दिल्लीमा २५ रूपैयाँमा भाँडा धुने भट्टराई कसरी बने करोडौँको मालिक ?



हाम्रो इकोनोमि

 

बुटवलको सुपर क्वालिटी मिट उद्योगका मालिका कृष्णप्रसाद भट्टराई स्टान्डर्ड गाडी चढ्छन् ।

बुटवलमा निकै महँगो ठाउँ सुख्खानगरमा उनको ठूलो घर छ ।

उनी रूपन्देही मासु व्यवसायी सङ्घको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन् । उनको व्यापार काठमाडौँ, पोखरा, विराटनगर, दाङलगायत नेपालका अधिकांश सहरमा हुने गर्छ ।

एकपछि अर्को सहरमा व्यापार वृद्धि र विस्तार गर्ने क्रम जारी नै छ । जीवनशैली पनि उस्तै उच्च स्तरीय छ ।

झट्ट देख्दा उनी उच्च व्यापारिक घरानाका व्यक्तिभन्दा कम छैनन् । धेरैले उनलाई पुख्र्यौली सम्पत्ति प्रशस्त भएको र उच्च शिक्षा हासिल गरेको भनेर बुझेका पनि छन् । तर वास्तविकता भने फरक छ ।

मासिक २५ रूपैयाँमा भाँडा धोए 

कुनै बेला भट्टराईले भारतको दिल्लीमा मासिक २५ रूपैयाँमा भाँडा माझ्ने काम गरे । त्यो सुन्दा धेरैलाई अहिले पत्यार नलाग्न सक्छ । जब उनी एसएलसीमा फेल भए तब आय आर्जनका लागि दिल्ली पुगेका थिए । उनको जन्मघर गुल्मीको पुर्कोटदहतिर त्यो बेला चलन नै दिल्लीतिर जाने थियो । कमाउनका लागि युवाहरू दिल्ली जान्थे । उनी पनि दाइहरूसँगै दिल्ली गए ।

सुरुमा काम पाउने भनेको भाडा माझ्ने नै हो । हिन्दी भाषा पनि कमजोर । अनि  ६ महिनासम्म क्यान्टिनमा भाँडा माझेपछि कोठी अर्थात मालिकको घरमा काम पाए । २०४८ सालमा प्रतिमहिना २५ रूपैयाँमा उनले काम सुरु गरे । त्यसपछि साहुको घरमा अलि धेरै पैसा पाउने भए । साहुले धेरै मासु खाने भएकाले दैनिक मासु खरिद गर्न जानु भट्टराईको बाध्यता बन्यो । त्यही क्रममा मासु पसलेसँग उनी नजिक भए । त्यसपछि मासु पसलमै काम गर्न थाले ।  जहाँ दस वर्षसम्म उनले काम गरे ।

कामसँगै क्षमता वृद्धि

५८ सालसम्म त्यही मासु पसलमा भट्टराईले काम गरे । त्यो समयमा मासुसम्बन्धी तालिम र ज्ञान थुप्रै लिए । जहाँ दुई वर्ष नर्मल वर्करको रूपमा काम गरे । मालिकको विश्वास पात्र बने । त्यो बेलाको कामको अनुभवले नै आज उनी बुटवलमा करोडौँ रूपैयाँको मालिक बनेका छन्, त्यो पनि मासु उद्योगको ।

बुटवलको क्वालिटी मिट उद्योगका मालिक कृष्णप्रसाद भट्टराई ठुलै व्यापारी घरानामा जन्मेका जस्ता देखिन्छन् । बुटवलदेखि नेपालका विभिन्न जिल्ला पनि उनलाई सफल व्यापारीको रूपमा चिन्ने गर्छन् । रूपन्देही मासु व्यवसायी सङ्घका अध्यक्ष भट्टराई बुटवल उद्योग वाणिज्य सङ्घ पनि रूपन्देही उद्योग सङ्घ विभिन्न उपसमितिमा बसेर काम गरेका छन् । अहिले उनी स्थापित उद्योगीको रूपमा चिनिन्छन् ।

लगातार १८ घण्टा काम

भारतमा सुरुमा काम गर्दा उनले दैनिक १८ घण्टासम्म काम गरे । ‘बिहान ४ बजे उठेर मन्डीमा कुखुरा खरिद गर्न जान्थे । ८ बजेसम्म कुखुरा पसलमा ल्याएर आउँथे । त्यसपछि अरू अरू स्टाफहरूलाई कामको बाँडफाँड आफैले गर्नुपथ्र्यो’, उनले विगत सुनाए ।

उनी  भन्छन् ‘पार्टीलाई पैसा दिने, कर्मचारीलाई तलबदेखि सबै बजार आफैले हेर्नुपर्ने थियो । सायद त्यही खटाइले नै अहिले यहाँ मलाई  सफल बनाएको छ ।’ बुटवलमा सुरु गरेको सुपर क्यालिटी मिट हाउसलाई उनले उपभोक्ताको मासुको स्वादमै परिवर्तन गराइदिए । चिकन ललिपप, चिकन ससेस, चिकन फिजर, चिल्ली ससेस, चिकन समोसा, चिनक वर्गर, चिकन बोन लेसलगायत १० भन्दा बढी आइटम उपभोक्तालाई दिएका छन् ।

अहिले पनि उनको खटाई दिल्लीमा जस्तै भएको बताए । रोतोपटीसँगको कुराकानीमा  भने, ‘बिहान ५ बजे आएको हँु । अहिले ४ बजेको छ । अब फेरि प्याकिङ, बजार पठाउने बेला हुन्छ । खाना खान घर जान पाइनँ । मेरो शरीरको व्यायम पनि दिनभरको यही खटाइ हो । कम मिहिनेतमा उद्योग चल्दैन । खेटर र सचेत भएर काम गर्नुपर्छ ।’

अन्डर एसएलसी : आईटी र व्यापारमा पोख्त 

२०४८ सालमा उनले पृथ्वी माविबाट एसएलसी दिएका थिए । तर सफल हुन सकेनन् । त्यसपछि भारतको दिल्लीमा काम गर्न पुगेका भट्टराईले औपचारिक शिक्षालाई सधैँको लागि बन्द गरे । तर पनि उनी प्रविधि प्रयोगमा पोख्त छन् । उनले सबै कारोवार अहिले सफ्टवेयरका माध्यमबाट गर्छन् । उनले विभिन्न शाखाहरूकोे  कामको मनिटरिङ बुटवलबाटै गरेका छन् । सँगै उनले ममदेखि सबै काम मेसिनबाट गराएका छन् । ममको किमा बनाउनेदेखि पिठो मोल्नेसम्म सबै काम मेसिनबाट गराउने गरेका छन् । ‘प्रविधिको प्रयोग गर्नुपर्छ । काम गर्न सहज र लगानी पनि कममा गर्न सकिन्छ’, उनले अनुभव सुनाए ।

दैनिक हजार किलो मम

उनले दैनिक १ हजार किलो मम उत्पादन गर्छन् । यहाँ उत्पादित मम पोखरालगायत विभिन्न ठूला होटलहरूमा जान्छ । मानिसभन्दा मेसिन प्रयोग गरेर काम गर्दा उत्पादन खर्च पनि कम हुने हुँदा बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको ठम्याइ छ । अझ मासु आइटममा जोखिम बढी हुन्छ । यसर्थ गुणस्तरमा निकै ध्यान दिनुपर्नेमा उनी सचेत छन् । ममसहित मासुका २ हजार किलो आइटम उत्पादन गर्ने गरेको उनको भनाइ छ । ८० प्रतिशत चिकन, अन्य मटन र हप्ताको एक दिन बफ आइटम चल्छ । बफ आइटमका लागि मेसिन छुट्टै छ । बुटवलमा बफ आइटन चल्दैन तर पोखरा, काठमाडौँ क्षेत्रका उपभोक्ताहरूको मागलाई ध्यानमा राखेर एक दिन बनाउने गरेका छन् । जर्मन चिकन मम प्लान्ट बनाएका छन् । यो ७० लाख रूपैयाँको आधुनिक मेसिन हो, जसले एक घण्टामा ३ सय किलो मम बनाउँछ । एक दिन १ हजार किलो मम देशभर बिक्री गर्नुपर्छ भन्ने उनको टार्गेट छ । यहाँ उत्पादन भएको प्याकिङ मम विभिन्न होटल र बजारमा जाने गर्छ । ‘हाम्रो टार्गेट भनेको होटल र सुपर मार्केट हो’, उनले भने ।

२ लाखबाट सुरु गरेर २५ करोड

सुरुमा २ लाखबाट सुरु गरेको मासु व्यवसाय २५ करोडभन्दा माथि पुगेको छ । सुरुमा २ वटा खसी र १० वटा कुखुरा ल्याएर सुरु गरेको व्यापार एकपछि अर्को गर्दै विस्तार भएको छ ।

पशु चिकित्सकले गुणस्तर हेर्ने गरेका छन् । ल्याब टेस्टको तयारी छ । आईएसओ  सर्टिफिकेट आएका छन् । बेला बेला विभिन्न क्षेत्रबाट प्रशोधन उद्योगका रूपमा सम्मान पाउनु ठूलो कुरा हो । पशु विभाग र रूपन्देही उद्योग सङ्घले पनि सम्मान गरेको थियो । उनको  कम्पनीका ३ सयभन्दा धेरै रोजगारी पाएका छन् । उनले भने ‘मेरा दुईवटा बजारमा व्यावस्थापलाई गाडी किनिदिएको छ, अन्यलाई मोटरसाइलक छन् । बुटवलमा, काठमाडौँ, पोखरा, दाङलागयतका स्थानमा उनका कर्मचारी छन् ।

दिल्लीदेखि बुटवलसम्मको यात्रा 

एक दशकको काम गराइले भट्टराईलाई दिल्लीमै पनि राम्रो प्रगति भएको थियो । साहुको विश्वास पात्र बनेका थिए । सोही अवधिमा उनको परिवार पनि विस्तार भएको थियो । साहुले बस्ने, व्यवस्थादेखि तलब पनि राम्रो दिएको थियो । देशमा भने राजनीतिक माहौल अर्को भइसकेको थियो ।

त्यसबेला उनी अखिल नेपाली एकता समाज भारतमा काम गरेका थिए । यस क्रममा तत्कालीन समयमा नेकपा माओवादीका नेताहरू डा. बाबुराम भट्टराई र बामदेव क्षेत्रीसँग भेटघाट भइरहन्थ्यो । अनि पार्टीले उनलाई नेपालको कुनै पश्चिम क्षेत्रमा कमाण्ड सम्हाल्न आग्रह गर्यो । उनले राजनीति नगर्ने मुड बनाए । घरबाट पनि राजनीति गरेर बाहिर नजान आग्रह भयो । अनि उनी बुटवलम आएर डेरामा बसे ।

२०५८ सालको अन्ततिरबाट बुटवलमा दैनिक २ वटा खसी र १०, १२ वटा कुखुरा ल्याएर कृष्ण र उनकी श्रीमतीले काटेर बिक्री गर्न थालेका थिए । सुरुका दिन सम्झन्छन्, ‘यदि द्वन्द्व नभएको भए अहिले दिल्लीकै लाहुरे हुने थिएँ । यहाँ यति ठूलो उद्योगी बन्ने सपना पनि देखेको थिइनँ ।’

फुड ट्रक कन्सेप्ट पनि उनकै हो । उनले बुटवलमा २०६२ बाट त्यसको सुरुवात गरेका हुन् । बुटवलको ट्राफिक चोकबाट यसको सुरुवात भएको थियो । अहिले विस्तार हुँदै बुटवलमा विभिन्न ठाउँमा छन् । उनले फुड ट्रक चलाउन सिकाउने गरेका पनि छन् । दिल्ली यात्रा चलिरहँदा कुनै दिन उनले बुटवलमा आएर कम्पनीको मालिक बन्ने, २ सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिने कल्पना पनि गरेका थिएनन् ।

निरन्तर मिहिनेतबाट नै सफलता   

सफलताको कडी धैर्य निरन्तरको मिहिनेत नै हो । निरन्तरको लगाव र योजनाबाट उनी उद्योगमा सफल भएसँगै सङ्घसंस्थाको नेतृत्व पनि राम्रोसँग गरेका छन् । मासु व्यवसायी सङ्घमा लगातार तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले बुटवल उद्योग वाणिज्य सङ्घका विभिन्न उपसमितिमा बसेर पनि काम गरेका छन् ।

‘जबसम्म व्यवस्थित वधशाला सञ्चालनमा आउँदैन, तबसम्म गुणस्तरीय मासु उपभोक्ताले खान पाउँदैनन्’, उनी भन्छन्, ‘कामलाई सानो ठूलो भन्नु हुँदैन । आफूले लिएको लक्ष्यलाई सही ढङ्गले अगाडि बढाए सफलतामा पुग्न सकिन्छ ।’(रातोपाटी वाट)

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...