आज २९७ औँ पृथ्वी जयन्ती, पृथ्वीनारायणको योगदानको स्मरण



हाम्रो इकोनोमि

 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार २९७ औँ पृथ्वी जयन्ती मनाइँदैछ । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गर्नेछन् । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सो अवसरमा उपस्थित हुने बताइएको छ ।

 

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

 

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् । लोकतन्त्रपूर्व राष्ट्रिय एकता दिवस सरकारी तबरबाटै मनाउने गरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाएको छैन । दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

 

सरकारी तबरबाट पृथ्वी जयन्ती नमनाइए पनि केही दल र संघ–संस्थाहरुले स्वतःस्फुर्त रुपमा पृथ्वी जयन्ती मनाउँदै आएका छन् । यस वर्ष पनि राप्रपालगायतका दलहरुले विविध कार्यक्रम गरेर पृथ्वी नारायण शाहको स्मरण गर्ने तयारी गरेका छन् ।

 

नेपाल प्रज्ञा–प्रतिष्ठानले आधुनिक नेपाल निर्माता शाहको तस्वीर सजाएर बग्गीमा राखेर विशेष बाजागाजासहित कमलादीबाट सिंहदरबारसम्म शोभायात्राको कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुभारम्भ गर्र्ने प्रतिष्ठानले जनाएको छ ।

 

बाइसेचौबीसे राज्यमा छरिएको भूगोललाई युद्ध तथा कूटनीतिक कौशलताबाट क्रमिक रुपमा एकताबद्ध गरेका शाहको गौरव र इतिहास परिवर्तन गर्न नहुने र योगदानलाई राजनीतिक आस्थासँग जोड्न नहुने बुद्धिजिवीले सुझाउनुभएको छ । सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा बुद्धिजिवीले बताएका छन् ।

 

प्राज्ञ दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छविकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनःएकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

 

तत्कालीन समयमा काठमाडौँ उपत्यका, सिम्रौनगढ र सिँजा केन्द्र भएको राज्य शक्तिशाली थिए । तिनै तीन केन्द्रअन्तर्गत बाइसे र चौबीसे राज्य अस्तित्वमा थिए । विसं १७७९ पुस २७ गते जन्मेका शाहले विसं १७९९ चैतमा राजा भएपछि नुवाकोट १८०१ र काठमाडौँ उपत्यका विसं १८२५–२६ र पछि पूर्वका सेन राज्य विजय गरेका थिए । आफ्ना पालामा छरिएका ५४ राज्यमध्ये धेरै राज्य एकीकरण गरेपछि शाहलाई वंशका हिसाबले राजा तथा कुशल नेतृत्व गर्न सक्ने सेनापतिका रुपमा पनि चित्रण गरेको पाइन्छ ।

 

शाहको फौजले एकीकरणका क्रममा दोस्रो आक्रमणमा विसं १८०१ असोज १५ गते नुवाकोट जितेको थियो । उक्त स्थानबाट शुरु गरिएको एकीकरण बढ्दै गएर काठमाडौँ उपत्यका र पछि पूर्व्तिर विजय गरे पनि उनको कार्यकालमा नभई भाइ र छोराहरुले पश्चिमतिर सिमाना बढाए ।

 

शाहका कान्छा छोरा बहादुर शाहले पनि राज्य बढाएको भए पनि विभिन्न कारणले त्यसलाई कायम गर्न सकिएन । नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । नेपाल अङ्ग्रेज युद्धपछि सुगौली सन्धि (विसं १८७२) सम्म वर्तमान भूभाग (राणाका पालामा नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता) नेपाल अधीनस्थ भयो ।

 

प्राज्ञ जगमान गुरुङले शाह नेपालको अस्तित्वलाई जोगाउने युगपुरुष भएको बताउँदै टुक्राटुक्रामा विभाजित नेपाललाई शाहले गरेको एकीकणका कारण अहिले नेपालीले सङ्घीय गणतान्त्रिक नेपालको सत्ता उपभोग गर्न पाएको विचार व्यक्त गरे । उनले भने, ‘जातीय धरातलभन्दा माथि उठेर साझा पहिचानमा अगाडि बढ्यो भने मात्र राष्ट्रिय एकता कायम हुन्छ ।’

 

आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहबाट अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति र समुदायबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको छ । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । शाहको एकीकरणका क्रममा भारतमा जस्तै नेपालमा पनि बेलायती साम्राज्यको प्रभाव पार्न खोजिए पनि नेपालीले मुसलमान र अङ्ग्रेज शासकबाट स्वतन्त्रता जोगाए ।

 

वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले विभिन्न भूगोलमा छरिएका खण्ड खण्ड राज्यलाई एकीकरण तथा त्यहाँका जनतालाई एकीकृत गरेर दुई ठूला देशबीच नेपाललाई स्वतन्त्र राष्ट्रका रुपमा स्थापित गर्ने महान् नेताका रुपमा शाहलाई सम्मान गर्नुपर्नेमा जोड दिए । नेपालका विभिन्न जाति, धर्म र क्षेत्रको द्वन्द्धलाई मिलाउने महान् व्यक्ति शाहले साना राज्य–रजौटामा विभाजित देशलाई एकीकरण नगरेको भए आज हामी नेपाली नहुने उनको भनाइ थियो ।

 

जब हामीमा एउटै राष्ट्रको मान्छे हौँ भन्ने भावना आउँछ तब मात्र राष्ट्रिय एकता हुन्छ । सम्पूर्ण जातजाति, वर्ग, समुदायको मानिस एक जुट भएर अघि बढ्न सके मात्र राष्ट्रिय एकता हुन्छ । तल्लो वर्गलाई माथि उठाउने र माथिल्लो वर्गले पनि तल्लो वर्गलाई शोषण गरेन भने मात्र देश विकास हुन्छ । यो सबै जातको साझा फूलबारी हो भनेर परिचय दिने काम पृथ्वीनारायणबाट भएको थियो ।

 

इतिहासकार डा सुरेन्द्र केसीले नेपाल राष्ट्रका जनक शाहले विभिन्न राज्यमा विभाजित राज्यलाई विदेशी हस्तक्षेप हुनबाट जोगाउने कार्य गरेकाले नेपालीले सदैव उच्च सम्मान गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...