देउवा आफ्नै घरमा थुनिएपछि गगन थापाको आकस्मिक पत्रकार सम्मेलन
देउवा आफ्नै घरमा थुनिएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले आज दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीका माग र चिकित्सा शिक्षा विधेयकमा बारेमा आफ्नो विचार राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
डा केसीले उठाएका माग किन जायज छन् भन्दै त्यसबारेमा उनले जानकारी दिनेछन् । आफू स्वास्थ्यमन्त्री भएका बेलामा समेत डा केसीका मागलाई पुरा गराउन लागिपरेका थिए । डा केसीको आमरण अनसनपछि चिकित्सा शिक्षा क्षेत्रमा कस्तो किसिमको सकारात्मक प्रभाव पार्यो त भन्ने बारेमा समेत थापाले बोल्नेछन् ।
उनले आफ्नो संवोधनमा डा केसीको आमरण अनसन, डा केसी नभएको भए स्वास्थ्य शिक्षा के हुन्थ्यो, के फरक पर्यो, आफूले लिएको अडानका बारेमा समेत पनि लिखित प्रस्तुति दिन लागेका हुन् ।
त्यसैगरी थापाले डा केसीको अनसनपछि विदेश पढ्न जानेहरुको संख्या कसरी घट्यो ? स्वास्थ्य क्षेत्रमा कस्तो प्रभाव पार्यो ? मुद्दा नाफा केन्द्रीत छ कि देशको स्वास्थ्यको हितमा छ ? लगायतको प्रश्नको जवाफ पूरा तथ्यांकसहित उनले पत्रकार सम्मेलनमा बर्णन गर्नेछन् ।
सत्ताधारी दल नेकपाले डा केसीको मागले नेपालको स्वास्थ्य शिक्षामा विचलन आएको र विदेशी मेडिकल कलेजको लहलहैमा मुद्दा उठाएको, देशभित्रको लगानीलाई निरुत्साहित गरेको लगायतका आरोप लगाएको सन्दर्भमा नेता थापाले पत्रकार सम्मेलनमा त्यसको जवाफ दिनेछन् ।
डा केसी अहिले १६ औं चरणको आन्दोलनमा छन् । सुरुवाती चरणका आन्दोलनमा उनका मागलाई समर्थन जनाउने नेकपाकै नेताहरु, व्यक्तिहरु कसरी लाभका पछाडि दौडिएका छन् भन्ने कुराको खुलासासमेत थापाले गर्ने बुझिएको छ ।
देउवा निवासमा नेविसंघको धर्ना, यसरी थुनिए शेरबहादुर आफ्नै घरमा
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ को म्याद थपिएको विरोधमा नेविसंघकै नेता–कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । मोटरसाइकल र्यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता–कार्यकर्ताहरुले धर्ना दिएका हुन् ।
नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ ।
विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता–कार्यकर्ताहरु विरोधमा छन् ।
नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।
यसअघि पटक–पटक म्याद थप भए पनि वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्र विवाद छ । ७७ जिल्लामध्ये १४ जिल्लामा भने नेविसंघको अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ ।
नेविसंघको महाधिवेशन भदौमा हुने भनिएको थियो तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद यही माघ २ गते सकिएको छ ।
पाँच महिनाको म्याद थपिएपछि नेविसंघ अध्यक्ष नैनसिंह महरले यही पुस २८ गते अर्थात् शनिबार महाधिवेशन उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेका थिए । तर, पुस २८ गते पनि महाधिवेशन सुरु हुन सकेन ।