निर्मला हत्याकाण्ड : आमा रगत दिन तयार हुँदा बुवा भएनन्, मास डीएनए आह्वान गरिने



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या भएको साढे ५ महिना बितिसक्दा पनि निर्मला पन्तका हत्याराको पहिचान हुन सकेको छैन । अनुसन्धान थप पेचिलो बन्दै गएको छ ।

 

पर्याप्त प्रमाणको आधारमा अनुसन्धान जटिल बन्दै गएको प्रहरी अधिकारी बताउँछन् । तर यति लामो समयसम्म पनि हत्यारातर्फ सोझिने बाटो प्रहरीले किन फेला पार्न सकेन ? अब निर्मला हत्याकाण्डको अनुसन्धानको विधि के हुनसक्ला त ? प्रहरीले विभिन्न समयमा पक्राउ गरेकाहरुको डीएनए म्याच नगरेपछि उनीहरु छुटिसकेका छन् ।

 

छोरीका हत्यारा सार्वजनिक गर्न माग राख्दै निर्मलाका बाबु यज्ञराज पन्त, उनका दुवै श्रीमती (दुर्गा र लक्ष्मी) पनि २५ कात्तिकदेखि नियमित आन्दोलनमै छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेटअघि टेन्टमा धर्नामा छन् ।

 

पछिल्लो समय आन्दोलन र प्रदर्शन भने मत्थर छ । गत साउन १० गते साथीको घरमा गएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । निर्मलाको शरीरबाट चिकित्सकहरुले ‘भेजिनल स्वाब’ संकलन गरेका थिए ।

 

यसअघि निर्मलाका आफन्तले नै निर्मलाको डीएनए र आमाबावुको डीएनए परीक्षण गर्नुपर्ने बताउँदै आएका थिए । उनीहरुले निर्मलाको डीएनएसँग आमाबावुको रगत म्याच गर्नुपर्ने माग राख्दै आएका थिए ।

 

दुई साताअघि स्थानीयले कञ्चनपुरमै आईजीपी सर्वेन्द्र खनालसँग निर्मलाको स्वाबमै शंका भएकाले आमा–बाबुको रगतको नमुना लिएर म्याच गर्नुपर्ने माग राखेका थिए । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने, ‘‘आन्दोलनरत संघर्ष समितिबाटै त्यस्तो माग आएपछि हामीले निवेदन दिनुस्, हामी नमुना संकलन गरेर प्रहरी प्रयोगशाला र नाष्टमा पठाउँछौं भनेका थियौं ।

आमा रगत दिन तयार भइन् तर बुवा आएनन् । पति यज्ञराजले रगत नदिएपछि म पनि दिन्न भन्दै दुर्गादेवीले दिनुभएन ।’’ यज्ञराजले अधिकारकर्मीसँग छलफल गरेर मात्रै रगत दिने–नदिने बताएको प्रहरीले जनाएको छ ।

यज्ञराजले  भने, ‘‘प्रहरीले हालसम्म डीएनए परीक्षण गरेका व्यक्तिहरुको विवरण मलाई उपलब्ध गराउनुपर्यो । त्यसपछि मेरो रगत लिनका लागि प्रहरीले पत्र पठाउनुपर्यो । त्यो अवस्थामा म रगत दिन तयार छु । नत्र दिन्न ।’’

 

मास डीएनए आह्वान गरिने
कञ्चनपुर प्रहरीका एसपी कडायतका अनुसार बलात्कारपछि हत्याको घटनामा डीएनए परीक्षण गरिएको यो पहिलो घटना हो । यसअघि सन्तान र आमाबुवाको प्रमाणिकरणका लागि डीएनए परीक्षण गरिएको भएपनि बलात्कारको मुद्दामा भने यो पहिलो घटना हो । निर्मला हत्याकाण्डमा हालसम्म २० जनाभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । तर कसैको डीएनए म्याच भएको छैन ।

 

विज्ञहरुले भने स्वतन्त्र समूह गठन गरेर डीएनएको समग्र प्रक्रियाकै अध्ययन गर्नुपर्ने तर्क गर्दैै आएका छन् । हालसम्म प्रहरीले आशंका लागेकाहरुको मात्रै डीएनए परीक्षण गरेको हो । कञ्चनपुर प्रहरीका एसपी कडायत भन्छन्, ‘‘अब आवश्यक पर्यो भने मास डीएनए परीक्षण पनि आह्वान गर्न सकिन्छ ।

 

यसमा पनि छलफल गर्न सकिन्छ । तर अहिल्यै भने केही कुरा भएको छैन । मास डीएनए पनि एउटा विकल्प हुनसक्छ ।’’ मास डीएनए भनेको आम व्यक्तिलाई डीएनए परीक्षणका लागि आह्वान गर्नु हो । यसमा आफूखुशी सहभागी हुने कुरा हो । नेपालमा मास डीएनए भएमा यो पहिलो घटना हुनेछ ।

 

त्यसो त विश्वमै मास डीएनए निकै कम भएको छ । प्रहरीका अनुसार कतिपय घटनामा मास डीएनए परीक्षणबाट अपराधी पत्तासमेत लागेका छन् । पछिल्लो समय सन् २०१४ मा फ्रान्समा एउटा स्कुलको ट्वाइलेटमा १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४७५ स्कुले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डीएनए नमुना संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...