गोपाल खड्काको ७ करोड लुकाउने अमिता को हुन् ?



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले सात करोड भन्दा धेरै अरुको नाममा लुकाएको अख्तियारले फेला पारेको छ । भ्रष्टाचार मुद्दाबाट जोगिन उनले अमिता लामा सोदेम्बाको नाममा सात करोड ५४ लाख रुपैयाँ बराबरको सम्पति राखेका थिए ।

 

अमितलाई ‘धर्मछोरी’ जस्तै सानैदेखि पालेर राखेका थिए । आफैंले उनको बिहे गरिदिएका थिए । उनको नाममा खड्काले हात्तीगौँडास्थित सिजी हिल्स हाउजिङभित्र तीन करोड २५ लाखमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमै ४० लाखमा आठ आना जग्गा खरिद गरेका थिए ।

 

त्यस्तै, ८४ लाखमा बा.१६ च ८४८४ नम्बरको गाडी लामाको नाममा खरिद गरिदिएका थिए । लामाको नाममा एनएमबी र सिजिटन बैंकमा खोलेको खाता खड्काले नै चलाउने गरेकोसमेत अनुसन्धानमा खुलेको प्रवक्ता दंगालले बताए । लामालाई पनि अख्तियारले बोलाएर बयान लिएको थियो । एउटै घरमा बस्ने भएकाले विश्वास गरेर आफ्नो नाममा सम्पत्ति राखिदिएको उनले बताएकी छिन् ।

गोपाल खड्कासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अख्तियारको विज्ञप्ति पूर्णपाठ सहित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासहित चारजनामाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

 

खड्कासहित श्रीमती शर्मिला खड्का, अनिता लामा र सिजि डेभलर्पस फुड प्रा.लि.माथि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए ।

 

प्रवक्ता दंगालका अनुसार खड्कासहित चार जनाविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अभियोग छ । यो अभियोगसहित मुद्दा दर्ता गर्न अख्तियारको टोली सोमबार विशेष अदालत पुगेको हो ।

 

अख्तियारले खड्कासहित चारै जनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, विगो बमोजिम जरिवाना तथा विगो भाराउन माग गरेको छ । उनीहरुले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वभाविक जीवनयापन गरेको दावी अभियोगपत्रमा छ ।

 

यता खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशक रहँदा सातै प्रदेशमा इन्धन भण्डारणको लागि गरेको जग्गा खरिदमा अर्बौं बराबरको भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

 

यस्तो छ अख्तियारले मुद्दा दायर गरेको विज्ञप्तिको पूर्णपाठ

प्रेस बिज्ञप्ति : मिति २०७५।९।२३ गते
—————————————–
आरोप-पत्र दायर गरिएको
—————————

गोपालबहादुर खड्का विरुद्ध १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा रु.८९,८९,०००।- नगदै अदालत दाखिला ।

 

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्का सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा –

 

निजको आम्दानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा रु. ४०,५७,१५५।४७, जग्गा बिक्रीबाट जम्मा रु. ५८,७५,०००।-, ऋण सापटीबाट जम्मा रु. ५,३३,३६,०००।-, घर भाडाबाट रु. १३,५६,०००।-, नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु. २९,२२,६९८।२८, पेन्सनबाट रु. १४,७८,४८२।२४, विप्रेषण आयबाट प्राप्त रु. ८,२६,९१३।५४, गाडी बिक्रीबाट रु. ३५,००,०००।-,

 

निजको छोरा बुहारीको पारिश्रमिकबाट रु. ११,०४,००३।- गरी जम्मा रु.७,४४,५६,२५२।५३ का साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय रु.१,२०,१३,४९९।- समेत गरी रु.८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो ।

 

 

निजको खर्च तथा लगानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो ।

 

निजले घरजग्गा खरिदमा रु.११,६१,४३,२०६।३१, विभिन्न कम्पनीको शेयर खरिदमा रु.१,०६,०४,०००।-, ऋणको सावाँब्याज भुक्तानीमा रु. ४,२२,९६,२३९।९९, व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००।-, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु. १,१७,७५,०००।-

 

, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५,१४,६९५।-, गाडी खरिदमा रु. १,१७,४२,०००।-, विभिन्न बैंकका ATM बाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १,८०,१६,४४६।८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २,७१,५३,४२१।६४ समेत गरी जम्मा रु.२५,२८,०५,००९।७६ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु.२,०२,७०,३७१।-

 

समेत गरी जम्मा रु. २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय रु.८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु. १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा रु.१८,६६,०५,६२९।२३ गैरकानूनी रूपमा आर्जन गरी निज गोपालबहादुर खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु.१८,६६,०५,६२९।२३ (अठार करोड छयसठ्ठी लाख पाँच हजार छ सय उनान्तीस रुपैयाँ तेइस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग)

 

तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई आजै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

 

त्यसैगरी निजले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स. वडा नं. २ घर भई का.जि. बूढानीलकण्ठ न.पा. वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएकोछ ।

 

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।

 

३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी ।
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

 

दशी प्रमाणको रूपमा नगद दाखिला

जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ ‘ग’ मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको Good For Payment चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ ।

रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...