पैसाको कुरा नमिलेपछि विप्लव र प्रकाण्डबीच बोलचाल बन्द, भारतबाट ३ करोडको हतियार किनेको खुलासा



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा दुईलाइन अन्तरसंघर्ष चर्किएको छ । सशस्त्र क्रान्तिको दिर्घकालीन रणनीतिसहित अगाडि बढेको नेकपामा महासचिव विप्लव र अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच दुईलाइन संघर्ष सुरु भएको हो ।

 

तत्कालीन माओवादीभित्र पनि पार्टी विभाजन नहुँदै प्रचण्ड, मोहन वैद्य र डा.बाबुराम भट्टराईबीच पार्टीको कार्यदिशा र राजनीतिक दस्तावेजबारे संघर्ष चल्दै आएको थियो । त्यही अन्तरसंघर्ष पेचिलो बन्दै जाँदा माओवादी विभाजन हुन पुगेको थियो । सुरुमा ठूलो समूहको नेतृत्व गर्दै मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो भने मोहन वैद्यबाटै विप्लव फुटेर गए ।

 

त्यसपछि प्रचण्डसँगै रहेका डा. बाबुराम भट्टराईले माओवादी परित्याग गरेको घोषणा गर्दै नयाँ शक्ति नेपाल गठन गरेका छन् भने प्रचण्ड नेतृत्वको माओवादी नेकपा एमालेसँग पार्टी एकता गर्दै नेकपामा रुपान्तरण भइसकेको छ ।

 

तर, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पनि दुई शीर्ष नेताबीच देखिएको विवाद हेर्दा सामान्य तर भित्री रुपमा भूसको आगोजस्तै सल्कँदै गएको छ । नेकपाका एकजना नेताका अनुसार विप्लव र प्रकाण्डबीच एकअर्कालाई सिध्याउने र अस्तित्व नै स्वीकार नगर्नेसम्मको अवस्था पार्टीभित्र सिर्जना भएको छ । पछिल्लो समय नेपालको आन्तरिक सुरक्षामा सबैभन्दा चुनौती बन्दै गएको विप्लव नेतृत्वको पार्टीभित्र विवाद किन उत्पन्न भयो त ?

 

विप्लव र प्रकाण्डका दुई गुट
पार्टीको नेतृत्व गरेका विप्लव अहिले भूमिगत छन् । विप्लव भूमिगत हुँदा खुला मोर्चाको कमाण्ड प्रकाण्डले सम्हाल्दै आएका छन् । पार्टीमा विप्लवपछि दोस्रो नेता पनि प्रकाण्ड नै हुन् । तर, पछिल्लो समय प्रकाण्ड पनि अर्धभूमिगत भएका छन् । एक नेताले भने, ‘‘उहाँ (प्रकाण्ड)का नाममा वारेन्टहरु जारी हुन नरोकिएपछि अर्धभूमिगत हुनुभएको छ ।’’ विप्लव र प्रकाण्डको सेरोफेरोमा घुमेको पार्टीमा पार्टीको तत्कालीन लाइन, आर्थिक अनियमितता, जनवर्गीय संगठनमा आफ्ना मान्छेहरु राख्नेलगायत विषयबाट विवाद सुरु भएको हो ।

 

 

विप्लव पक्षीय नेताहरु अहिले नै सशस्त्र संघर्षमा उत्रिने विषयमा बोलिरहँदा प्रकाण्ड भने वार्ता र विद्रोहको नीति लिनुपर्ने अडानमा रहँदै आएका थिए । त्यही विषय नेकपाभित्र पेचिलो बन्दै गएको हो । पार्टीको कार्यदिशा र व्यक्तिगत महत्वाकांक्षाका आधारमा पार्टीमा दुई गुट स्पष्ट रुपमा देखिएका छन् । पार्टी नेताहरु दुई गुटमा विभाजन हुँदा सबैजसो जनवर्गीय संगठनमा विवाद हुन थालेको छ । कतिपय संगठनमा विप्लवको दबदबबा छ भने केहीमा प्रकाण्डको । जनवर्गीय संगठनको विवाद पत्रकारहरूको संगठनबाट सुरु भएको थियो ।

 

 

प्रकाण्डको पक्राउ प्रकरण
साउन २२ गते प्रकाण्ड काठमाडौंबाट पक्राउ परे । उनीमाथि ७ करोड रुपैयाँ चन्दा उठाएको आरोपसहित मुद्दा दर्ता गरिएको थियो । प्रकाण्ड पक्राउ परेपछि पूर्व माओवादी नेताहरुले आपत्ति जनाए । साउन २२ गते पक्राउ परेका प्रकाण्ड असोज ९ गते रिहा भएका थिए । प्रकाण्डलाई त्यसपछि भोजपुर, दाङ, नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो । विप्लव, प्रकाण्डसँगै अन्य नेताहरुमाथि स्थानीय निर्वाचनका बेला बम विष्फोटलगायत घटनामा संलग्न रहेको आरोप छ ।

 

तर, प्रकाण्डको पक्राउको विषयलाई नै लिएर नेकपाभित्र विवाद चुलिएको छ । एक नेताले भने, ‘‘प्रकाण्ड कसरी पक्राउ परे ? उनी एकाएक काठमाडौं किन छिरे ? यो रहस्यमै छ ।’’ त्यसो त अन्तरसंघर्ष चर्किंदै गएपछि नेकपाकै नेताहरुले प्रकाण्ड काठमाडौं छिरेको सूचना प्रहरीलाई दिएको चर्चा पनि छ ।

 

तर, प्रहरी अधिकारी भने प्रकाण्डलाई आफ्नै सूचनाका आधारमा पक्राउ गरेको दाबी गर्दै आएका छन् । ७ करोड चन्दा संकलनको आरोपमा पक्राउ परेका प्रकाण्डले रकम लिएका कैयौं प्रमाण भेटिएको प्रहरीको दाबी थियो । तर अन्ततः लामो समयपछि प्रकाण्ड छुटे । एक नेताका अनुसार तत्कालीन समयमा प्रकाण्डलाई सुरक्षित स्थानमा बस्न र काठमाडौं नछिर्न पार्टी नेतृत्वले निर्देशन दिएको थियो ।

 

कसरी छुटे प्रकाण्ड ? 
सरकारी अधिकारीको भनाइलाई आधार मान्ने हो भने प्रकाण्ड पक्राउ परेपछि देशभर चर्चा भयो । पूर्व माओवादी नेतादेखि डा. बाबुराम भट्टराईसम्मले प्रकाण्ड पक्राउको विरोध गरे । प्रहरी अधिकारीका अनुसार प्रकाण्ड छुट्ने सम्भावना थिएन । किनकी चन्दा आतंक मच्याएको अदालतबाटै पुष्टि गर्ने प्रमाणहरु जुटिसकेका थिए । प्रकाण्ड प्रहरी हिरासतमा रहँदा सरकारले गठन गरेको उच्चस्तरीय वार्ता टोलीसँग पनि उनको छलफल भएको थियो ।

 

सरकारी टोलीले त्यसअघि प्रकाण्ड तहसम्मको नेकपाका नेतासँग छलफल गर्न पाएको थिएन । त्यही मौकामा चौका हान्दै वार्ता टोलीले प्रकाण्डसँग वार्ताको प्रस्ताव गर्यो । प्रकाण्डले आफ्नो रिहाइ र पक्राउ परेका अन्य नेता¬–कार्यकर्ता रिहाई भए वार्ताका लागि तयार हुने संकेत दिए । त्यही आधारमा सरकार लचिलो भए ।

 

देशभरबाट नेता कार्यकर्ता रिहा भए । तर, नेकपाका नेताहरुले भने पक्राउ परेका नेता–कार्यकर्ता प्रहरीले नछाडेको भए आन्दोलन चर्काउन सहज हुने बताउँछन् । आधिकारिक रुपमा नेकपाले सरकारसँग वार्ता गर्ने कुनै निर्णय नगरेको नेकपाका नेताहरु बताउँदै आएका छन् । एक नेताले भने, ‘‘प्रकाण्डजी आफ्नै रहरले पक्राउ पर्नुभयो र आफैंले बार्गेनिङ गरेर छुट्नुभयो ।

 

यो गम्भीर रहस्यको कुरा छ ।’’ केही दिनअघि बसेको नेकपाको ५ सदस्यीय स्थायी समितिमा पनि प्रकाण्ड प्रकरणबारे चर्चा भएको थियो । बैठकमा प्रकाण्डका पछिल्ला कदमले पार्टीलाई कमजोर बनाउँदै लगिएको चर्चा विप्लव स्वयंले गरेका थिए । नेकपाको स्थायी समितिमा विप्लव, प्रकाण्ड, हेमन्तप्रकाश ओली  धर्मेन्द्र बास्तोला र सन्तोष बुढामगर छन् ।

 

 

हतियार किन्न भारतमा ३ करोड !
फौजी संघर्षमा उत्रिने रणनीति लिएको विप्लव नेतृत्वको नेकपासँग युद्धकालीन हतियार रहेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । यद्यपी कति हतियार छन् भन्ने जानकारी छैन । तर, कतिपय युद्धकालीन हतियार काम नलाग्ने अवस्थाका छन् । यस्तोमा नयाँ हतियारका लागि विप्लवको नेकपाले भारतमा एकजना हतियार व्यापारीलाई ३ करोड रकम दिएको स्रोतको दाबी छ । तत्कालीन जनयुद्धको समयमा माओवादीले ती व्यापारीमार्फत् नै नेपालमा अवैध हतियार भित्र्याएको थियो । यद्यपि, यसको पुष्टि भने हुन सकेको छैन ।

 

स्रोतको दाबीलाई आधार मान्ने हो भने विप्लवको नेकपाले तत्कालीन समयमा माओवादीलाई हतियार सप्लाई गर्ने ती भारतीय हतियार कारोबारीलाई ३ करोड दिएका थिए । ३ करोड रकम लिएपछि ती भारतीय व्यापारी सम्पर्कमा छैनन् । नेकपाभित्र पछिल्लो समय भारतमा दिएको त्यो रकमबारे पनि चर्चा हुने गरेको बाह्रखरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...