कांग्रेससँग मिलिजुली काम गर्ने सहमति भयो : प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर काम गर्न प्रमुख विपक्षी सहमत भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतका नेताहरुबीच सोमबार भएको छलफलमा राष्ट्रिय मुद्दामा मिलिजुली काम गर्ने सहमति भएको उनले बताए । चितवनको पुनर्निर्माणबारे मंगलबार भएको छलफलमा प्रचण्डले भने, ‘हिजो देउवासहित वरिष्ठ नेताहरुसँग छलफल भयो, राष्ट्रिय मुद्धामा सहमति गरेर जाने कुरा भएको छ ।’
उनले जिल्लामा पुनर्निर्माणको कामलाई तीव्रता दिइने बताए । ‘भूकम्पले क्षति गरेका १४ जिल्लालाई पहिला प्राथमिकतामा राखेर पुर्ननिर्माण गरियो त्यसले गति पनि लिएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘अब १७ औं जिल्लामा रहेको चितवनको पुर्ननिर्माणले पनि गति लिन्छ । प्राविधिक समस्याहरु सल्टाउँछौं ।’
रामबहादुर थापा र बर्षमान पुनले किन टेरेनन् नेकपाको शक्तिशाली कार्यदललाई
नेकपा दुई अध्यक्ष र शीर्ष नेताले पार्टी र सरकारलाई बन्धक बनाएको भन्ने आलोचनापछि स्थायी कमिटी बैठकले शक्तिशाली कार्यदल गठन गरेको थियो । तर कार्यदल केही मन्त्री सदस्यको पर्खाइमा आफै बन्धक बनेको छ । पुस मसान्तसम्म प्रदेश कमिटीको हेरफेर, जिल्ला कमिटीको एकीकरण, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड र जनवर्गीय संगठन सम्बन्धी ठोस प्रस्ताव ल्याउने गरी गठन गरिएको थियो । तर केही मन्त्रीले कार्यदलमा समय दिन नसकेका कारण कार्यदलले कुनै पनि प्रस्तावलाई ठोस निस्कर्षमा पुर्याउन सकेको छैन ।
१२ पुसमा गठन भएको नौ सदसीय कार्यदलको बैठक पाँच पटक बस्न खोज्यो । तर दूई पटक मात्र पूर्ण सदस्य सहभागी भएको बैठक बस्न सकेको छ । केही दिनअघि ललितपुरको एक होटलमा दिनभर बैठक बसेको थियो । बैठकमा प्रदेश सदस्यहरुको नामावली हेरफेरको प्रस्तावमा छलफल भएको थियो । तरपनि प्रस्तावले ठोस रुप लिन सकेन । दिनभर छलफल गर्दा पनि प्रदेश कमिटीको नामावली हेरफेर गर्नेमा सहमति जुट्न नसकेको कार्यदलका एक सदस्यले जानकारी दिएका छन् ।
दोस्रो दिन पनि बैठक बस्नेगरी होटलबाट नेताहरु बाहिरिए । तर कार्यदलमा रहेका मन्त्रीहरुले समय नदिएका कारण बैठक बस्न सकेन । वोलाइएका पाँच बैठक मध्ये मन्त्रीहरुकै ब्यस्तताका कारण तीन बैठक स्थगित भएका छन् । नौ सदस्यीय कार्यदलमा चार मन्त्रीरहेका छन् । कार्यदलका सदस्य रामबहादुर थापा गृहमन्त्री छन् भने बर्षमान पुन उर्जामन्त्री हुन् । त्यसैगरी रघुवीर महासेठ भौतिक तथा यातायातमन्त्री छन् भने शंकर पोखरेल ५ नम्वर प्रदेशका मुख्यमन्त्री हुन् ।
यी चार मन्त्रीका कारण नेकपा कार्यदलको बैठकले दुई सातामा बित्दा पनि ठोस निर्णय लिन सकेको छैन । प्रदेशको नामावली हेरफेरमै सहमति नभएपछि जिल्ला, र जनवर्गीय संगठनको एकीकरण प्रस्तावमा छलफल नै भएको छैन । तर केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडमा भने अनौपचारिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कार्यदललाई समयमै काम सक्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई साता अघि नै निर्देशन दिइसकेका छन् । कार्यदलले ठोस प्रस्ताव ल्याएपछि सचिवालय बैठकमा छलफल गरी स्थायी कमिटीबाट अन्तिम निर्णय लिने तयारी गरिएको छ । तर कार्यदलले पाएका चार मुख्य कार्यभार नै अलमलमा परेको छ ।