टोखाबाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ
महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ ।
ट्याक्टर दुर्घटनामा १ को मृत्यु, तीन घाइते
मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार, ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत छन् ।
घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए । लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको थियो ।


