मन्त्रिपरिषद् कार्यालयबाटै भ्रष्टको नियुक्ति : उद्योग मन्त्री यादव बेखबर



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई थाहै नदिई उनको मन्त्रालय अन्तर्गतको औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड बालाजुको अध्यक्ष नियुक्ति गरेको छ । उद्योग मन्त्रालयले प्रस्ताव नै नलगी २०७५ पुस ६ को मन्त्रिपरिषद बैठकले नन्दकिशोर बस्नेतलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरी नियुक्ति दिनू भनेर निर्णय गरेको छ ।

विगतमा संस्थान निर्देशन बोर्डले खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्दैआएकोमा त्यसलाई कोमामा पु¥याइयो । बोर्डबाट सबै अधिकार झिकेपछि अहिले पनि सामान्य सूचना निकालेर प्रतिस्पर्धा गराई सरकारी संस्थानहरूमा नियुक्तिको प्रक्रिया पूरा गरिन्छ । तर औद्योगिक क्षेत्र ब्यवस्थापन लि. को अध्यक्ष नियुक्तिमा यी कुनै प्रक्रिया त पूरा गरिएन नै, तालुक उद्योेग मन्त्रालयलाई समेत थाहा नदिई अपारदर्शीरुपमा गरिएको छ ।

मन्त्रिपरिषद बैठकबाट योग्यतासम्बन्धी कार्यविधि नै संशोधन गरी उनलाई ठाडो नियुक्ति गर्ने निर्णय गरेको एकसातापछि मात्र मन्त्री मातृका यादवले बस्नेतलाई अध्यक्ष बनाउने निर्णय भएको थाहा पाएका थिए । त्यो पनि बस्नेतले नै नियुक्तिको निर्णयको कपी लिएर मन्त्रालयमा बोधार्थ बुझाउन गएपछि मात्र उनले थाहा पाएका हुन् ।

 

बस्नेत मन्त्रिपरिषदले कार्यविधि संशोधन गरी नियुक्ति दिने पत्र बोकेर अहिले दैनिक मन्त्रालयमा जाने गरेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा भएको नियुक्तिका बारेमा थाहा नै नभएकाले कार्यविधि पनि संशोधन नगर्ने र नियुक्ति पनि नदिने अडान राख्दैआएका छन् । मन्त्री यादवले मेरो मन्त्रालय अन्तर्गतको निकायमा मलाई नसोधी कसरी नियुक्ति गरियो ? मलाई थाहा छैन भन्दै आक्रोस प्रकट गरिरहेका छन् ।

सचिव यामकुमारी खतिवडाकोमा पुगेका बस्नेतलाई उनले पनि मन्त्रीसँगै कुरा मिलाउनुस् भनेर तर्किएकी छिन् । उद्योग मन्त्रीलाई बाइपास गरी सोझै प्रधानमन्त्री ओलीका सल्लाहकार बिष्णु रिमाललाई खुसी बनाएर उनी चोरबाटोबाट नियुक्ति निर्णय गराएर दबाबकै भरमा नियुक्तिपत्र लिने दाउमा छन् ।

 

मन्त्री यादवलाई चुनौती दिएर नियुक्ति निर्णय गराएका बस्नेत सशस्त्र प्रहरी बलमा सिपाहीबाट जागिरमा प्रवेश गरेका ब्यक्ति हुन् । द्वन्द्वकालमा माओवादी प्रभावित क्षेत्रमा हेलिकोप्टरमा सामान ओसार्दा उनी टाइमकिपरका रुपमा काम गर्थे ।

 

सुडान मिसनमा उनी तत्कालीन कमाण्डर तथा हालका सशस्त्रका डीआइजी खड्ग राईका रनर र ड्राइभरका रुपमा काम गर्थे । पछि सशस्त्रका हाकिमहरूको चाकरी गरी मानार्थ इन्स्पेक्टरसम्म भएर अवकाश पाएका उनी महेश बस्नेतको पालामा औद्योगिक क्षेत्रमा नियुक्त भएका थिए । उनको कार्यकाल पुस ६ मै सकिंदैथ्यो । पुस ६ मै मन्त्रालयलाई पत्तै नदिई शक्ति देखाएर उनले पुनः मन्त्रिपरिषदबाट ३ बर्षका लागि नियुक्तिको निर्णय गराउन सफल भएका छन् ।

बस्नेतका भ्रष्टाचारका रामकहानी

अध्यक्ष बस्नेतले ५ बर्षे कार्यकालमा करोडौं भ्रष्टाचार गरेका छन् । उनले हेटौंडा कपडा उद्योगको २ सय ५० रोपनी जग्गा बिक्री गरिसकेका छन् । जुन जग्गा बिक्री गर्दा उनले प्रतिरोपनी १ लाखका दरले घुस लिएको आरोप छ । पूर्वउद्योग मन्त्री नवीन्द्रराज जोशीले हेटौंडा कपडा उद्योग संचालन गर्ने योजना ल्याइरहँदा उनले जग्गा बिक्री गरिसकेका थिए ।

त्यसैगरी उनले औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड अन्तर्गत प्रतिब्यक्ति ३ लाख रुपैयाँसम्म घुस लिएर ५१ जना कर्मचारी भर्ना गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार नयाँ बनाउन लागेका औद्योगिक क्षेत्रको डीपीआरको नाममा समेत उत्तिकै अनियमितता गरेका छन् । रुपन्देहीको मोतिपुर, नेपालगंजको नौबस्ता, कन्चनपुरको दैजी, चितवनको शक्तिखोरमा थप औद्योगिक क्षेत्र बनाउने भनेको छ । ती औद्योगिक क्षेत्रको डीपीआर बनाउने क्रममा उनले करोडौं रुपैयाँ चलखेल गरेका छन् ।

बस्नेतले जग्गा दिंदा पनि घुसका आधारमा दिने गरेको आरोप छ । सरकारको नीति उत्पादनमूलक उद्योगलाई बढावा दिने छ । तर बस्नेतले उत्पादनमूलक उद्योगलाई जग्गा उपलब्ध नगराई पेट्रोल पम्प र कम्प्लेक्स खोलेर भाडामा लगाउनेहरूलाई दिएका छन् । बालाजु र हेटौंडामा पेट्रोल पम्पलाई जग्गा दिएका छन् ।

 

बालाजुमा त अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतका छोरा कमल बस्नेतलाई पम्पको अनुमति नै नलिई जग्गा दिने निर्णय गर्दा उनी विवादमा तानिएका थिए । उनले बालाजुमा सपिङ कम्प्लेक्स निर्माण गरी भाडामा लगाउनेहरूलाई कौडीको मूल्यमा बीसौं बर्षसम्मका लागि जग्गा दिएका छन् । पेट्रोल पम्प र सपिङ कम्लेक्स उत्पादनमूलक उद्योग होइनन् ।

 

श्रीमान अध्यक्ष, श्रीमती ट्रेड युनियन नेता

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडमा आवद्ध कर्मचारीहरूको ट्रेड युनियन छ, कर्मचारी संघ नेपाल । संघको अध्यक्षमा लिमिटेडकै अध्यक्ष नन्दकिशोर बस्नेतकी श्रीमती छिन्, एकमाया थापा । श्रीमान कार्यालय प्रमुख, श्रीमती ट्रेड युनियन अध्यक्ष भएपछि उनका अनियमितता र मनपरीको बिरोध कसले गर्ने ?

 

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले प्रधानमन्त्री र उनका सल्लाहकारको शक्तिका आडमा मातृका यादव मन्त्री भएपछि एकपटक पनि उनलाई भेटेका छैनन् । ९ महिनासम्म एकपटक पनि नगएका उनी मन्त्रिपरिषबाट ठाडो निर्णय गराएर नियुक्तिपत्र लिनका लागि मात्र एक हप्ताअघि मन्त्री यादवकोमा पुगेका थिए ।  साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...