‘छायाँ मन्त्री’ छान्न आवेदन संकलन गर्दै कांग्रेस, गगनलाई गृह मन्त्रालय दिने तयारी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छायाँ सरकार निर्माणको गृहकार्यमा लागेको छ । कांग्रेस संसदीय दलले पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा छायाँ सरकार गठन गर्ने निर्णय गरेसँगै राजनीतिक वृत्तमा यसको चर्चा हुन थालेको छ ।
संसदमा निकै कमजोर उपस्थिति रहेको कांग्रेस नेतृत्वको छायाँ सरकार कस्तो होला ? भन्दै सामाजिक सञ्जालमा व्यंग्य मिश्रित प्रतिक्रिया र प्रश्नहरू आइरहेका छन् । तर ‘वेस्टमिनिस्टर प्रणाली’मा छायाँ सरकारको अभ्यास नौलो नभएको कांग्रेसका संसद सञ्जयकुमार गौतम बताउँछन् ।
‘विपक्षीको भूमिका सशक्त बनाउनका लागि प्रतिपक्षीले छायाँ सरकार गठन गर्ने गरेका उदाहरणहरू प्रशस्त छन्,’ गौतम भन्छन्, ‘बेलायत लगायत अन्य कैयौं देशमा प्रमुख प्रतिपक्षी दलले छायाँ सरकार बनाएर सरकारका कामकारवाहीहरू नियमन गरिरहेका हुन्छन् ।’ सांसद सञ्जयकुमार गौतमले गत संसदीय निर्वाचनमा बर्दिया १ बाट नेकपाका नेता बामदेव गौतमलाई हराएका थिए ।
संसदीय दलका नेता एवं पार्टी सभापति देउवाको नेतृत्वमा छायाँ सरकार गठन गर्ने यसअघि नै गरेको निर्णयलाई कार्यान्वयन गर्न लागिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा दुईतिहाइ अंकगणित बोकेको सरकार गठन भएको १० महिनासम्म कांग्रेसको प्रतिपक्षी भूमिका राम्रोसँग नखेलेको भन्दै आलोचना भइरहेको छ ।
‘बोल्नुपर्ने प्रतिपक्षी दल बोल्दैन, खुरुखुरु काम गर्नुपर्ने सरकार बोलेको बोल्यै गर्छ,’ भन्दै कांग्रेस नेता गगन थापाले पटक-पटक दोहोर्याउँदै आएका छन् । ‘प्रमुख प्रतिपक्षी दल ‘वेटिङ गभर्मेन्ट’ हो,’ गौतम लोकान्तरसँग भन्छन्, ‘हामीले सरकारको समग्र क्रियाकलापलाई निगरानी गर्नुभन्दा पनि मन्त्रालयगत कामकारवाहीलाई हेर्ने गर्नुपर्छ । तबमात्र प्रमुख प्रतिपक्षीको भूमिका बलियो हुनेछ ।’
संसद गौतमका अनुसार शुक्ष्म रूपमा सरकारको गतिविधि नियाल्नका लागि छायाँ सरकार प्रभावकारी माध्यम हो । ‘फरक-फरक मन्त्रालयले गरेका कामकारवाहीहरू समग्र मूल्यांकन गरेर मात्र हुँदैन ।
कुनै मन्त्रीले राम्रो गरेका हुन्छन्, कुनै मन्त्रीले भ्रष्ट्राचार गरेका हुन्छन्,’ गौतम भन्छन्, ‘हामीले छायाँ मन्त्रालय गठन गरेर सम्बन्धित मन्त्रालयका कामहरू अध्ययन गर्छौं र त्यसका आधारमा सरकारलाई दबाब दिने काम गर्छौं ।’ उनका अनुसार छायाँ सरकारमा छायाँ मन्त्रीको रूपमा सहभागी हुने नेताहरूका लागि आन्तरिक रूपमा आवेदन लिने क्रम शुरू भएको छ ।
गत मंसिर २८ गतेदेखि चलेको कांग्रेस महासमिति बैठकमा पनि प्रतिपक्षीको भूमिका कमजोर रहेको र सरकार गतिहीन तथा मतिहीन बन्दै गइरहेको विषयमा चर्को बहस चलेको थियो । प्रतिपक्षी रचनात्मक हुनुभन्दा बढी रक्षात्मक भएको आवाज उठ्न थालेपछि कांग्रेस शीर्ष नेताहरूले महासमिति बैठकपछि आफ्नो भूमिका बलियो हुने दाबी गरे ।
२२ गते आइतबार संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधनपछि प्रश्न गर्न पाउनुपर्ने भन्दै कांग्रेस संसदहरूले हंगामा गरेका थिए । ओली नेतृत्वको सरकारको १० महिने अवधिमा कांग्रेसले प्रमुख प्रतिपक्षीको रूपमा संसदमा ‘विद्रोह’ गरेको पहिलो अवसर थियो त्यो ।
त्यसलाई कतिपय राजनीतिज्ञहरूले कांग्रेसले प्रतिपक्षमा रहेर सरकारको खबरदारी गर्ने सशक्त प्रयास गरेको भन्दै प्रशंसा गरे । तर बुधवारको बैठकमा कांग्रेस चुपचाप जस्तै रह्यो । यद्यपि संसद्मा होहल्ला गर्नुमात्र प्रतिपक्षको काम भने होइन । राम्रा काममा समर्थन र गलत काममा खबरदारी गर्ने जिम्मेवारी प्रतिपक्षको हो ।


