विवेकशील साझा पार्टी फुट्यो, उज्वलको नेतृत्वमा नयाँ दल दर्ता



हाम्रो इकोनोमि

 

विवेकशील साझा पार्टी फुटेको छ । संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।

 

पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।

 

तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् । ‘हामीले भन्दै आएको सुसंस्कृत र बैकल्पिक राजनीति हुँदैन भन्ने लाग्यो’ एक नेताले भने, ‘यसरी सँगै बस्नुभन्दा अलग अलग रुपमा बस्नु बेस भन्ने भयो ।’

 

 पार्टी गलत बाटोमा हिडेकाले फुट्यो  उज्वल थापा

 

पार्टी एकता गरेको डेढवर्षमै विवेकशील साझा पार्टीमा आन्तरिक विग्रह देखा परेको छ । संयोजक उज्वल थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन पेश गरेपछि आन्तरिक विवाद सतहमा आएको छ ।

नेताहरुका अनुसार पार्टीभित्र देखा परेको यो विग्रह ततकाल पार्टी नै फुट्ने स्तरको होइन । तर, थापाको प्रतिवेदनमा आम नेता कार्यकर्ताको भावना छ । र, रविन्द्र मिश्रको कार्यशैलीमाथि निर्मम आलोचना गरिएको छ ।

 

असन्तुष्ट रहेका थापा तत्कालीन विवेकशीलका अध्यक्ष हुन् भने अर्का संयोजक रविन्द्र मिश्र साझा पार्टीका पूर्वअध्यक्ष हुन् । स्थानीय चुनावमा सहकार्यसमेत गर्न नसकेका दुबै दलले प्रदेश र संघको चुनाव अगाडि एकता गरेर विवेकशील साझा पार्टी बनाउँदा थापा र मिश्र दुबै संयोजक बनेका हुन् ।

संसदीय चुनावमा पार्टीले अत्यधीक चर्चा पाए पनि अपेक्षित नतिजा ल्याउन सकेन । संघीय संसदमा कुनै सिट जित्न सकेन । काठमाडौंबाट चुनाव लडेका दुबै संयोजकहरु पराजित भए । प्रदेश ३ मा भने विवेकशील पार्टीले समानुपातिकतर्फ ३ सिट पायो ।

तर, चुनावी परिणामसँगै नेता कार्यकर्तामा निराशा बढेको छ भने एकपछि अर्को विवाद बाहिर आइरहेको छ ।

यहीबेला संयोजकमध्येका थापाले पार्टी गलत दिशामा रहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका छन् ।

 

के छ उज्वलको प्रतिवेदनमा ?

निर्वाचनपछिका एक वर्षको समीक्षा गर्दै संयोजक थापाले भनेका छन्, ‘म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्र गलत बाटोतर्फ गइरहेको छ ।’

उनले कसैको नाम लिएर दोष दिएका छैनन् । तर, अर्का संयोजक रविन्द्र मिश्रले पार्टी सही दिशामा रहेको बताइरहेका बेला थापाले त्यसलाई खण्डन गरेका छन् ।

यो आफ्नै नेतृत्वमाथि निर्मम समीक्षा भएको र आफ्नो अंशको जिम्मेवारी लिने थापाले प्रतिवेदनमा बताएका छन् ।

१८ पृष्ठ लामो प्रतिवेदनमा संयोजक थापाले पार्टीका सात वटा समस्या औंल्याएका छन् ।

 

होस र जोसलाई अँगाल्न नसकेको, परिपाटी बसाल्ने पार्टी बनाउन कम चासो देखिएको, दलले गति दिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको थापाको संश्लेषण छ ।

त्यसैगरी डरको राजनीति हावी भएको, सिरियल सर्किटमा चल्न रुचाउने प्रवृत्ति हावी भएको र उत्कष्ट नेतृत्वको सबल पक्षभन्दा कमजोरीमा केन्द्रित वातावरण बनेको थापाको निष्कर्ष छ ।

‘मोदीजी, नेपालमा स्वागत छ, तर नाकाबन्दी भुलेका छैनौं’ बाहेक पार्टीले सञ्चालन गरेका अभियानहरु अपुरो भएको भन्दै थापाले कतिपय विषयमा नेतृत्व नै चुकेको उल्लेख गरेका छन् ।

 

संगठन निर्माण निराशाजनक हुनुका साथै केन्द्रीय विभागमा डरको राजनीति हावी भएको बताउँदै थापाले भनेका छन्, ‘केही गर्न खोज्ने विभागहरुले पनि उच्च नेतृत्वबाट त्यो त हुँदै हुन्न भनिदिने हो कि भन्ने डर देखियो ।’

उर्जाशील सदस्यहरुलाई विभागमा राख्न खोज्दा शंकाले हेरेको र बाहिरबाट राम्रा आउँछन् भन्ने नाममा पार्टीमै भएका उत्कृष्टहरुलाई चासो नदिएको थापाको गुनासो छ ।

संयोजन समितिका सदस्यहरुले धेरै पद ओगटेको र बाँकी नेतृत्व तथा सदस्यहरुलाई जिम्मेवारी दिन संकोच मानेको थापाले प्रतिवेदनमा बताएका छन् ।

 

फरक विचार राख्ने नेतृत्व र व्यक्तिका चरित्र र नकारात्मक कार्यशैलीबारे बढी चर्चा हुन थालेको बताउँदै थापाले भनेका छन्, ‘पर्याप्त छलफलविना केही व्यक्तिको विचार पार्टीको विचारका रुपमा स्थापित गर्न खोजिएको अनुभूति भएको छ ।’

उर्जाशील सदस्यलाई अराजकका रुपमा हेर्न थालिएको र गुनासो पोख्दा ईख लिने प्रवृत्ति देखिएको भन्दै संयोजक थापाले बोली बढी काम कम हुन थालेको टिप्पणी गरेका छन् ।

यसको उदाहरणका रुपमा उनले महाधिवेशन अगाडि एक लाख सदस्य बनाउने भनिएकोमा १६ महिनामा ४ हजार मात्रै भएको उल्लेख गरेका छन् ।

‘नेतृत्वको वक्तव्यमा हामी भन्दा म हावी देखेँ । कतिपय बेला आलोचना हुँदा बोली र व्यवहार दुबैमा चाहेभन्दा बढी रक्षात्मक भइहाल्ने बानी छ’ थापाले समीक्षा प्रतिवेदनमा भनेका छन् ।

 

पारदर्शितामाथि प्रश्न

पार्टी पारदर्शिताको मान्यतादेखि नै डराएको र नेतृत्व डरले ग्रसित भएको थापाको निष्कर्ष छ । सम्पत्ति विवरण बुझाउन भएको कठिनाइ यसको प्रमाण भएको उनले बताएका छन् ।

लेखा परीक्षण भए–नभएको पार्टी सदस्यहरुलाई जानकारी नदिएको, दलका कार्यक्रम, भ्रमण खर्च सार्वजनिक नगरेको र पार्टीका निर्णयहरुमा पनि पारदर्शितामा ह्रास आएको थापाको समीक्षामा छ ।

विन्रमता, उत्कृष्टता, इमान्दारिता र पारदर्शितालगायत दलले बोकेका मूल्य मान्यताहरुमा नै खरोसँग उत्रन नसकेको थापाको निष्कर्ष छ ।

 

थापाले निश्कर्षमा भनेका छन्, ‘ठूलो बन्न खोज्दा खोक्रो होइन, नवीनता अँगाल्न नडराउने, चुस्त अनि बलियो, मूल्य मान्यतामा अडिग सुसंस्कृत संगठन बनाउनुपर्छ ।’

चार हजार एक सय सदस्यका हात–हातमा पुगेको समीक्षा प्रतिवेदनमा थापाले अर्का संयोजक मिश्रको नाम त कतै उल्लेख गरेका छैनन् । तर, उनको असन्तुष्टि रविन्द्र मिश्रप्रति नै लक्षित रहेको सहजै अनुमान गर्न सकिन्छ ।

थापाले ‘आफ्नो सांगठनिक जिम्मेवारी र काम कारवाहीलाई अधुरै छाडी मिडिया र अन्तरवार्तामै बढी केन्द्रित भएको’ भन्दै मिश्रप्रति अप्रत्यक्ष व्यंग्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...