कोकमा रक्सी मिसाएर खुवाई किशोरीमाथि सामूहिक बलात्कार, एकजना पक्राउ
पेयपदार्थ कोकमा रक्सी मिसाएर दुई जना युवकले झापा भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू रहेको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार घटनामा संलग्न सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी भने फरार रहेका छन् । राजवंशी भारततर्फ फरार भएकाले उनको खोजी कार्य तिव्र बनाइएको डिएसपी श्रेष्ठले बताए ।
यस्तो छ घटना–
प्रहरीले दिएको जानकारीअनुसार गत पुस २२ गते आइतबार आपसी चिनजानको आधारमा दुईजना किशोरीलाई ती दुई युवकले कोक खान आग्रह गरेका थिए ।
किशोरीद्वय उनीहरुको कुरा स्वीकार गरी कोक खाएका थिए । तर ती दुई युवकले कोकको बोतलमा रक्सी मिसाएको उनीहरुले थाहा पत्तोसमेत पाएनन । केही समयपछि रक्सीले लठ्ठ परेपछि ती दुई किशोरीमध्ये १५ बर्षीया एक किशोरीलाई नजिकैको जंगलमा लगेर युवकद्धयले सामूहिक बलात्कार गरेका थिए ।
रक्सीले लठ्ठ परेकी ती किशोरीलाई आफु बलात्कार भएको थाहा समेत भएन । साँझ परेपछि दुवै किशोरीहरु घर नफर्किएपछि उनीहरुको खोजी कार्य तिब्र पारिएको थियो । बलात्कार हुनबाट जोगिएकी अर्की किशोरीले परिवारजनलाई सबै घटनाबारे जानकारी गराएपछि मात्र बलात्कार भएको घटना बाहिर सार्वजनिक भएको थियो।
किशोरी बलात्कारमा परेको घटना थाहा पाएपछि उनका परिवारजनले महेशपुर प्रहरी चौकीमा जानकारी गराएका थिए। प्रहरी चौकीमा मुद्दा दर्ता नहुने भएपछि परिवारजनले पुस २७ गते प्रहरी कार्यालय झापामा किटानी जाहेरी जाहेरी समेत दिएका छन् । सोही जाहेरीको आधारमा प्रहरीको विशेष सुराकीबाट लिम्बूलाई पुस २८ गते भद्रपुर २ स्थित डिगाउँबाट पक्राउ गरिएको हो ।
हुण्डीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ
हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा, विराटनगर–११ का २५ वर्र्षीय सुमित साह र विराटनगर–१२ का ४१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले रु ६९ लाख ५७ हजार ६०० समेत बरामद गरेको छ । विराटनगर–७ स्थित आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट हुण्डीको कारोवारमा भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले लामो समयको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।
राजधानीमा स्वाइनफ्लु भेटियो
राजधानीमा स्वाइनफ्लु (एचवान एनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमित बिरामीको करिब दुई सातादेखि उपचार भइरहेको छ ।
संक्रमित १५ र २६ वर्ष उमेरका काठमाडौं वासी महिला हुन् । उपचारमा संलग्न डा. राजेशकुमार मण्डलका अनुसार उनीहरू आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल पुगेका थिए । अहिले बिरामीको अवस्था जोखिममुक्त भएको बताउँदै उनले भने, ‘एक साता भेन्टिलेटरमै राखेर उपचार गरियो, दुवैलाई निमोनियासमेत भइसकेकाले अवस्था गम्भीर थियो।’ यो वर्ष वीर अस्पतालमा पहिलो पटक स्वाइन्फ्लुका बिरामी भेटिएका हुन् ।


