नेपाल आयल निगमलाई १५ दिनमा एक अर्ब ३३ करोड नाफा



हाम्रो इकोनोमि

 

उपभोक्तालाई महँगीको भार थपेर नेपाल आयल निगमले १५ दिनमै करिब डेढ अर्ब रुपैयाँ नाफा गर्ने योजना बनाएको छ। निगमले जनवरी १ देखि १६ सम्म पेट्रोलियम पदार्थको कारोबारमा एक अर्ब ३३ करोड नाफा गर्ने योजना तयार पारेको हो। पछिल्लो दुई महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लाग्दै गएको छ।

 

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले अन्तर्राष्ट्रिय मूल्यका आधारमा निगमलाई प्रत्येक १५ दिनमा मूल्यसूची पठाउने गर्छ। सोही सूचीका आधारमा निगमले आफूलाई अत्यधिक नाफा हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ।

 

यसले गर्दा उपभोक्तामा महँगीको भार थपिएको छ। पुस १८ गते गरिएको मूल्य समायोजनपछि प्रतिलिटर पेट्रोल एक सय आठ रुपैयाँ, डिजेल र मट्टीतेलको ९५, आन्तरिक हवाई इन्धनको एक सय चार रुपैयाँ ५० पैसा र बाह्यतर्फको १.१२५ डलर मूल्य कायम गरिएको छ।

 

समायोजनपछि निगमलाई प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ ७३ पैसा, डिजेलमा ११ रुपैयाँ ३१ पैसा, मट्टीतेलमा २७ रुपैयाँ ८२ पैसा, आन्तरिक हवाई इन्धनतर्फ २४ रुपैयाँ ६२ पैसा र बाह्य हवाई इन्धनतर्फ ५९ रुपैयाँ ८७ पैसा नाफा भएको छ। ग्यासतर्फ मूल्य समायोजन नभएकाले प्रतिसिलिन्डर ८० रुपैयाँ ६९ पैसा घाटा व्यहोरेको छ। उपभोक्तावादीले नाफाको आकार ठूलो राखेर निगमले उपभोक्तालाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोप लगाएका छन्।

 

चालु आर्थिक वर्षको साउनदेखि पुस १६ सम्म निगमले पेट्रोलियम पदार्थको कारोबारमा दुई अर्ब ३७ करोड रुपैयाँको घाटा व्यहोरेको छ। निगमले व्यहोरेको घाटा पूर्ति गर्न पनि नाफादर अत्यधिक राखेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार एक पटकमा कुल मूल्यको २ प्रतिशतमात्रै मूल्य घटाउन मिल्ने व्यवस्था भएकाले प्राप्त भएको मूल्यसूचीका आधारमा उपभोक्तालाई राहत हुने गरी बढी परिमाणमा मूल्य घटाउन नमिल्ने दाबी गरे।

 

‘पछिल्लो साउनदेखि पुस १६ सम्ममा अमेरिकी डलरको विनिमय दर वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भयो। यसले गर्दा निगम घाटा व्यहोर्न बाध्य भयो’, गोइतले भने, ‘बल्ल अहिले डलरको विनिमय दर घट्दै गयो र तेलको मूल्य पनि घट्दै गयो। घट्दै गएको मूल्यबाट नै निगमको घाटा पूर्ति गर्ने हो।’

 

गोइतका अनुसार स्वचालित मूल्य प्रणाली विपरीत बढी परिमाणमा मूल्य समायोजन गर्दा भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ मूल्य सस्तो पर्न जान्छ। पुस १८ गते गरिएको मूल्य समायोजनका कारण अहिले पेट्रोल प्रतिलिटर १० रुपैयाँ ४१ पैसा र डिजेल प्रतिलिटर १२ रुपैयाँ ३८ पैसा भारतभन्दा नेपालमा सस्तो छ।

 

इन्धन कारोबार गरेबापत निगमले आफ्नै लागि प्रशासनिक खर्च, डिपो सञ्चालन र कर्मचारीलाई तलब भत्ता दिन पेट्रोल, डिजेल, मट्टीतेल र दुई प्रकारका हवाई इन्धनमा प्रतिलिटरमा ६० पैसाका दरले शुल्क उठाउँदै आएको छ। यस्तै एलपीजी ग्यासतर्फ प्रतिसिलिन्डर आठ रुपैयाँ ५२ पैसा उठाउने गरेको छ। यसबाहेक भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, पूर्वाधार विकास कर, प्रदूषण कर, मूल्य स्थिरीकरण कोष, मूल्य अभिवृद्धि कर, नेपाल नागरिक उडड्यन प्राधिकरण शीर्षकमा शुल्क उठाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...