मेलम्चीको बाँकी काम नेपाली सेनालाई दिने तयारी
सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो ।महत्वपूर्ण आयोजनाका रूपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।
स्रोतका अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर, सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रूपमा नेपाली सेनालाई राखेको हो ।
सीएमसीले काम छाडेपछि बाँकी काम अगाडि बढाउनका लागि सरकारले सेनालाई पनि उपयुक्त विकल्पका रूपमा छानेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । आयोजनाको बाँकी रहेको थोरै मात्र कामका लागि नयाँ ठेकेदार छनोट गर्दा काममा अर्को जोखिम मोल्नुपर्ने भएकाले सेनालाई नै दिँदा जायज हुने सरकारको बुझाइ छ ।
तर, सेनालाई बाँकी काम गर्न दिने विषयमा दातृ निकाय भने सहमत नहुने सम्भावना रहेको स्रोत बताउँछ । यस्तो भएमा नेपाली सेनाले सो आयोजनाको काम पाउँदैन । यस योजनामा दातृ निकायका रूपमा रहेको एसियाली विकास बैंक (एडीबी)ले सेनाबाट काम गराउन मान्छ कि मान्दैन भन्ने विषयमा पनि व्यापक छलफल हुने मन्त्रालयको भनाइ छ ।
तर, एडीबी भने नयाँ ठेकेदार कम्पनीबाट बाँकी काम गराउन चाहन्छ । अब सरकारको हातमा तीन विकल्प छन्, आयोजनाको कामका लागि नयाँ ठेकेदार कम्पनी खोज्ने, पेट्टी ठेक्कामा दिने वा सेनालाई दिने ?
सेनालाई बाँकी काम दिँदा भने एडीबीलाई बिदा गर्नुपर्छ र बाँकी खर्च सबै सरकारले बेहोर्नुपर्छ । अर्काे विकल्पका रूपमा नयाँ ठेकेदार ल्याउने वा पेट्टी ठेकेकादारलाई काम दिने भन्ने छ । नयाँ ठेकेदारलाई काम दिँदा सरकारले बढी जोखिम बेहोर्नुपर्छ । यस विषयमा छलफल तीव्र रूपमा चलिरहेको छ । आयोजनाको बाँकी काम कसको पोल्टामा पर्छ भन्ने निर्णय नभए पनि सेनाले पाउने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ ।
आयोजनाअन्र्तगत सिन्धुपाल्चोकको अम्बाथानबाट काठमाडौंको सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ मार्गमध्ये ४१० मिटरको अन्तिम फिनिसिङ हुन बाँकी छ । जसमा सुरुङभित्रको हावा जान बनाइने तीन ‘भ्यान्टिलेसन’मध्ये अहिलेसम्म एउटा मात्रै बनेको छ । बाँकी दुईवटा बन्न बाँकी रहेको छ । त्यसैगरी, ८८५ मिटर सुरुङमा ढलान गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
त्यस्तै, सुन्दरीजलबाट सिन्धुकोबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भ्यान्टिलेसन’ ड्रिल गर्न बाँकी छ । सुन्दरीजलको सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी लान जीआई पाइप राख्ने काम पनि बाँकी रहेको आयोजनाको भनाइ छ । सोही काम सक्न अझै २ अर्बभन्दा बढी खर्च लाग्ने आयोजनाको अनुमान छ । सो काम सक्न ग्लोबल टेन्डरमा जानुपर्ने भएकाले निकै ढिला हुने भन्दै बाँकी काम सक्न स्वदेशी कम्पनीलाई जिम्मा दिने विषयमा छलफल चलेको हो ।
तर, आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने आयोजनाको काम कसलाई दिने भन्ने विषयमा अहिले नै ठोस निर्णय नभएको बताए । साथै आयोजना स्तरमा सेनालाई दिने विषयमा समेत छलफल नभएको उनले जानकारी दिए ।सीएमसीसँग ठेक्का तोड्ने प्रक्रिया सुरु भए पनि फर्किने म्याद थपेकाले अहिले नै केही भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपाली सेना जटिल मानिएका विकास निर्माणका काममा अब्बल देखिँदै आएको छ । सेनाले हालसम्म मुलुकका विभिन्न भागमा १ हजार ११४ किलोमिटर सडक र २९ वटा पुल निर्माण गरिसकेको छ । हाल महत्वपूर्ण आयोजनाका रूपमा लिइएको काठमाडौं–तराई मधेस द्रुतमार्गसहित ५२६ किलोमिटर सडकमा सेनाले काम गरिरहेको छ ।सेनाले २१ वैशाख २०७४ को मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षभित्र आयोजना सम्पन्न गरिसक्ने गरी ती निर्माणको जिम्मा पाएको थियो ।


