यी नानीले भनिन साउदी अरबमा कुनै जिन्दगी नै छैन



हाम्रो इकोनोमि

 

यो एउटा नाटकको कथाजस्तो लाग्छ, जसले साउदी अरबमा महिलामाथि लगाइने प्रतिबन्धलाई बाहिर ल्यायो । १८ वर्षकी राहफ मोहम्मद अल कुननको सन्दर्भमा विश्वको चासो तब बढ्यो जब उनले बैङ्ककको विमानस्थलमा आफूलाई एउटा कोठामा बन्द गरिन् र फर्केर साउदी नजाने बताइन् ।

 

उनी साउदीमा आफ्नो परिवार छाडेर आएकी थिइन् । ट्विटरमा उनको समर्थनमा एउटा क्याम्पेन चलेपछि उनलाई क्यानडामा आश्रय दिइयो । यो घटनापछि अरबमा महिला अधिकार र तिनले भोग्नुपरेको प्रतिबन्धबारे पुनः प्रश्न उठ्न थालेको छ । यही अवस्थाबाट गुज्रन बाध्य एकजना केटी जो अरब छाडेर क्यानडा पुगिन्, उनले आफ्नो कथा बीबीसीलाई बताएकी छन् ।

 

२४ वर्षकी सलवा आफ्नी १९ वर्षकी बहिनीसँग ८ महिनाअघि घर छोडेर भागेकी थिइन् । र, अहिले उनी मन्ट्रियलमा बस्छिन्, उनकै शब्दमा उनको कथा यहाँ प्रस्तुत छ ।

 

कसरी गरिन् घर छाड्ने तयारी ?
हामी करिब ६ वर्षअघिदेखि नै साउदी अरब छाड्ने तयारी गरिरहेका थियौँ । तर, यसका निम्ति हामीलाई पासपोर्टका साथै ‘नेसनल आईडी कार्ड’ आवश्यक पथ्र्यो । यी दस्तावेज प्राप्त गर्न अभिभावकको सहमति आवश्यक थियो (साउदी अरबमा महिलाहरुलाई कतिपय चिज प्राप्त गर्नका लागि पुरुषको अनुमति आवश्यक पर्छ) ।

 

मसँग आईडी कार्ड थियो । विश्वविद्यालयमा पढ्दा मेरो परिवारले यसका लागि अनुमति दिएको थियो । तर, कार्ड परिवारको हातमा थियो, त्यो मैले फिर्ता लिनुपथ्र्यो । मैले आफ्नो भाइको घरबाट साँचो चोरेँ र नक्कली साँचो बनाएँ । जब परिवार निदाइरहेको थियो, तब मैले सबै काम सकेँ । यो निकै डरलाग्दो र जोखिमयुक्त कार्य थियो । कसैले देख्यो भने ठूलो खतराको सामना गर्नुपथ्र्यो ।

 

मसँग साँचो भएपछि मैले आफ्नो र बहिनीको पासपोर्ट निकालेँ अनि त्यसको पञ्जीकृत नम्बर परिवर्तन गरेर आफ्नो नम्बर राखेँ । यसकै आधारमा मैले गृह मन्त्रालयको वेबसाइटमा गएर उनको अकाउन्ट लगइन गरेँ अनि पञ्जीकृत नम्बर फेरेर आफ्नो नम्बर राखिदिएँ । मैले पिताजीको अकाउन्टबाटै हामी दुवैजनालाई देश छाड्ने अनुमति लिएँ ।

 

कसरी निस्क्यौँ हामी घरबाट ?
एक रात जब घरका सबैजना मस्त निदाइरहेका थिए, हामी त्यहाँबाट भाग्यौँ । त्यो बेला हामी दुवैजना निकै तनावमा थियौँ । हामीलाई गाडी चलाउन आउँदैनथ्यो । ट्याक्सी बोलायौँ । ट्याक्सी चालक विदेशी थियो, त्यसैले उसले हामी दुई केटी रातको समयमा बाहिर जान लागेकोमा केही भनेन ।

 

हामी रियादनजिक किङ खालिद इन्टरनेसनल एयरपोर्टतर्फ लाग्यौँ । त्यो समयमा कसैले हामीलाई देखेको भए हत्यासमेत हुन सक्थ्यो । म कलेजको पढाइ सकिने समयदेखि नै एउटा अस्पतालमा काम गर्दै आएकी थिएँ । मसँग पैसा जम्मा भइसकेको थियो र म जर्मनीका लागि जहाज टिकट, ट्रान्जिट भिसा खरिद गर्न सक्थेँ । त्यसमाथि मसँग बेरोजगार भत्ताको पैसा पनि थियो ।

 

म आफ्नी बहिनीसँगै जर्मनीका लागि उडेँ । त्यो मेरो लागि पहिलो फ्लाइट थियो, जुन मेरा निम्ति अनौठो अनुभव थियो । म खुसी थिएँ, डराएको पनि थिएँ, एकैसाथ यस्ता कुरा अनुभव गरिरहेकी थिएँ ।

 

हामीले घर छाडेको जब मेरा पिताले थाहा पाए, उनले प्रहरी बोलाए, तर त्यो निकै ढिला भइसकेको थियो । मैले गृह मन्त्रालयको वेबसाइटमा रहेको उनको नम्बर परिवर्तन गरेर आफ्नो राखिदिएकी थिएँ । गृहले फोन गर्दा मेरो नम्बरमा आउँथ्यो । जब हामी जर्मनी पुगेर जहाजबाट उत्रियौँ, प्रहरीको तर्फबाट एउटा म्यासेज आयो, जुन मेरा पिताजीको लागि आएको थियो ।

 

जर्मनी पुगेपछि
साउदी अरबमा कुनै जिन्दगी नै छैन । मेरो जिन्दगी केवल यत्ति थियो, म घरबाट विश्वविद्यालय जान्थेँ । त्यहाँबाट घर फर्कन्थेँ । त्यसबाहेक म केही पनि गर्दैनथेँ । उनीहरु मलाई गलत कुरा सिकाउँथे, जस्तो कि– पुरुष महिलाभन्दा माथि हुन्छन् । मलाई रमजानमा रोजा बस्नका निम्ति बाध्य पारिन्थ्यो ।

 

जब म जर्मनी पुगेँ, आश्रयका लागि कानुनी मद्दत लिन वकिल भेट्न गएँ । मैले त्यसका लागि फाराम भरेँ र आफ्नो कथा बताएँ । मैले क्यानडामा बस्ने फैसला गरेँ । मानवअधिकारका लागि क्यानडा उपयुक्त देश थियो । मैले समाचारहरुमा पढेको थिएँ, सिरियाका शरणार्थीहरुलाई क्यानडामा राख्न लागिएको छ ।

 

मेरो अनुरोधलाई स्वीकार गरियो । जब म टोरन्टोमा उत्रिएँ, मैले क्यानडको झण्डा देखेँ, त्यहाँ पुग्नु मेरा लागि ठूलो उपलब्धि थियो । म अहिले मेरी बहिनीका साथ बिनाकुनै तनाव मन्ट्रियलमा बसिरहेकी छु । यहाँ कसैले मलाई केही गर्न वा नगर्न बाध्य पार्न सक्दैन ।

 

हुन सक्छ, साउदीमा धेरै पैसा छ, तर क्यानडामा सुखद जिन्दगी छ । म आफूलाई मन लागेको बेला अपार्टमेन्टबाट निस्कन सक्छु । आफूलाई लागेको काम गर्न कसैको अनुमति लिइरहनुपर्दैन । यही कुराले मलाई अधिक खुसी दिन्छ । मलाई स्वतन्त्र महसुस हुन्छ । मलाई जे पहिरन मन लाग्छ, त्यही लगाउँछु ।

 

मलाई यहाँको पतझड र हिउँ खुबै मन पर्छ । म फ्रेन्च भाषा सिकिरहेकी छु, यो भाषा निकै गाह्रो रहेछ । म मोटरसाइकल चलाउन, पौडी खेल्न र आइस स्कटेटिङ पनि सिकिरहेकी छु । अहिले मलाई लागिरहेको छ, म जिन्दगीमा केही गर्दैछु ।

 

परिवारसँग मेरो कुनै कुराकानी हुँदैन । तर मलाई लाग्छ, यो मेरो र परिवार दुवै पक्षका लागि राम्रो अवस्था हो । अचेल मलाई यो ठाउँ आफ्नो घरजस्तो लाग्न थालेको छ । अझ आफ्नो घरभन्दा पनि बढी राम्रो ।

बीबीसी

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...