मन्त्री भ्रमणमा अढाई करोड स्वाहा, ७८ करोड कर तिर्न पत्र आएपछि बेहोस



 

प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झकझक्याइरहेका छन् । तर, १० महिने कार्यकालमा मन्त्रीहरूले जिल्ला भ्रमणमा गरको खर्च केलाउँदा कसैले पनि निर्देशन पालना गरेको देखिन्न ।

यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो । मन्त्रीहरूले जिल्ला भ्रमण र अनुगमनमा जाँदा सम्बन्धित मन्त्रालय र मातहत कार्यालयबाट समेत रकम र इन्धन लिने गरका छन् । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई तलब, भत्ता र इन्धन उपलब्ध गराए पनि दोहोरो सुविधा लिइरहेका हुन् ।

‘खर्च कटौती गर्न प्रधानमन्त्रीज्यूले मितव्ययी बन्न भने पनि मन्त्रीहरूको पारा पहिलाको जस्तै छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘अघिल्लो सरकारका मन्त्रीले भन्दा अचाक्ली खर्च गरी बिल पेस गर्ने प्रवृत्ति बढेको छ, प्रधानमन्त्रीको शून्य सहनशीलता र सरकारलाई मितव्ययी बनाउने मक्सद पूरा भइरहेको छैन ।’ खर्च घटाउने प्रधानमन्त्रीको निर्देशनअनुसार कर्मचारीले पाउँदै आएका विभिन्न शीर्षकका भत्ता भने कटौती गरिएका छन् ।, कान्तिपुरमा खबर छ ।

 

काठमाडौँ–टोकियो सिधा हवाई सेवा सञ्चालनका निम्ति मार्ग प्रशस्त
करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।

 

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र  साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ । नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् ।

 

बैठकपछि पत्रकारहरूलाई संयुक्तरुपमा सम्बोधन गर्दै दुवै देशका परराष्ट्रमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासका मेरुदण्ड मानिएका भौतिक पूर्वाधार निर्माणमा जापानी सहायताको निरन्तरता, प्राथमिकताका क्षेत्रमा जापानी लगानी तथा आगामी चैतको अन्त्यमा आयोजना हुने लगानी सम्मेलनमा जापानी लगानीकर्ता र उद्यमीको सक्रिय सहभागितालगायत विषयमा विचारविमर्श भएको जानकारी दिए ।

 

डा केसीले शुरुआत गरे १६औं सत्याग्रह 
चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुवात गरेका छन् । गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरु गरेका हुन् ।

डा केसीले पत्रकार सम्मेलन गरी बुधबार साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित  पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी गराए ।

 

डा केसीका ६ बुँदे मागमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्रिपरिद्षको निर्णयबमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने लगायतका छन् ।

 

७८ करोड कर तिर्न पत्र आएपछि बेहोस
राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छोडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला उनका दाइ घर पुगेका थिए ।

 

उनले सो पत्र काठमाडौँ ल्याएर भाइलाई दिए । पत्र खोलेर पढेका मात्र के थिए, लीलाप्रसाद बेहोस भए । आफन्तले उनलाई हतारहतार अस्पताल पु¥याए । किनभने त्यो सामान्य पत्र थिएन । पत्रमा लेखिएको थियो, ‘तपाईको नाममा रहेको सुन्द्रादेवी टेलिटक प्रालि (स्थायी लेखा नम्बर ६०२४१८४२१) ले कर दाखिला नगरेको हुँदा यस कार्यालयमा उपस्थित हुनुहोला ।’

 

कम्पनीको नाममा ७८ करोग रुपैयाँ कर दायित्व थियो । कहिल्यै व्यापार नगरेका लीलाप्रसादलाई ७८ करोड तिर्नुपर्ने पत्र आएपछि बेहोस भएका थिए । लीलाप्रसाद स्याटेलाइट कम्पनी गएर बुझ्दा विजयनारायण श्रेष्ठ नामका व्यक्तिले कारोबार गरेको खुल्यो ।, नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा १ करोड ३४ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा सहसचिव श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

श्रेष्ठले यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक हुँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ । श्रेष्ठले २०३८ माघमा सार्वजनिक पद धारण गरेयता २ करोड १० लाख ७७ हजार रुपैयाँ आयआर्जन गरेका थिए । आफ्नो र परिवारका सदस्यहरूको नाममा बिभिन्न शिर्षकमा ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको अख्तियारको दाबी छ ।

 

स्रोत नखुलेको बाँकी १ करोड ३४ लाख विगो कायम गरी जरिवाना र कैद सजाय गर्न माग दाबी गरिएको अख्तियारले जनाएको छ । आयोगले स्रोत नखुलेको सम्पत्ति श्रेष्ठको श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत पाइएकाले उनीहरुविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

 

निर्मलाकी आमाको रगत नमूना सङ्कलन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवीको रगत नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाव’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा बुधबार रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी हुन् ।

 

प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना रगत सङ्कलन गरेको जनाएको छ । निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत नमूना सङ्कलन गर्न मानेका छैनन् । दुर्गादेवीले श्रीमान् यज्ञराजले रगत दिन अस्वीकार गरेको जानकारी दिइन् ।

 

माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गरेका छन् । नेपाल मगर सङ्घद्वारा आयोजित पाँचदिने मकर संक्रान्ति मेलालाई बुधबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले अधिकारका नाउँमा आन्दोलन गर्न जरुरी नभएको बताए ।

 

यसैगरी गण्डकी प्रदेश र कर्णाली प्रदेशमा माघे सक्रान्तिमा सार्वजनिक विदा दिईने भएको छ । बुधबार बसेको गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले माघे सक्रान्तिमा विदा दिने निर्णय गरेको हो ।

 

एक करोड पचास लाख ठगी गर्ने पक्राउ 
महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो ।

 

महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए ।

 

दादुरा खोप लगाउँदा बालकको मृत्यु
बुधबार बिहान दादुरा खोप लगाइएका कैलालीको जानकी गाउँपालिका–४ कञ्चनपुरका १५ महिने बालकको मृत्यु भएको छ । बिहान १० बजे खोप लगाइएका १५ महिने बालक चरण चौधरी १५ मिनेटपछि बेहोस भएका र टीकापुर अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

 

“बच्चालाई कुनै समस्या थिएन ।  बिहान १० बजे शिविरमा राम्रै अवस्थामा खोप लगायौँ । खोप लगाएको १५ मिनेटमै बच्चा बेहोस भयो । टीकापुर अस्पताल ल्याउँदा ल्याउँदै बच्चाको मृत्यु भइहाल्यो”, मृतक बालकका बुबा वासुदेव चौधरीले भने, “स्वस्थ बच्चा खोप लगाएको केही क्षणमै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरवाही भएकाले यसको अनुसन्धान गरी संलग्न स्वास्थ्यकर्मीलाई कारवाही गर्नुपर्दछ ।”

 

महिला टी–ट्वान्टीका लागि नेपाली टोलीको घोषणा
थाईल्यान्डमा हुने महिला टी ट्वेन्टी स्म्यासका लागि १४ सदस्यिय नेपाली महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । प्रतियोगिता आगामी शनिवार देखि थाईल्यान्डमा सुरु हुनेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसिसीको संयोजनमा रुविना क्षेत्री बेलबासीको कप्तानीमा १४ सदस्यिय टोली छनोट गरिएको हो ।

 

टोलीमा उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ठ, मम्ता कुमारी चौधरी र बिन्दु रावल परेका छन् । रितु कुमारी कनौजिया, सुमन विष्ट र सवनम राईलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ । जनवरी १२ देखी १८ सम्म हुने प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोली पर्सी शुक्रवार थाईल्यान्ड जानेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने

रवि लामिछानेको बयान सकियो

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान

रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने

    रवि लामिछानेको पक्षमा २० जना वकिलले बहस गर्ने भएका छन । 

माओवादीका केन्द्रीय सल्लाहकार शर्मा एमालेमा प्रवेश

    विराटनगरका पुराना वाम बुद्धिजीवी तथा प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा माओवादी