भारतमा लगेर वेश्यालयमा छोरी बेच्ने बाबु पक्राउ



हाम्रो इकोनोमि

 

आफ्नै छोरी बेचेको अभियोगमा नुवाकोटमा बाबुसहित तीन जना पक्राउ परेका छन । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा बाबुसहित सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

 

आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याीएको प्रहरीले जनाएको छ ।

 

दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको एसपी मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

सीमानाकाबाट ३६१ महिलाको उद्धार

यसैबीच मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट तीन वर्षको अवधिमा ३६१ महिलाको उद्धार गरेको छ ।

 

सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ । दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिनुभयो । “तीस महिलालाई उद्धारपश्चात चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ,” उहाँले भन्नुभयो ।

 

इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो ।

 

केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।

 

पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र भेटियो अर्काे शव

 

प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको छ । चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो ।

 

तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव भेटिएको मलामी गएका स्थानीयबासीले बताए ।

 

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताउनु भयो । चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको वडाध्यक्ष थामीको भनाई छ ।

 

कालुमानको शव चितामा राख्ने क्रममा मासुको डल्लो देखिएको र खोतलेर हेर्दा नवजात शिशुको शव फेला परेको उहाँले जानकारी दिनुभयो । स्थानीयको खबरपछि घाटमा पुगेको प्रहरीले शिशुको शव चरिकोट अस्पताललाई नै फिर्ता गरेको छ । शिशुको शवलाई चिरफारसमेत गरिएकाले घटना थप शंकास्पद भएको स्थानीयले आशंका गरेका छन् ।

 

प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) की प्रमुख डा। क्षमता घिमिरेले कालुमान र नवजात शिशुको शवको पोस्टमार्टम सँगसँगै गरिएको बताउनु भयो । पोस्टमार्टमपछि छुट्टाछुट्टै प्याकिङ गरे पनि शिशुको शव पनि कालुमानको शवसँगै स्थानीयले लगेको उहाँको भनाई छ ।

 

घिमिरेका अनुसार गर्भभित्रै मरेको शिशुको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो । शिशुका आफन्तले शवको डिस्पोज गरिदिन अस्पताललाई जिम्मा लगाएको र डिस्पोज गर्ने तयारी भइरहेका वेला स्थानीयलेले लगेको डा घिमिरेको भनाइ छ ।

 

कालुमानका आफन्तले भने शव पोस्टमार्टम भएसँगै सबैलाई चिकित्सकले बाहिर निकालेको र त्यसपछि शिशुको शव थामीकै शव राख्ने झोलामा प्याक गरिदिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...