प्रधानमन्त्री ओली सहभागी हुने सम्मेलनमा ट्रम्प नजाने
प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाउने विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा विश्वभरिका कम्तिमा ६० देशका राष्ट्र वा सरकार प्रमुखको सहभागिता निश्चित भएको छ।
मंगलबारदेखि ४ दिनसम्म स्विट्जरल्यान्डको डाभोसमा सञ्चालन हुने कार्यक्रममा यो पटक जापानका प्रधानमन्त्री शिन्जो आबे, जर्मन चान्सलर एन्गेला मार्केल प्रमुख आकर्षणमा रहने छन्।
सो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा नाम फिर्ता लिएका छन्। ट्रम्पले अमेरिकामा बजेट पारित नभएको कारण देखाउँदै सहभागी नहुने बताएका हुन्। ह्वाइट हाउसकी प्रवक्ता साहारा स्यान्डर्सले अमेरिकाका ८ लाख कर्मचारीहरुले रकम प्रप्त गर्न नसकेको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति ट्रम्पले डाभोस भ्रमणबाट नाम फिर्ता लिएको उल्लेख गरेकी छिन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकाको प्रतिनिधित्व गर्ने छन्।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१७ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ प्रमुख आकर्षणका रुपमा रहेको थिए। सो सम्मेलनमा सम्बोधन गर्न नेपालबाट प्रधानमन्त्रीलाई पहिलो पटक बोलाइएको हो। ३ सय ५० भन्दा सत्रमा सञ्चालन हुने कार्यक्रममा दुई वटा प्यानलमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टाट्रेजिक आउटलुक अफ साउथ एशिया’ विषयमा सम्बोधन गर्ने छन्। उनको अर्को कार्यक्रम बुधबार छ । यस पटकको मञ्चको बैठकको नारा ‘विश्वव्यापीकरण ४.०’ रहेको छ।
यो पटकको सम्मेलनमा ब्राजिलका राष्ट्रपति जाइर बोल्सेनारो, चिनियाँ उप राष्ट्रपति वाङ चिशान, इटलीका प्रधानमन्त्री गिउसेप्पे कोन्टे, स्पेनका प्रधानमन्त्री पेद्रो सन्चेज, इराकका राष्ट्रपति बर्हाह सलिह, अफगानिस्तानमा राष्ट्रपति मोहम्मद अशरफ घानीको सहभागिता हुने निश्चित भएको छ। त्यसैगरी बेलायतका युवराज विलियम, माईक्रोसफ्टका प्रमुख बिल गेट्सले सहभागिता जनाउनेछन्।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अद्रेर्न, रुवान्डाका राष्ट्रपति पाउल कगामे, नर्वेका प्रधानमन्त्री इर्ना सोल्बर्ग, भियतनामका प्रधानमन्त्री न्युयेन सुआन फुकसहतिका सहभागिता रहने छ। १८ सदस्यीय प्रतिनिधि मण्डलका नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्यान्डतर्फ लाग्नेछन्।
‘अब नेपाल पछौटै रहेन’
शुक्रबार प्रतिनिधिसभामा बैठकमा भएको प्रश्नोत्तरमा समेत प्रधानमन्त्री ओलीले डाभोस निम्तो उल्लेख गर्दै नेपाल अब पछौटे नभएर विश्व मानचित्रमा सम्झनलायक देशको रुपमा पर्न थालेको दाबी गरे।
‘डाभोसमा हुने विश्व आर्थिक मञ्चमा नेपालले पहिलो पटक निम्तो पाएको छ। यो हाम्रो निम्ति खुशीका कुरा हो। यसले के देखाउँछ भन्ने हामीले गरेको प्रगति, सफलताको विषयलाएई दुनियाँले चासो मात्रै होइन प्रसन्नता देखाएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्व व्यस्थापना, राजनीतिक र सामाजिक रुपान्तरणजस्ता कुरामा दुनियाँले अत्यन्तै सकारात्मक रुपमा लिएको छ। अब नेपाल सानो र पछौटे मुकुलमा रुपमा, कसैले वास्ता नगर्ने मुलुक होइन। नेपाल पनि विश्व मानचित्र विभिन्न कोणबाट अब एउटा उल्लेख, सम्झनलायक देशका रुपमा उभिन थालेको छ।’