ । समग्र मुलुक निर्माणका लागि ठूलो त्याग र समर्पणको खाँचो छ । इच्छाशक्ति र स्रोतको शक्ति संघर्ष हुन्छ, त्यसलाई पनि पन्छाउँदै अघि बढनुपर्छ ।

 

जनतामा सरकारप्रति रहेको आशा र भरोसाको दियो निभ्न दिनेछैनौं । सरकारका अनेक क्षेत्रमा एक वर्षपछि नै मापन गर्दा धेरै काम भएको हुनेछ । चार वर्षमा त विकासले धेरै फड्को मार्ने निश्चित छ । समग्रतामा मूल्यांकन गर्नुपर्छ । जनताले हामीलाई विश्वास गरेर अत्यधिक मत दिनुभएको छ । त्यो विश्वासको धरोहर हामी ढल्न दिन्नौं । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस
रविलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई रास्वपाको अनुरोध

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४

ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा

रास्वपाले बोलायो सचिवालय बैठक

    सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले